स्रोत: कान्तिपुर (सम्पादकीय)
सर्वसाधारण जनतालाई सुरक्षा प्रबन्ध गर्ने जिम्मेवारी बोकेका प्रहरी अधिकारीहरूकै घर लुटिन थालेपछि सुरक्षा प्रशासनमाथि गम्भीर प्रश्न खडा भएको छ । प्रहरी प्रधान कार्यालयको सुरक्षा महाशाखा हेर्ने डीआईजी विश्वराज शाही आफैं डकैतीमा परेका छन् । शुक्रबार राति चार जनाको हतियारधारी समूहले उनको बूढानीलकण्ठस्थित घर लुटेको छ । घरको पछाडिपट्टीको भान्साको ढोका फोरेर भित्र पसेका डाँकाहरूले ज्यान मार्ने धम्की दिँदै करिब २५ मिनेटमा नगद, गहना, ल्यापटप, मोबाइललगायत सात लाख बराबरको धनमाल लुटेको हो । केहीअघि बूढानीलकण्ठ क्षेत्रमै एसएसपी जयबहादुर चन्दको घर लुटिएको थियो ।
उसै पनि प्रहरी प्रशासनमाथि जनस्तरमा उतिसारो भरोसा छैन । सुरक्षा अवस्था खस्कँदो गतिमा छ । बीच सडकमै हत्या र अपहरणका घटना बढेका छन् । चोरी, डकैतीजस्ता अपराध सामान्यझंै हुन थालेका छन् । कतिसम्म भने, चौतर्फी असफलता भोगिरहेका प्रधानमन्त्री माधव नेपालले समेत प्रहरीको सक्षमतामा प्रश्न उठाएका छन् । उनले प्रहरी प्रशासनको प्रभावकारितामाथि प्रश्न गर्दै तेस्रो दर्जाको प्रहरीको खोजीमा रहेको केही साताअघि बताएका थिए । प्रहरीको छवि नकारात्मक हावी भइरहेको पृष्ठभूमिमा डीआईजीको घर चोरी भएको खबरले यो निकायप्रति थप अविश्वास पैदा गराएको छ । यस घटनाले जनमानसमा असुरक्षाको अनुभूति बढ्नेछ र प्रहरीको असक्षमतामाथि थप प्रश्नहरू उठ्नेछन् ।
डीआईजी शाहीको मुख्य काम महत्त्वपूर्ण पदीय हैसियतमा भएका व्यक्तिहरूको सुरक्षा बन्दोबस्त मिलाउने हो । तर उनी यति निरीह देखिए कि उनले आफ्नै घरको सुरक्षा गर्न सकेनन् । अवस्था अवश्य पनि संवेदनशील थियो, किनकि हतियारधारी डाँकाहरू डकैती गर्दै थिए । थोरै असावधानीले धनमाल लुटिनुका साथै अरू अपि्रय अवस्था आउन सक्थ्यो । यद्यपि २३ वर्ष प्रहरी सेवामा बसेका यी अधिकारीले यस्तो बखत देखाउनुपर्ने व्यावसायिक दक्षता र चातुर्यता प्रयोग गर्न सकेनन् । महत्त्वपूर्ण पदीय हैसियतमा रहेका विशिष्ठ व्यक्तिहरूलाई सुरक्षा बन्दोबस्त गर्ने जिम्मेवारी बोकेका अधिकारी आफैं लुटिनु विडम्बना सिवाय केही हुनै सक्दैन ।
यो डकैती प्रकरणले वरिष्ठ प्रहरी अधिकारीलाई दिइने सुरक्षा सुविधामाथि पनि प्रश्न खडा भएको छ । आधुनिक हतियारसहितका सुरक्षाकर्मी थिए भने के गरिरहेका थिए ? डीआईजीका अंगरक्षक, चालक र भान्सामा काम गर्ने दुई सुरक्षाकर्मी गेट नजिकैको सानो घरमा सुतेका थिए । सुरक्षाबाहेकको वैयक्तिक कामको खटाइले थाकेका कारण तिनले थाहा नपाएको खबर आएको छ । यहाँनेर पनि अर्को सवाल खडा हुन्छ- के सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई वैयक्तिक काममा लगाउनु कति उचित हो ? डकैती प्रकरण वरिष्ठ प्रहरी अधिकारीहरूका लागि एउटा सबक पनि भएको छ । आफूलाई सुरक्षाका लागि उपलब्ध जनशक्तिलाई वैयक्तिक काममा नलगाई सुरक्षामा खटाउन सके सम्भावित यस्ता आपराधिक घटनाबाट बच्न सकिन्छ भन्ने सन्देश यो चोरी प्रकरणले दिएको छ ।
यो प्रकरणले दिएको अर्को गम्भीर सन्देश हो- प्रहरी आफ्नो घरको सुरक्षा गर्न सक्दैन भने नागरिकको सुरक्षा कसरी गर्न सक्छ ? प्रहरी संयन्त्र राज्य र समाजलाई अत्यावश्यक इकाई हो, किनकि समाजमा यसको सशक्तीकरण र प्रभावकारिता सदैव आवश्यकता हुन्छ । अन्ततः समाजमा चोरी, डकैती लगायतका अपराधमा न्यूनीकरण गर्ने भूमिका प्रहरीकै हो । त्यसकारण प्रहरी सेवाप्रति जनताको तहमा बढ्दो विकर्षणलाई मेटाउन प्रहरी नेतृत्व जिम्मेवार र गम्भीर हुनुपर्छ । साढे दुई करोड भन्दा बढी नेपाली नागरिकको सुरक्षा जिम्मा लिएको प्रहरी आफै लुटिने लाचारी अवस्था कम्तीमा हुन दिनुहुन्न ।
२०६६ साल चैत्र २९ गते आइतवार।
Leave a Reply