स्रोत: कान्तिपुर
-मोहन शाही
डोटी। सडक सुविधा नपुगेका गाउँमा समेत पक्की घर लगाउने होडबाजी पछिल्लो समय जहीतहीं चलेको पाइन्छ । तर राजमार्ग संगै जोडिएका अछामका केही गाविसका बासिन्दाहरु भने घरमा पत्थरको छाना लगाउनु परम्परा र संस्कार विरुद्धको रुपमा मान्दै आएका छन् ।
पात्थरको छाना लगाए देवी देउता रिसाउछँन् भन्ने मान्यता अछाममा अझै मानिंदै आएको छ ।
पहलमान सिं स्वाँर राजमार्ग संगै जोडिएका गाविसहरुमा यस्तो परम्परा देख्न सकिन्छ । अछाम र डोटीको सिमानामा रहेका दुनी,पाताल,मार्कु र वुढाकोट गाविसका वासिन्दाले देवी देउतालाई खुसी पार्न खरको छाना लगाउने गरेका छन् ।
पत्थरले घरको छाना छाएमा महिलाहरु काम्ने,सन्तानहरुलाई दुख दिने तथा घरमा विपत्ति हुने वुझाई छ । ‘हामी बर्षेनी खरले छाएको छाना फेर्न सक्छौं तर पात्थर लगाउन सक्दैनौ,’सरस्वती प्राथमिक विद्यालयका एक शिक्षकले भने-‘पुर्खा देखि यहि चलन मानिएकाले हामी त्याग्न सक्दैनौ ।’
उनका अनुसार पात्थर तथा टिन किन्न नसक्ने वा ढुवानीको समस्याले नभई गाउँभरी देउता खुसी पार्न यस्तो खरको छानो लगाउने चलन वसको हो । गाविस सचिव खगेन्द्र खड्काले खर छाउने प्रचलनमा केही फरक आइरहेको भएपनि पुर्णतया परिवर्तन हुन नसकेको वताए ।
चार गाविसका झण्डै पाँच हजार घरमा यस्तो खरको छानो लगाउने परम्परा रहेको स्थानिय वुद्धिजीवी भगत कुवँर वताउछन् । ‘जतावाट हेर्यो घरको छानामा खर लगाएको हुन्छ’,साउदले भने-‘ देवी देउताले पात्थर नलगाएको घरमा सजीलै प्रवेश गर्छन भन्ोर पनि अधिकांसले त्यस्तो छाना लगाउदैनन् ।’ पछिल्लो समय केही शिक्षीत परिवारले टिनको छाना लगाउन सुरु भने गरेका छन् ।
टिनको छाना लगाउने परिवारलाई भने यहा आफ्नो पुर्खाहरुको विरुद्ध गएको भन्दै छिमेकीहरुले होच्याउने प्रवृति छ । दुनी गाविसका एक जना पिडीतले भने-‘मेरो घरमा कोही विरामी हुने वित्तिकै छमेकीहरुले टिनको छाना लगाएको दोष हो भनेर होच्याउने गरेका छन् ।’
मदिरा निषेधीत अछाममा महिलाहरु महिनावारी हुदा अनर्थ हुने भन्दै यस्तो खरको छानाका घर वनाएको पनि तर्क राख्छन् ।
खरको छानोभित्रै भान्सा वनाएर खाना पकाउने भएकाले आगोको धुवाले घर पुरै ध्वाँसो हुने हुन्छन् । यहा माटोले घर लिपपोत गर्नु पनि भगवानसंग निहुँ खोज्नु सरह मानिने गरिन्थ्यो । तर अहिले केही परिवारले घर माटोले भने पोत्ने गरेका छन् । खरको छानो भएकोले घरमा आगोलागीको वढी जोखिम मोल्नु पर्ने स्थानियवासिन्दाहरु वताउछन् । ‘पहिले त घरमा माटो समेत लगाउदैन थिए’,स्थानिय एक वृद्धले भने-‘खरकै छाना भित्र खाना पकाउने भएकाले पनि घर काला न काला हुन्थे ।’
कल्पना नै गर्न नसक्ने यस्तो परम्परा देखेर अचम्म लाग्ने गरेको चौखुट्टे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक कलम शाही वताउछन् । अछामकै स्थानिय वासिन्दा रहेका प्रहरी सहायक निरीक्षक शाहीले भने-‘यस्तो किन गरेको भनेर सोध्दा देवी देउतालाई अगाडी ल्याउँछन् ।’ यी चार वटै गाविसलाई चौखुट्टे प्रहरी चौकीले सुरक्षा दिदै आएको छ ।
२०६७, बैशाख ८ गते बुधवार।
Leave a Reply