स्रोत: कान्तिपुर
-अब्दुल्लाह मियाँ/शिला पाण्डे
काठमाडौ। बीसौंपल्ट सर्वोच्च शिखर सगरमाथा चुमेका ‘सुपर शेर्पा’ आप्पा मंगलबार त्रिभुवन विमानस्थल झर्दा निकै उत्साहित देखिए । आफ्नै कीर्तिमान तोड्दै बनाउँदै आएका उनी फेरि एकपटक चुचुरोमा पुग्न पाएकामा दंग थिए । तर यस्तो हर्ष अब अरूले पनि बाँडुन् भन्ने चाहना उनमा पलाउन थालेछ । भने, ‘युवा आरोहीले मेरो कीर्तिमान तोडुन् भन्ने चाहन्छु तर म थाकेको होइन ।’
आप्पाले चारपल्टको असफल प्रयासपछि सन् १९९० मा सगरमाथामाथि पहिलो सफलता पाएका थिए । सन् १९९२ मा दुईपल्ट शिखरमा पाइला पुर्याएका थिए । १९ औं पल्टको आरोहण कीर्तिमानलाई शनिबार फेरि तोडेका हुन् । इको एभरेस्ट एक्सपिडिसनको सगरमाथा सफाइ अभियानमा तीन वर्षदेखि उनी सक्रिय छन् । विश्व वन्यजन्तु कोषका एम्बेसडरका रूपमा रहेका आप्पाले शिखरमा जलवायु परिवर्तनबारे चेतना जगाउने नारा अंकित ब्यानर पनि फहराएका थिए ।
विश्वव्यापी तापमान बढिरहँदा सगरमाथामा पनि नकारात्मक असर पुगेको उनी साक्षी हुन् । ‘साउथ कोलबाट चुचुरो पुग्ने बाटोमा हिउँ निकै कम छ,’ उनले भने, ‘यसले आरोहण गर्दा निकै अप्ठ्यारो हुन थालेको छ ।’ आरोहीले प्रयोग गर्ने क्र्यामपोन (हिउँमा प्रयोग गरिने जुत्ता) ले ढुंगामा हिँड्न गाह्रो हुने उनले बताए । ‘पहिले हिउँ हुने अधिकांश ठाउँमा ढुंगा देखिएको छ,’ उनले भने, ‘यो जलवायु परिवर्तनकै असर हो ।’
उनी छोरानातिले भने आफ्नो पथ नपछ्याऊन् भन्ने चाहन्छन् । ‘म छोराछोरीलाई सगरमाथा चढाउन चाहन्नँ,’ गत शनिबार सगरमाथा चढेर फर्किएका शेर्पाले मंगलबार एक अर्कै कार्यक्रममा भने, ‘सगरमाथा चढ्ने काम सजिलो छैन ।’ ‘उनीहरूले पढेर देशका लागि केही गरून्,’ आप्पाले भने, ‘त्यसैले आफू नपढेको भए पनि उनीहरूलाई अमेरिका लगेर पढाएको हुँ ।’
उनका २३ वर्षीय छोरा तेन्जेङ जङ्बो स्नातकोत्तर गर्दैछन् भने १८ वर्षीय कान्छा तेम्बा नोर्बु भर्खरै कलेज भर्ना भएका छन् । छोरी दाबा यान्जिन ९ कक्षामा पढछिन् । ‘आफ्नो भविष्यबारे उनीहरू आफैंले डिसिजन गर्लान्,’ शेर्पाले भने । छोराछोरीको पढाइका लागि मात्रै आफू अमेरिका बसेको जनाउँदै पढाइ सकिएपछि र्फकने उनले बताए । मंगलबार कोषद्वारा सम्मानित आप्पा जेठ ३० मा अमेरिका फर्कंदैछन् । सन् १९८८ देखि उनी सपरिवार क्यालिफोर्निया स्थित ड्रापरमा बस्दै आएका छन् ।
२०६७ साल जेठ १२ गते बुधवार।
Leave a Reply