स्रोत: ई-कान्तिपुर
-घनश्याम खड्का
म्याग्दी। बाटोको किनारा, खेतबारी र जंगलभरी खेर गइरहेको च्वास्स पोल्ने झार (सिस्नु) बेचेर यस वर्ष यहाँका महिलाहरुले झोलीभरी लाखौं रुपैयाँ जम्मा पारेका छन् ।
जिल्लाको दाना, घार, घतानका महिलाहरुले सिस्नुको मुन्टा र फुलको धुलो बनाई ‘सिस्नु पाउडर’ विक्री गरेर यो वर्ष ५ लाख ५० हजार रुपैया आम्दानी गरेका हुन् । यहाँका महिलाले यस वर्ष १३ क्वीन्टल सिस्नुको धुलो उत्पादन गरि जिल्लाबाहिर पुर्याएर विक्रि गरी यो आम्दानी गरेका हुन् । सिस्नु बेचेर यस वर्ष दानाकी मैती तामाङ्गले ३० हजार र घतान नेप्टेचौरकी गंगा खत्रीले २५ हजार आम्दानी गरे । ‘यो वर्ष सिस्नुको धुलो बेचेर २५ हजार र टिमुर बेचेर ६० हजार आम्दानी गरें’ नेप्टेचौरकी अगुवा गंगा खत्रीले भनिन् ।
असोज देखि फागुनसम्म सिस्नु टिप्ने, धुलो बनाई विक्री गर्ने र प्रयोग गर्ने ‘पिक सिजन’ हो । सादा सुपको रुपमा तथा मास, सिमी लगाएतका दालमा मिलाएर प्रयोग गर्न सकिने सिस्नु पाउडर मधुमेहका विरामीले खोजी-खोजी प्रयोग गर्ने गरेका छन् । सिस्नुको सुपले शरिरमा गर्मी बनाउने भएकोले गर्मी मौषममा खानु उपयुक्त हुंदैन् ।
हिजो आज सिस्नु शहरीया सम्भान्त ब्यक्तिहरुले खोजीखोजी खान थालेका छन् । खासगरी डाईविटिजका विरामीले सिस्नु खोजी-खोजी खान थालेपछि माग बढ्दो छ । सिस्नु विदेश रहेका आफन्तलाई पठाउने कोसेली बनेको छ । सिस्नु पूर्ण आर्गनिक खाद्यवस्तु हो । खाद्य प्रविधी तथा गुण नियन्त्रण बिभागले गरेको नमुना विश्लेषणमा सिस्नुमा जलांश ९ दशमलव ८५ प्रतिशत, भष्म १६ दशमलव ७५ प्रतिशत, क्रुड फाइवर ७ दशमलव ९९ प्रतिशत, क्रड पmयाट १ दशमलव ८७ प्रतिशत, क्रुड प्रोटिन २४ दशमलव ५ प्रतिशत र आइरन प्रतिमिलीग्राम २३ दशमलव २० प्रतिशत रहेको छ ।
लघु उद्यम विकास कार्यक्रम अन्र्तगत संगम नामक संस्थाले स्थानिय श्रोतमा आधारित उद्यम स्थापना गर्न सहयोग गरेपछि जिल्लाको दाना, घार, घतान, कुईने र देविस्थान गाविसका महिलाहरुले सिस्नु पाउडरको ब्यवसायीक उत्पादन शुरु गरेका हुन् । सिस्नु पाउडरलाई गुणस्तरिय बनाउन महिलाहरुले सोलार ड्रायरको प्रयोग गर्ने गरेका छन् ।
‘सिस्नु पाउडर ब्यवासय ग्रामिण महिलाहरुकोलागी राम्रो आम्दानीको श्रोत हो, त्यसैले उनीहरुलाई तालिम, ड्रायर मेसिन र ग्राईन्डर मेशिन सहयोग गर्ने गरेका छौं, आगामी बर्ष ११ थान सोलार ड्रायर वितरण गर्ने योजना छ’ जिल्ला लघुउद्यम प्रवन्धक शंकर सुवेदीले बताए । यहाँ उत्पादन भएको सिस्नुको धुलो बेनी, बाग्लुङ्ग, पोखरा सम्म पुग्ने गरेको छ । पर्यटकिय होटलका मिन्युमा समेत ‘सिस्नु सुप’को रुपमा लोकपि्रय हुंदै गरेको छ । सिस्नुको पाउडरलाई घरमै प्रति केजी तीन सय र बेनीमा पुर्यापछि ५ सय प्रतिकेजीमा विक्री भैरहेको छ ।
सिस्नुको कलिला मुन्टा र फुललाई टिपेपछि केलाएपछि सितल घाममा सुकाएपछि मिचेर धुलो पारिन्छ । यसरी सामान्य धुलो सिस्नुमा आवश्यकता अनुसार टिमुर मिसाएर घट्ट वा ग्राइन्डर मेशिनमा पिंधेपछिी पाउडर तयार पारिन्छ ।
त्यसैगरी उच्च हिमाली वस्ती नागी र कुईनेका महिलाले ढोकाय (एक प्रकारको जंगली बाँको) बेचेर ७५ हजार आम्दानी गरेका छन् । लाग्दो जेठदेखी असार १५ सम्म करिव दुई हजार मीटरभन्दा माथीको जंगलमा ढोकाय टिप्न सकिन्छ । ढोकायालाई गुन्द्रुक बनाई प्रयोग गर्नु पछ । ढोकायाको काँचो प्रयोग गर्दा जिव्रो सुन्निने हुन्छ ।
२०६७ साल आषाढ ८ गते मंगलवार।
Leave a Reply