स्रोत: कान्तिपुर
-निर्मल श्रेष्ठ
हङकङ। विश्व चर्चित सांघाई वल्र्ड एक्स्पोमा प्राचीन वास्तुकलाको सम्मिश्रण सहित नेपालले बनाएको कलात्मक मण्डला एक्स्पोकै आकर्षण बनेको छ । वैशाख १८ मा भव्य शुभारम्भ हुने एक्स्पो मंगलबारदेखि परीक्षण सञ्चालनमा छ । परीक्षणका क्रममा प्रति दिन दुई लाखलाई एक्स्पो अवलोकनको निम्तो दिइएको छ । ‘परम्परागत वास्तुकला र संस्कृति झल्कने नेपाली मण्डला सबैको आकर्षण बनेको छ,’ Nepal Pavilion का निर्देशक विनायक शाहले भने, ‘काठमा हातले कुदिएका कलात्मक बुट्टाबारे अधिकांशले रुचिपूर्वक जिज्ञासा राख्ने गरेका छन् ।’
नेपाल-चीन सम्बन्धका सूत्रधार अरनिकोका नामबाट यसको नाम ‘नेपाल अरनिको सेन्टर’ मण्डला नामाकरण गरिएको छ । एक्स्पो स्थलमा नेपालका लागि बाह्र हजार वर्गमिटर क्षेत्रफल छुट्याइएको छ । त्यस मध्ये करिब छत्तीस सय वर्गमिटरमा विश्व सम्पदामा सूचीकृत काठमाडौं वसन्तपुर दरबार क्षेत्रको झल्को दिने मण्डला बनाइएको छ । कलात्मक झ्याल-ढोका, बुट्टेदार इँटा र झङि्गटीका छाना भएका परम्परागत शैलीका घरहरू, चौबीस मिटर अग्लो बौद्ध स्तुपा र पोखरी मण्डलाका आकर्षण हुन् ।
चिनियाँहरूमा बुद्धको जन्मथलो बारेको भ्रम हटाउन एक्स्पो अवधि भित्रै लुम्बिनी सांघाई मोटर र्याली आयोजना गरिने पनि निर्देशक शाहले सुनाए । पेभेलियनका प्रांगणमा राख्न करिब डेढ मिटर अग्लो बुद्ध मूर्ति पनि ल्याइएको छ । ‘मूर्तिअघि बुद्ध नेपालमा जन्मिएका हुन् भनी ठूलो चिनियाँ अक्षरमा लेखिनेछ,’ उनले भने, ‘एक्स्पो बुद्धको वास्तविकताबारे प्रस्ट्याउने महत्त्वपूर्ण अवसर हो ।’ ‘वेटर सिटी, वेटर लाइफ’ नारा दिइएको सांघाई वल्र्ड एक्स्पोमा नेपालसहित ४५ मुलुकका मण्डला छन् । यिनमा वैज्ञानिक प्रविधि, संस्कृति, भौगोलिक बनावटलगायत विशेषता समेटिएका छन् । सात वर्षको तयारीपछि विकासोन्मुख मुलुकमा पहिलोपटक हुन लागेको एक्स्पोलाई चीनले अहिलेसम्मकै भव्य बताएको छ । १८४ दिन चल्ने एक्स्पोमा १ सय ९२ मुलुकले भाग लिने छन् । एक्स्पोलाई सफल पार्न पचास अन्तर्राष्ट्रिय संगठन पनि सहभागी छन् । करिब सात करोड दर्शकले अवलोकन गर्ने अनुमान गरिएको एक्स्पोमा सहभागी प्रत्येक मुलुकका लागि एक विशेष दिन छुट्याइएको छ । ‘हामी नेपालको राष्ट्रिय दिवसका अवसरमा विशेष कार्यक्रम गर्ने योजनामा छौं,’ शाहले भने, ‘नेपालका प्रतिष्ठित कलाकार, खेलाडी र सगरमाथा आरोहीहरूलाई सद्भावना राजदूतका रूपमा निम्त्याउने योजना छ ।’ मण्डला क्षेत्रमा नेपाली कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेसमेत उनले बताए । ‘चिनियँा मण्डलासँगै रहेकाले पनि प्रतिदिन कम्तीमा पचास हजारले नेपाली मण्डला भ्रमण गर्ने अनुमान छ,’ निर्देशक शाहले भने, ‘नेपाली जनशक्ति कम रहेकाले व्यवस्थापनको समस्या देखेका छौं ।’ मण्डला व्यवस्थापनका लागि बीस नेपालीसहित एक सय पचासजना खटाइएका छन् ।
तीन सय पचास दक्ष कालीगढको संलग्नतामा निर्माण भएको ‘नेपाल अरनिको सेन्टर’ नेपालबाहिर बनाइएको अहिलेसम्मकै ठूलो मण्डला भएको शाहले दाबी गरे । ‘करिब दुई वर्षमा निर्माण पूरा भएको मण्डलाका लागि पैंतालीस करोडभन्दा बढी खर्च भएको छ,’ शाहले भने, ‘काष्ठकलामा प्रयोग भएका सामग्री र मुख्य कालीगढ नेपालका हुन् ।’ पर्यटन वर्षका संघारमा छिमेकी मुलुकमा हुन लागेको एक्स्पोबाट नेपालले ठूलो फाइदा लिन सक्ने चीनका लागि नेपाली राजदूत टंक कार्कीले बताए । ‘मण्डलाको बनोटले नेपाल र चीनबीचको परम्परागत ऐतिहासिक सम्बन्ध स्मरण गराउनेछ ।’
२०६७ बैशाख १० गते शुक्रवार।
Leave a Reply