स्रोत: कान्तिपुर
-डा सुवेद घिमिरे
अमेरिकन भौगर्भिक सर्भे (USGS) को तथ्यांक अनुसार पृथ्वीमा हरेक वर्ष एउटा महाभूकम्प (म्याग्निच्युड ८ भन्दा ठूलो), हरेक २० दिनमा एउट ठूलो भूकम्प (म्याग्निच्युड ७.९), हरेक महिना १२ वटा तीव्र भूकम्प (म्याग्निच्युड ६-६.९), हरेक दिन चारवटा मध्यम भूकम्प (म्याग्निट्युड ५-५.९), हरेक दिन ११० वटा हल्का भूकम्प (म्याग्निट्युड ४-४.९), हरेक दिन चार हजार जति स-साना भूकम्प (म्याग्निट्युड ४ भन्दा साना) जाने गर्छन् । विश्व मानचित्रमा यस्ता भूकम्पहरू मुख्यतया टेक्टोनिक प्लेटहरूका सीमा क्षेत्रमा जाने गर्छन्, जहाँ टेक्टोनिक प्लेटहरू बन्ने वा नष्ट हुने प्रक्रिया भइरहेको हुन्छ । भूकम्प विज्ञानको विकासले भूकम्पीय स्रोत, प्रक्रिया, तरंगहरूको प्रसारण विधि र असर सम्बन्धमा ठूलै फड्को मारिसकेको भए तापनि पूर्वानुमान गर्न भने असम्भव छ । भूकम्पलाई नियमित प्राकृतिक प्रक्रियाका रूपमा बुझ्दै यसका असरहरूलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सोच्नु श्रेयस्कर हुन्छ ।
वर्षको आरम्भमा क्यारेबियन राष्ट्र हाइटी भूकम्पको चपेटामा पर्यो । ७.० म्याग्निच्युडको भूकम्पका कारण लाखौं मरे, घरवारविहीन भएका र भौतिक संरचनाहरूको विनाशको लेखाजोखा नै छैन । गत हप्ता दक्षिण अमेरिकी मुलुक चिलीमा ८.८ म्याग्निच्युडको भूकम्प गयो । जुन विगत ५० वर्षको अवधिमा यस क्षेत्रको सबैभन्दा ठूलो भूकम्प हो । यहाँ उद्धार टोलीले गरेको काम प्रशंसनीय छ । चिली यस्तो महाभूकम्पका निम्ति भौतिक एवं मानसिक रूपमै सजग र तयारी अवस्थामा थियो । फलतः यहाँ हाइटीको जस्तो भयानक मानवीय क्षति हुन पाएन । प्रारम्भिक उद्धार कार्यका निम्ति अन्तर्राष्ट्रिय समुदायको मुख ताक्नु परेन ।
नेपाल लगायत सम्पूर्ण हिमालय दुईवटा टेक्टोनिक प्लेटहरूको सीमामा पर्छ जहाँ दक्षिणी इन्डियन प्लेट झन्डै साढे पाँच करोड वर्षदेखि उत्तरमा रहेको युरेसियन प्लेटसँग जुधिरहेको छ । वर्तमान समयमा पनि इन्डियन प्लेट प्रतिवर्ष औसत ५ सेमि का गतिमा उत्तरतर्फ चलायमान छ र युरेसियन प्लेटलाई घचेटिरहेको छ । यसरी करोडौं वर्षदेखि जारी यो प्रक्रियामा चट्टानका ठूला-ठूला ब्लकहरू एक-आपसमा खप्टिँदै अग्लाअग्ला पर्वत हिमालय सिर्जना भएका हुन् । भूकम्पीय दृष्टिकोणमा नेपाल र सम्पूर्ण हिमालय क्षेत्र जोखिमपूर्ण छ ।
पंक्तिकारले गरेको एउटा वैज्ञानिक अनुसन्धानबाट यो (सन् १९८८ को) भूकम्पको फोकस साधारण हिमाली भूकम्पको तुलनामा गहिरो हुनुका साथै यसको मेकानिज्म पनि फरक पाइएको थियो । यसको म्याग्निट्युड अन्य भूकम्पको तुलनामा कम रहेको भए तापनि यसले गरेको विनाशले हाम्रो अव्यवस्थित सहरीकरण र अपरिपक्व भौतिक पूर्वाधारको विकासलाई प्रतिबिम्बित गर्छ । हिमालयको कुनै पनि क्षेत्रमा दुईवटा महाभूकम्प गएको रेकर्ड नभएका कारण यस भेगमा अन्तरभूकम्पीय समय यकिनका साथ भन्न सकिँदैन । अर्थात् वाषिर्क २.५ सेमिका दरमा हिमालयका चट्टानहरू खुम्चिरहेका छन् जसको केही अंश साइस्मिक इनर्जीका रूपमा हिमालयका ब्लकहरूमा जम्मा हुने गर्छ । यसरी बन्ने साइस्मिक इनर्जी एउटा निश्चित समयपछि महाभूकम्पका रूपमा रिलिज हुने गर्छ । विभिन्न ऐतिहासिक तथ्यहरू र शोधहरूबाट के पनि पत्ता लागेको छ भने सन् १५०५ मा नेपालको मुस्ताङ भेगमा एउटा महाभूकम्प (म्याग्निट्युड ८.४ भन्दा ठूलो) गएको थियो । त्यसपछि त्यो भेगमा काठमाडौंबाट पश्चिम र कुमाउ-गढवालबाट पूर्व कुनै पनि महाभूकम्प गएको छैन । यसर्थ त्यस भेगमा ढिलो-चाँडो महाभूकम्प जान सक्ने सम्भावना प्रबल छ । यसको अर्थ हिमालयको अन्य भेग भूकम्पीय दृष्टिले सुरक्षित छन् भन्ने कदापि होइन । हिमालयमा महाभूकम्प वा ठूलो म्याग्निच्युडका भूकम्प जहाँ पनि र जहिले पनि जान सक्ने कुरा सन् २००६ मा कश्मीरमा गएको भूकम्पले पुष्टि गरिसकेको छ ।
सरकारसँग प्रकोप न्यूनीकरणका निम्ति कुनै ठोस कार्ययोजना नै नभएको तथ्य राजधानीको अव्यवस्थित सहरीकरणबाट छर्लंग हुन्छ । यही स्थितिमा महाभूकम्प गए नेपालले हाइटीको भन्दा नराम्रो स्थिति भोग्नुपर्ने हुन्छ । अतः चिलीमा जस्तै जनस्तरदेखि सरकारीस्तरसम्म भूकम्प आउनु अगावै यसको मुकाबिलाका निम्ति भौतिक एवं मानसिक रूपमा तयार भएर बस्नु नै बुद्धिमानी हुन्छ ।
[लेखक भूकम्प तथा ज्वालामुखी अध्ययन केन्द्र होक्काइडो विश्वविद्यालय, साप्पोरो जापानमा कार्यरत छन् । संपर्क: shghimire2001@yahoo.com]
२०६६ फागुन २५ गते।
Leave a Reply