स्रोत: नयाँ पत्रिका (सम्पादकीय)
मेघालय र आसामको सीमाबाट नेपालीहरूको सामूहिक विस्थापन अझै जारी छ । त्यहाँ नेपाली जिउँदै जलाइएका छन्, पिटिएका र लखेटिएका छन् । तर, नेपाल सरकारले तिनको सुरक्षाका लागि औपचारिक वक्तव्यको औपचारिकताबाहेक क्रियात्मक र परिणाममुखी दबाब दिन सकेको छैन । दिल्लीको नजिक भनिएको सरकारले त्यो सम्पर्क र समर्थनलाई आसामका नेपालीको जीवनहरण र विस्थापन रोक्न प्रयोग गर्न सके थोरै भए पनि ‘पाप’ काटिने थियो ।
जिम्बाबेका गोराहरूका लागि युरोपले रोबर्ट मुगाबेमाथि प्रतिबन्ध लगाउँछ । फिजीका भारतीयका लागि भारतीय विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय मञ्चमा आक्रोशको घन्टी बजाउँछ । बेलायतको एउटा अपहरित नागरिक अन्तर्राष्ट्रिय समाचार बन्छ । पाकिस्तानको बलुचिस्तानमा कुटिएको एउटा अमेरिकी संसारभरि ँब्रेकिङ न्युज’ हुन्छ । तर, नेपालीका दुःखले संसार त के नेपालकै सरकारको पनि संवेदनालाई जगाउन सक्दैनन् । हतियारधारी सुरक्षाकर्मीको लावालस्करसहित अवैध ढंगले नेपाल छिर्ने उत्तरप्रदेशकी मन्त्रीलाई नियन्त्रणमा लिने नेपाली सुरक्षाकर्मीलाई पुरस्कृत गर्नुको साटो निलम्बन गरेर दिल्लीलाई खुसी पार्ने नेपालको सरकारले मेघालयका नेपालीका लागि दिल्लीलाई दबाब दिने हैसियत कसरी राख्छ ?
त्यसो त संसारभरि नेपालीका आँसु र रगत पोखिने क्रम पुरानै हो । पहिलो र दोस्रो विश्वयुद्धमा लगभग पाँचै महादेशमा नेपालीको रगत पोखियो । ती दुवै युद्ध नेपाली भूमिमा लडिएका थिएनन् र नेपालका लागि पनि लडिएका थिएनन् । कौडीको भाउमा पोखिएको त्यो रगतको जे-जति मूल्य प्राप्त भयो, त्यो पनि राणाहरूको ढुकुटीमा पुग्यो । अहिले पनि इराकको तिक्रित र अफगानिस्तानको कान्दाहारमा या बेलायती फौजका तर्फबाट या अवैधानिक तवरले त्यहाँ पुगेका भाडाका सिपाहीका रूपमा नेपालीको रगत पोखिएकै छ । इराकमा अन्सार-उल-सुन्नाबाट रेटिएर मारिएका दर्जन नेपालीको चित्कार निरर्थक हुन्छ । अफगानिस्तानमा तालिबानले मारेका नेपालीको मृत्युले कतैको सन्नाटा चिर्दैन । साउदी अरब वा कुवेतमा लुटिएका नेपाली चेलीको चित्कारले सिंहदरबारको आत्मा जगाउँदैन । मेघालयमा जिउँदै जलाइएका नेपालीका करुण पुकारले बालुवाटारलाई ब्यँुझाउँदैन । भुटानबाट जातीय सफाया अभियानका रूपमा लखेटिएका लाखौँ नेपालीको विस्थापनले नेपाललाई छुँदैन । के नेपाल मृत देश र संवेदनाका दृष्टिले नेपाली मृत जाति हो ?
आखिर नेपाली जहाँ पनि किन निसाना हुन्छ ? किनकि त्यसका लागि बोलिदिने सरकार छैन । त्यो सरकारलाई टेवा दिने अर्थतन्त्र छैन । नेपालका सरकारहरू केवल आफ्नै लागि बोल्छन्, रुन्छन् वा बाह्य प्रार्थनामा मग्न हुन्छन् । काला पहाडमा अलकत्रासँग जीवन ओछ्याइरहेका नेपाली जीविकाका लागि त्यहाँ पुगेका हुन् । ती अनाम नागरिकका लागि सोच्न सिंहदरबारसँग समय छैन । आसाम र मेघालयका जंगलमा भैँसी पाल्ने नेपाली जीवनलाई अलि सजिलो बनाउन त्यहाँ पुगेका हुन् । बालुवाटारको सत्ताको गणितमा तिनको कुनै मूल्य छैन । मुलुकभित्रै जीविकाका राम्रा अवसर भएको भए नेपाली चेली साउदी वा कुवेतमा लुटिन जाने थिएनन् । युवाहरू युद्धग्रस्त इराकमा अन्सार-उल-सुन्नाबाट रेटिन जाने थिएनन् । दुर्गम पहाडका नेपाली आसाममा खासीहरूबाट जलाइन जाने थिएनन् । जबसम्म नेपाल शान्ति र परिवर्तनको प्रक्रियाबाट गुजि्रएर आर्थिक क्रान्तितिर उन्मुख हुँदैन र मुलुकमा आत्मनिर्भर एवं स्वाभिमानी सरकार गठन हुँदैन तबसम्म संसारका विभिन्न कुनामा नेपालीको रगत पोखिने क्रम जारी रहनेछ ।
२०६७ साल जेठ १९ गते बुधवार।
Leave a Reply