स्रोत: नयाँ पत्रिका
-प्रा.डा. बद्री विशाल भट्टराई
लेख्य नेपाली भाषालाई सरल र वैज्ञानिक ढङ्गले व्यवस्थित गर्न वर्ण विन्यासका क्षेत्रमा विगतदेखि वर्तमानसम्म धेरै पटक सुधारका प्रयासहरू भएका छन् । भरखरै नेपाली वर्ण विन्यासमा सुधार गरिएको छ । सुधारका नयाँ स्थापनाबारे यहाँ सामान्य चर्चा गरिएको छ ।
नेपाली वर्ण विन्यासका नयाँ स्थापना
नेपाली वर्ण विन्यास सम्बन्धी नयाँ स्थापनाहरू दुई वर्गमा विभाजित छन् :
क. तत्सम शब्दको वर्ण विन्यास
ख. तद्भव र आगन्तुक शब्दको वर्ण विन्यास
तत्सम शब्दको वर्ण विन्यासबारे
नेपाली भाषामा प्रयोग हुने संस्कृत तत्सम शब्द संस्कृतकै नियम अनुसार लेखिन्छन् । त्यसैले तिनको बारेमा चर्चा आवश्यक छैन । शब्दकोश नै शब्दस्रोत र सूचनाको वर्ण विन्यास सम्बन्धी आधिकारिक ग्रन्थ हो ।
तद्भव र आगन्तुक शब्दको वर्ण विन्यासबारे
संस्कृत, प्राकृत हुँदै नेपालीमा आएका संस्कृतेतर शब्द, आगन्तुक शब्द र नेपाली प्रकृतिका अनुकरण मूल शब्दहरू तद्भव र आगन्तुक शब्दको वर्ण विन्यास नियमानुसार लेखिन्छन् । नेपाली प्रकृतिका व्युत्पन्न शब्द पनि यसमा नै पर्दछन् । नेपाली उच्चार्य वर्णको प्रयोग यस अन्तर्गत पर्ने भएकाले यस नियमलाई नेपाली वर्ण विन्यास नियम पनि भन्ने गरिन्छ । तद्भव नेपाली वर्ण विन्यास नियम निम्नानुसार छन् :
क. नेपाली भाषामा प्रचलित तद्भव, आगन्तुक र अनुकरण मूल शब्दका सुरु र माझका इकार र उकार ह्रस्व हुन्छन् ।
ख. नेपाली भाषामा प्रचलित सबै तद्भव, आगन्तुक र अनुकरण मूल शब्दमा आउने स दन्त्य (स) मात्र हुन्छ ।
ग. नेपाली तद्भव, आगन्तुक र अनुकरण मूल शब्दमा उच्चारण अनुसार ब, व, य, ए, ङ, न, म को प्रयोग हुन्छ ।
घ. नेपाली तद्भव, आगन्तुक र अनुकरण मूल शब्दमा ई, ऊ, ऋ, ञ, ण, क्ष, ज्ञ वर्णको प्रयोग हुँदैन ।
मिश्रित
नियम
केही तद्भव र आगन्तुक शब्दका माझमा र अन्त्यमा ह्रस्व र दीर्घ हुने भएकाले त्यस्ता शब्दलाई मिश्रति नियम अनुसार राखिएको हो ।
अ. अन्त्यमा ह्रस्व इ, उ (ि, ु) हुने नियमः सजीव नाम (दाइ, जेठाजु, आदि), निर्जीव उकारान्त (गाउँ, आलु आदि), सर्वनामबाट बनेका ति अन्त्यमा हुने विशेषण (कति, यति आदि) इकारान्त र तथा उकारान्त अव्यय (अनि, माथि, बरु आदि), स्थानवाची उकारान्त शब्द (सोलुखुम्बु, बालाजु आदि) र आउ, आइ, याइ, आइँ, नु, आलु, एलु, आरु, उ प्रत्यय लागेर बनेका शब्द ह्रस्वान्त हुन्छन् ।
आ. अगाडि दीर्घ हुने नियम एकाक्षरी सर्वनामः (यी, ती, ऊ) ।
इ. अन्त्यमा दीर्घ हुने नियम स्त्रीलिङ्गी नाम, विशेषण र क्रियाः नाम (छोरी, बहिनी, फुपू आदि) विशेषण (काली, लाटी आदि), क्रिया (गई, पढ्थी, जाली, आदि), केही पुलिङ्गी नाम (सम्धी, खसी आदि), दुवै लिङ्गमा प्रयोग हुने नाम (हात्ती, गोही आदि), थर, पेसा, जाति (थरः राई, थारू आदि, पेसाः हली, तेली आदि, जातिः नेपाली, बङ्गाली आदि), स्थानवाची इकारान्त शब्द (डोटी, म्याग्दी आदि), निर्जीव जनाउने इकारान्त शब्द (पानी, ओखती आदि), इकारान्त आगन्तुक शब्द (डिग्री, ट्याङ्की आदि), आदरार्थी जी, ज्यू जोडिएका शब्द (साहुजी, सचिवज्यू आदि), अनेकाक्षरी सर्वनाम (उनी, आफू आदि) इकारान्त विशेषण (अल्छी, सिल्ली आदि), इकारान्त सङ्ख्या वाचक शब्द -दुई, सत्तरी आदि), पूर्वकालिक कृदन्त (देखी, पढी आदि), आज्ञार्थक तथा इच्छार्थक, इकारान्त, उकारान्त क्रिया (पक्री, हेरूँ आदि) र निम्नलिखित इकारान्त प्रत्ययको योगबाट बन्ने शब्दहरू (अरी, आनी, आउनी, ती, आउरी, आरी, आडी, औरी, एली, आली, औली, यौली, तरी आदि) ।
क्षतिपूर्ति दीर्घीभवन बारे
संस्कृत, प्राकृत हुँदै नेपालीमा प्रचलित केही शब्द नेपालीमा दीर्घ लेख्ने प्रचलनलाई क्षतिपूर्ति दीर्घीभवन भनिन्छ । संस्कृतबाट प्राकृत हुँदै नेपाली शब्द भण्डारमा प्रवेश गरेकाले ती शब्द तद्भव नै हुन् । नेपालीमा तद्भव शब्द ह्रस्व लेख्ने प्रचलन बसि सकेको परिप्रेक्ष्यमा तिनै तद्भव शब्दलाई दीर्घ मात्रामा लेख्दा अपवाद नियमको शरण पर्नु पर्ने हुन्छ । अपवादको न्यूनीकरणको सट्टा अपवादको संरक्षण वाञ्छनीय हुँदैन । अर्कातिर यस्ता शब्दलाई ह्रस्वमा पनि लेख्न सकिने विचार आएको र यसले अपवादको न्यूनीकरण गर्न सहयोग पुग्ने भएकाले ह्रस्व लेख्नेतर्फ शिक्षण कार्यलाई प्रवृत्त गराउनु उपयुक्त हुन्छ । क्षतिपूर्ति दीर्घीभवनमा पनि नपरेका तर कथित शिष्ट परम्पराका नामबाट दीर्घ लेखिँदै गरेका नीलो, कीलो, जीउ, बीउ, धूलो, धूवाँ, पीर, जीरा, आदि शब्दलाई सहज रूपमा तद्भव नेपाली मानी क्रमशः निलो, किलो, जिउ, बिउ, धुलो, धुवाँ, पिर, जिरा ह्रस्व लेखिन्छ ।
सङ्ख्या वाचक शब्द र तत्सम आधार तत्त्वमा नेपाली प्रत्यय जोडिएर निर्मित शब्दबारे
सङ्ख्या वाचक शब्द र तत्सम आधार तत्त्वमा नेपााली कृत् तथा तद्धित प्रत्यय जोडिई बनेका कतिपय शब्द आधार तत्त्वानुसारी वर्ण विन्यासमा लेख्ने गरेको पाइन्छ , जस्तैः बीसौँ, सच्चालीसौँ आदि । यी शब्दको मध्यवर्ती इकार दीर्घ लेखिनु र दर्शाउनु, दशैँ, पण्डित्याइँ, दुष्ट्याइँ, शूरो जस्ता शब्दहरू तत्समकै नियममा लेखिनु उपयुक्त होइन । तिनलाई तद्भव वर्ण विन्यासको नियम अनुसार नै बिसौँ, सच्चालिसौँ, दर्साउनु, दसौँ, पन्डित्याइँ, दुस्ट्याइँ, सुरो लेखिन्छ ।
पदयोग र पदवियोगबारे
देवनागरी लिपिमा वर्ण र वाक्यका पदहरूमा डिको दिएर लेख्ने चलन छ । सोही लिपि प्रयोग गरेकाले नेपाली वर्ण र वाक्यमा प्रयुक्त पदमा पनि डिको दिने प्रचलन आएको हो । वाक्यमा प्रयुक्त कति र कस्ता शब्द एउटै डिकोमा लेख्ने र कस्ता चाहिँ छुट्ट्याउने भन्ने द्विविधा लेख्य नेपालीमा बढेको र यसबाट अनेकरूपता तथा अन्योल थपिएको छ । समास गरेका शब्दबाट पदयोगको जटिलता बढी थपिएको छ । धेरै शब्दलाई एउटै बनाउने प्रक्रिया समास हो । समास गरेर एउटै शब्द बनाउँदा ती शब्द जोडेर लेख्नु पर्छ भन्ने प्रचलनले पनि अन्योल बढेको छ । समास र डिको एउटै कुरा होइन । नेपाल सरकार, मौरी पालन व्यवसाय, श्रम शिविर आदि समस्त शब्द नै हुन् तर ती अलग अलग नै लेखिन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, चिकित्सा शास्त्र अध्ययन संस्थान जस्ता बहुपदी शब्दले एउटै अर्थ दिएका छन् तर जोडिएका छैनन् । तर यस्तै प्रवृत्तिका कतिपय शब्द जोड्ने वा योजकको प्रयोग गर्ने प्रवृत्तिले बढी अन्योल सिर्जना भएको र लेखाइमा भद्दापन थपिएको छ । यति मात्र होइन यसले शब्दको मौलिक विशेषता, अलग अलग उच्चारण र लेखन हुनु हो भन्ने मान्यतालाई पनि ओझेलमा पार्न खोजेको छ । सामान्यतः पदयोग र पद वियोगबारे निम्न व्यवस्था गर्नु उपयुक्त मानिएको छ ।
पदयोगः
क. शब्दसँग प्रत्ययवत् प्रयोग हुने विभक्ति, दुई लिपि चिन्हसम्मका नामयोगी, शब्दांश (कर, कार, कृत, बद्ध, युक्त, शील, पूर्ण, हीन, जन्य आदि) लाई पदयोग गर्ने, जस्तैः नाटककार, उन्नतशील, रुचिपूर्ण, परिस्थितिजन्य आदि ।
ख. सन्धि हुँदा पूर्वापर विकार आएका शब्द पदयोग गरी लेख्ने, जस्तैः सूर्योदय, विद्यालय, एकासी, महौषधी, सत्याग्रह आदि ।
ग. द्वित्व शब्दको निरर्थक द्विरुक्त र विकारी अंश पदयोग गरी लेख्ने, जस्तैः गुटुमुटु, भातसात, आनीबानी, गल्र्यामगुर्लुम, झैझगडा आदि ।
घ. दुई अक्षरसम्मका स्वरान्त शब्दले बनेका समस्त शब्द जोडेर लेख्ने, जस्तैः केटाकेटी, बाबुआमा, शिक्षामन्त्री, अर्थमन्त्री आदि ।
ङ. अकरणको न जोडेर लेख्ने, जस्तैः नपढेको, नजाऊ आदि ।
पद वियोग
क. हरेक शब्द छुट्टाछुट्टै लेख्ने, जस्तैः राम घर जान्छ ।
ख. वाक्यमा निपात तथा संयोजक बेग्लै लेख्ने, जस्तैः म मात्र घर जान्छु । हरि चाहिँ घर आएन ।
ग. जना, वटा/ओटा, जस्ता कोटिकर बेग्लै लेख्ने, जस्तैः पाँच जना, बार्ह ओटा आदि ।
घ. विभक्तिपछि आउने नामयोगी बेग्लै लेख्ने, जस्तैः देशका लागि ।
ङ. व्यञ्जनान्त द्वयक्षरी र सोभन्दा बढी अक्षरका नामयोगीलाई अगिल्लो पदबाट पद वियोग गरी लेख्ने, जस्तैः बाहेक, बापत, मार्फत, अनुसार, अन्तर्गत, अनुरूप, बमोजिम आदि ।
च. विशेषण र विशेष्य भई आउने शब्द बेग्लै लेख्ने, जस्तैः
शुभ दिन, शुभ कामना आदि ।
छ. सार्थक प्रकृतिका द्वित्व शब्द बेग्लै लेख्ने, जस्तैः जे जे, के के, कुन कुन, छेउ छेउ, जति जति आदि ।
ज. दुई अक्षरबाट बनेका व्यञ्जनान्त शब्द बेग्लै लेख्ने, जस्तैः
भवन निर्माण, पुराण वाचन आदि ।
झ. जुनसुकै एकाक्षरी वा द्वयक्षरी शब्दसँग व्यञ्जनान्त द्वयक्षरी वा सोभन्दा बढीका जुनसुकै अनेकाक्षरी शब्दसँग समास भई संलग्न रहेमा पनि उल्लिखित अनुसार नै पद वियोग गरी लेख्ने, जस्तैः देश विकास, श्रम विभाग, भूमि सुधार आदि ।
ञ. व्यक्ति वाचक नाममा आउने अर्को पद बेग्लै लेख्ने, जस्तैः राम प्रसाद, मुगु जिल्ला, देवकोटा चोक आदि ।
ट. जाति, वर्ग, समाज आदि जनाउँदा सोभन्दा अगाडि आउने नाम बेग्लै लेख्ने, जस्तैः मानव जाति, गुरु वर्ग, सज्जन वृन्द आदि ।
ठ. दुईभन्दा बढी शब्दबाट बनेका समस्त शब्द बेग्लै लेख्ने, जस्तैः दाल भात डुकु, मन वचन कर्म, गाँस बास कपास आदि ।
ड. संयुक्त क्रिया बेग्लै लेख्ने, जस्तैः हेर्नु पर्छ, सुन्नु पर्यो, फहराइ रहेको छ, भनि दिनु होला, पुर्याइ दिनु हुने छ आदि ।
ढ. विभाजक जनाउने न, जस्तैः न तिमी न म, न पढ्छ न लेख्छ आदि ।
वर्ण विन्यास सम्बन्धी यो नव स्थापनाले तत्सम शब्दलाई एक खण्डमा र तद्भव तथा आगन्तुक शब्दलाई अर्को फाँटमा राखी सरल र वैज्ञानिक ढङ्गले व्यवस्था गरेको छ । यस मान्यता अनुसार जाँदा लेख्य नेपाली भाषा सरल र सहज हुने स्पष्ट छ । यी नियमलाई घोकाएर पढाउने भन्दा प्रयोगद्वारा सिकाउनु उपयुक्त हुन्छ । यसका निम्ति स्वयं विद्यार्थीलाई ती शब्दको स्रोत र वर्ण विन्यास सम्बन्धी सूचना पत्ता लगाउन र त्रुटि सच्याउन शब्दकोशको प्रयोग गर्न लगाउनु उपयुक्त हुन्छ ।
(नेपाली भाषा शिक्षक समाजद्वारा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रियामा प्रस्तुत कार्यपत्रको सम्पादित अंश)
२०६७ साल जेठ १२ गते बुधवार।
Leave a Reply