स्रोत: कान्तिपुर
-चित्रांग थापा
महेन्द्रनगर। विश्वमै दुर्लभ पन्छी “सारस” शनिबार शुक्लाफाँटा आरक्ष सिमसार क्षेत्रमा देखा परेको छ । आरक्षको विस्तारित क्षेत्रमा पर्ने बेलडाँडीको इमलिया सिमसार क्षेत्रमा सारस देखा परेको आरक्ष प्रशासनले जनाएको छ ।
प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार आरक्ष प्राविधिक कर्मचारी टोलीले एक बच्चासहित जोडी सारस शनिबार दिउँसो इमलिया क्षेत्रमा देखेका हुन् । ३/४ वर्षदेखि उक्त क्षेत्रमा सारसका जोडी दिउँसो आहारको खोजीमा नियमित रूपले आउने गरेको स्थानीयवासीले जनाएको रेग्मीले बताए ।
अंग्रेजीमा ‘सारस क्रेन’ र वैज्ञानिक नाम ‘ग्रस एन्टिगोन’ रहेको उक्त प्रजातिको सारसलाई विश्वमै दुर्लभ श्रेणीको पन्छी मानिने उनी बताउँछन् । यो प्रजातिको सारस ६ फिटसम्म अग्लो र साढे ३ किलो तौलको हुने गरेको छ । ‘पखेटा फैलाउँदा दुवै पखेटाको लम्बाइ ८ फिटसम्म पुग्छ,’ उनले भने ।
दिउँसो आहारको खोजीमा निस्कने सारस जोडी साँझ परेपछि आरक्षकै कालिकिच ताल क्षेत्रको बास स्थानमा र्फकने गरेको उनले बताए । ‘यो शुक्लाफाँटामा आवासीय रूपमा रहने रैथाने जोडी हो,’ उनले भने । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पनि हालैका वर्षमा यो प्रजातिको सारस देखा परेको हो । चितवनलगायत नेपाल, भारत र विश्वका केही भागमा यो देखा पर्ने गरेको छ ।
नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ ले उक्त प्रजातिको सारसलाई संरक्षित पन्छीको सूचीमा राखेको छ । यो प्रजातिको पन्छी दलदल (सिमसार) क्षेत्रमा बसोवास गर्ने रेग्मीले जानकारी दिए । सिमसार क्षेत्र मासिँदै गएर खेती गर्ने क्रम विश्वव्यापी रूपमा बढ्दै गएपछि यो पनि लोप हुने खतरा उत्पन्न भएको हो । त्यसैले सारस क्रेन प्रजातिलाई लोपोन्मुख र अति दुर्लभ पन्छीको श्रेणीमा राखिएको छ । आरक्षमा ३ सय ७५ प्रजातिका चराचुरुंगी रहेको प्रमुख संरक्षण अधिकृतले बताए ।
२०६७ साल आषाढ ९ गते बुधवार।
Leave a Reply