स्रोत: कान्तिपुर
-दीपेन्द्र बडुवाल
उपरदाङगढी, चितवन। ‘गढी भित्रै पर्यटक बस्छन्,’ १० वर्षदेखि निःशुल्क संरक्षण गर्दै आएका होमबहादुर बुढाथोकीले भने, ‘आगो बालेर भोज गर्छन् ।’ उनले भनेजस्तै वर्गाकार गढीका ठाउँ ठाउँमा चुलो बनाइएको छ । कोइला र खरानी छरपष्ट देखिन्छ । फोहोर उस्तै छ । कहीं पर्खाल भत्किंदै छ ।
‘पूरा सफाइ गर्न ६५ दिन लाग्छ,’ दृष्टि कमजोर भएकाले पहिरेको कालो चश्मामा उनले फित्ता हालेका छन । सफाइ गर्ने उनको भर्याङ स्थानीय युवाले भाँचिदिए । भर्याङ गढी भित्रको ऐतिहासिक कुवामा थन्काइएको छ । गढीका अग्ला पर्खाल सफा गर्दा भर्याङ जरुरी पर्छ । ‘बाँस खोजेर कामचलाउ बनाएको थिएँ,’ उनले भने, ‘भर्याङ सँगै मन पनि भाँचियो ।’
थुम्कोमा गढी अवस्थित छ । स्थानीय चेपाङ समुदायले खोरिया फाँड्नका लागि वरिपरिका वृक्ष केही दिनअघि जलाएका छन् । पुरै डाँडो नाङ्गै छ । गढी वरिपरि भीरमा खोरिया खनेर बस्ती बसेकोे छ । पूर्वतिरको भीरमा ३/४ घर छन् । ‘खोरिया फाँड्न नदिनु पर्ने,’ हेरालु बुढाथोकीले पोखे, ‘जडीबुटी रोप्न सके उत्तम हुन्थ्यो ।’ उनले गढी बाहिरको क्षेत्रमा थरीथरी फूल रोपेर रमणीय बनाउन सकिने बताए । अहिले वातावरण उराठलाग्दो छ । चितवनको सदरमुकाम भरतपुरबाट ५ घन्टाको दूरीमा उपरदाङगढी छ । जुन जिल्लाको पुरानो सदरमुकाम हो । उल्लेख गरिएअनुसार सन् १९७० सम्म अड्डा यहींबाट सञ्चालन हुन्थे ।
शक्तिखोरसम्म यातायातका साधन उपलब्ध छन् । तीन घन्टा उकालो हिंडेपछि थुम्कामा गढी छ । छिमेकी देशबाट हुन सक्ने आक्रमणलाई लक्षित गरी पृथ्वीनारायण शाहका नाति शत्रु भञ्जन शाहले सन् १८०० मा गढी निर्माण गरेका थिए । गढी वरिपरि कुँदिएका ढुंगाको पर्खाल छ । भित्र हतियारघर, कुवा र दुइकोठे घर छन् । घरको छाना छैन । स्थानीय पर्यटन विकास समितिका अध्यक्ष्य अमरबहादुर गुरुङका अनुसार वर्षौ देखि अलपत्र गढीको २०५७ सालमा पहिलो पटक नेपाली सेनाले सफाइ गरेका थिए । सेनाले २०६१ साल सम्म नियमित सफाइको काम गरेको थियो । त्यसपछि जिविस र गैरसरकारी संस्थाको पहलमा यहाँ पर्यटक प्रवर्द्धनका लागि खानेपानी, बाटोघाटो र होमस्टेको प्रबन्ध मिलाइएको हो । त्यही रकमले गढीको द्वारमा आधुनिक ढोका हालिएको छ ।
‘तारबार गरेर व्यवस्थित गर्न सके हुन्थ्यो,’ उनले भने, ‘सुरक्षा छैन ।’ उनका अनुसार गत वर्ष जिविसले उपलब्ध गराएको ८ लाख २५ हजार रुपैयाँले सिढी, गोलघर बनाइएको छ । केही दिनअघिको डँढेलोले दृश्यावलोकनका लागि निर्माण गरिएको गोलघरको छाना जलेको छ । गढीको वरिपरि घाँसपात जलेको छ । हरियाली छैन । जति बेला चाह्यो गढीभित्र आउजाउ गर्न मिल्छ । स्थानीयका अनुसार सदरमुकामस्थित जिविस, प्रशासन र अदालतबाट प्रत्येक फूलपातीमा पिउन २ वटा बोक बलि चढाउन यहाँ आउँछन् । ‘अरू बेला पनि काम परे पिउन पठाउँछन्,’ गुरुङले भने ।
जिल्लाका पर्यटकीय क्षेत्र मध्ये उपरदाङगढी प्रमुख हो । तर यहाँ चर्पीको ढोका छैन । महत्व उल्लेख गरिएको बोर्ड गाउँलेको घरमा छ । धाराको टुटी निकालिएको छ । पानी आउँदैन । यसको वरिपरि तारबार गरेर द्वार निर्माण गरी प्रवेश शुल्क तोक्नुपर्ने राय स्थानीय बासिन्दाको छ । यहाँबाट मनोरम सूर्यास्त र सूर्योदय अवलोकन गर्न सकिन्छ । स्थानीय बासिन्दाका अनुसार यहाँबाट अन्नपूर्ण, धवलागिरी, लाम्टाङ, इच्छाकामना, कालिका मन्दिर, देवघाट, गोरखा, तनहुँ र चितवनका ग्रामीण क्षेत्र सजिलै देखिन्छन् ।
२०६६ साल चैत्र २९ गते।
Leave a Reply