स्रोत: नयाँ पत्रिका (सम्पादकीय)
व्यवस्था गणतन्त्र, सोच सामन्ती, जनता गणतन्त्र, नेता एकतन्त्री, प्रणाली गणतन्त्र, व्यवहार हुकुमी, अनि नारा गणतन्त्र, प्रक्रिया निरंकुश रहेसम्म गणतन्त्र संस्थागत हुन सक्दैन ।
देश गणतन्त्र भएको भोलि जेठ १५ गते ठीक दुई वर्ष पुग्दै छ । तर, यस अवधिमा देशले गणतन्त्रलाई आफ्ना अवयवमा कति प्रसार गर्न सक्यो, यो भने अत्यन्तै कठिन प्रश्न बनेर खडा भएको छ । विभिन्न समयमा भएका जनसंघर्षका बलिदानी शृंखलाको संयुक्त स्वरूप ०६२/६३ को जनआन्दोलनले राजतन्त्र फालेर गणतन्त्र त स्थापना गर्यो, तर त्यसको प्रत्याभूति जनताले आजसम्म गर्न पाएका छैनन् । व्यक्ति फेरिए पनि प्रवृत्ति फेरिन सकेको छैन । एउटा राजा फालिए पनि नयाँनयाँ थुप्रै राजा सतहमा आएका छन् । सामन्ती सोच, संस्कार र व्यवहारसमेत कुनै न कुनै रूपमा देखिइरहेका छन् । यो गणतन्त्र कार्यान्वयनको असफलताको परिणाम हो । गणतन्त्रनिम्ति तिर्खाएका जनतासम्म गणतन्त्र पुग्न नसक्नुको प्रतिफल हो । अनि, गणतन्त्रले वास्तविक स्वभाव र स्वरूपमा संस्थागत हुन नपाएको अवस्थाको परिणति पनि हो । गणतन्त्र दिवस मनाउनुअघि सबैले टाउकामा हात राखेर सोच्नु जरुरी छ, आफैँलाई समीक्षा गर्नु जरुरी छ र पहिले आफूलाई गणतन्त्र बनाएर संस्थागत गणतन्त्रको अभ्यास आरम्भ गर्नु जरुरी छ । तब मात्र गणतन्त्र संस्थागत बन्न सक्छ, यसको भविष्य सुनिश्चित हुन सक्छ ।
१९ दिने विश्वचर्चित अपि्रल क्रान्तिले दुई सय ३८ वर्षे निरंकुशताको बिरासत सामन्ती राजतन्त्रको जरोकिलो उखेल्यो र बदलामा जनताको संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो । ऐतिहासिक संविधानसभा निर्वाचनपछि १५ जेठ ०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले देश गणतन्त्र भएको घोषणा गदैर्ैै यसलाई कार्यान्वयनमा ल्यायो । तर, त्यसयताको सिंगो देशले गणतन्त्र कार्यान्वयनका चुनौतीलाई राम्ररी छाम्न सकेन । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै स्वरूपमा देशले गणतन्त्रलाई आमजनतामाझ प्रत्याभूत गराउन सकेन । संविधानसभामार्फत नयाँ संविधान बनाई गणतन्त्र संस्थागत गर्ने कार्यका सामु उभिएका चुनौती झेल्दै नेपाल तेस्रो गणतन्त्र दिवससम्म आइपुगेको छ । यसबीचमा तिर्खाएका नेपालीले गणतन्त्र कति पाए, कति पाएनन्, त्यसको लेखाजोखा हुन नसक्नु गणतन्त्र पक्षधर सबैको कमजोरी हो । त्यसको नेतृत्व लिएको हैसियतमा सबैभन्दा ठूलो दोषभागी हाम्रा राजनीतिक दल र राजनेताले लिनैपर्छ ।
लोकतान्त्रिक गणतन्त्र संसारमै सबैभन्दा बढी मन पराइएको शासन व्यवस्था हो । तर, यो केवल राजनीतिक व्यवस्था होइन, आदर्श मात्र पनि होइन । यो त राजनीतिक सभ्यता र व्यवहार पनि हो । गणतन्त्र या लोकतन्त्र शब्द जे भए पनि परिभाषामा यो जनताको उन्नति र सहजताको आभास गराउने भाव हो । यो साधन होइन, साध्य हो । साधन त हाम्रो प्रणाली हो, व्यवहार हो, प्रवृत्ति हो, सोच र शैली हो । जबसम्म हरेक नेपालीले आफूमा गणतन्त्र महसुस गर्न पाउँदैनन्, यसको कुनै औचित्य रहन्न । शासनमा, प्रणालीमा, व्यवहारमा, दैनिकीमा जताततै गणतन्त्रको आभास गराउन गणतन्त्र नेपालका यी दुई वर्ष कति सफल भए, कति विफल भए ? किन विफल रहे ? कसका कारण देश गणतन्त्र भएर पनि जनतामा गणतन्त्र हुन सकेन, अब यसको खोजबिन हुनैपर्छ । नत्र अहिलेसम्मका त्रुटि र कमजोरीले गणतन्त्रलाई नै खाइदिन सक्छ, जसरी हिजो राजतन्त्रका त्रुटिले यसलाई निलिदियो । गणतन्त्रलाई हरेक नेपालीमा अनुभूत गराउन राजनीतिक व्यवहारमै गणतान्त्रिक सचेतना जरुरी छ । अनि, यसलाई संस्थागत गर्न राजनीतिक सोच र चिन्तनमा पूर्णतः गणतन्त्र आउनुपर्छ । नेता नै गणतन्त्र नभई शासन गणतान्त्रिक बन्न सक्दैन । व्यवस्था गणतन्त्र, सोच राजतन्त्र, प्रणाली गणतन्त्र, व्यवहार सामन्ती, अनि नारा गणतन्त्र, प्रक्रिया निरंकुश भएसम्म गणतन्त्र संस्थागत हुन सक्दैन । संविधानसभामा रहेका राजनीतिक दलले पहिले आफूलाई गणतान्त्रिक बनाउनुपर्छ अनि मात्र गणतन्त्र संस्थागत गर्ने बाटोका तगाराहरू आफैँ पन्छनेछन् । जनतामा गणतन्त्रको अतृप्तता व्याप्त छ । असन्तोष र अतृप्तताले विस्फोटको रूप लिनुअघि नै सबैले गणतन्त्र नेपालका गणतन्त्र नेपाली बन्ने बाटो अँगाल्नुको विकल्प छैन ।
२०६७ साल जेठ १४ गते शुक्रवार।
Leave a Reply