स्रोत: नागरिक
-लेखनाथ पाण्डे
सरकारले विश्वभर छरिएर रहेका दशौं लाख गैरआवसीय नेपालीलाई विशेष सुविधायुक्त परिचय पत्र वितरण सुरु गरेको छ। परराष्ट्रमन्त्री सुजाता कोइरालाले गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष देवमान हिराचनलाई सोमबार ‘गैरआवसीय नेपाली परिचय पत्र’ दिएर यसको औपचारिक थालनी गरिन्।
मुख्यतः एनआरएन समुदाय मार्फत् स्वदेशमा लगानी, सिप र प्रविधि आकर्षित गर्न सरकारले सुविधायुक्त परिचय पत्र दिएको हो। परिचय पत्र प्राप्त गर्नेलाई नेपालमा कम्पनी खोली प्रत्यक्ष लगानी गर्न सहुलियत दिइएको छ।
आवास प्रयोजनका लागि सिमित घर-जग्गा खरिद र एक पटकमा १० वर्षसम्म निःशुल्क प्रवेशाज्ञा (भिसा) सहितका सुविधा उपलब्ध हुन्छ। काठमाडौं उपत्यकाभित्र बढीमा दुई रोपनी, तराईका नगरपालिका क्षेत्रभित्र बढीमा आठ कठ्ठा र अन्यत्र चार रोपनीसम्ममा घरजग्गा किन्न सक्छन्। तराईका गविसमा एक बिगाहा र अन्यत्र दश रोपनीसम्म किन्न पाउँछन्।
गैरआवसीय परिचयपत्र लिनु अघि उनीहरूले नेपालमा प्रत्यक्ष लगानी गर्न, घरजग्गा खरिदबिक्री गर्न कठिन थियो भने हरेक चोटी नेपाल आउँदा भिसा लिनुपर्ने बाध्यता थियो।
‘गैरआवसीय नेपालीका समस्या समाधान प्रति सरकार प्रयत्नशील र प्रतिबद्ध छ’ हिराचनलाई पहिलो गैरआवसीय नेपाली परिचयपत्र हस्तान्तरण गर्दै मन्त्री कोइरालाले आग्रह गरिन्, ‘यो परिचय पत्रको राम्रो सदुपयोग गरी स्वदेशमा लगानी गर्ने, विकास प्रयासमा सहयोग गर्न आग्रह गर्छु।’
गैरआवसीय नेपालीले दोहोरो नागरिकता माग गर्दै आए पनि संवैधानिक प्रावधान बमोजिम नमिल्ने भन्दै सुविधायुक्त परिचय पत्र उपलब्ध गराइएको हो। एनआरएनका मागलाई सम्बोधन गर्न २०६४ सालमा गैरआवसीय नेपाली सम्बन्धी ऐन र त्यसलाई कार्यान्वयन गर्न यसै वर्ष नियमावली जारी भएको थियो।
‘एनआरएनले व्यक्तिगत स्वार्थका लागि परिचयपत्र मागेको थिएन, जन्मभूमि नेपाललाई केही गरौं भन्ने उद्देश्य हो’ परिचयपत्र लिँदै अध्यक्ष हिराचनले भने, ‘मेरो जीवनमा नयाँ सुरुवात भएको छ, यसले नयाँ जिम्मेवारी थपिएको महशुस गरेको छु।’
एनआरएनले नेपालका विद्यालय निर्माणदेखि उद्योग सञ्चालन गरिरहेको उल्लेख गर्दै सरकारले परिचय पत्र बाहेक औद्योगिक सुरक्षा सुनिश्चित गरी लगानीमैत्री वातावरण बनाउनु पर्नेमा हिराचनको जोड थियो।
ऐनअनुसार नेपाली मुलका विदेशी नागरिकता लिएका र नेपाली नागरिकता लिएर दुई वर्षभन्दा बढी समयदेखि विदेशमा बस्दै गरी दुई खाले गैरआवसीय नेपालीले यो परिचयपत्र लिन सक्नेछन्। पढ्न, तालिम लगायत कार्यमा गएका, विदेशस्थित नेपाली नियोगमा कार्यरत र सार्क क्षेत्रमा बसोबास गर्दै आएकाले भने परिचयपत्र पाउने छैनन्। किनभने उनीहरूलाई ऐनले गैरआवसीय नेपालीको मान्यता दिएको छैन।
गैरआवसिय नेपाली परिचयपत्र काठमाडौं स्थित परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगबाट वितरण गरिनेछ। मन्त्रालयका सहसचिव तथा परिचयपत्र वितरण कार्यक्रम संयोजन गरिरहेका खगनाथ अधिकारीले विदेशस्थित नेपालका सबै कूटनीतिक नियोगमा परिचयपत्र पठाइसकिएको जानकारी दिए।
‘गैरआवसिय नेपाली भएको प्रमाण सहित निवेदन दिएको एक हप्ताभित्र त्यसको यथार्थ छानविन गरी परिचयपत्र उपलब्ध गराउँछौं’ उनले भने।
गैरआवसीय नेपाली संघका अनुसार सार्क क्षेत्र बाहेकका मुलुकमा २५ लाखभन्दा बढी नेपाली छन्। उनीहरूमध्यै ९० प्रतिशतभन्दा बढी नेपाली नागरिकता बाहक रहेको परराष्ट्र मन्त्रालयको अनुमान छ। पुगनपुग १० प्रतिशतमात्र नेपाली नागरिकता त्यागी नेपाली मुलुका नागरिकका रूपमा विदेशमा बसोबास गर्दै आएका छन्।
सरकारले कम्तिमा २ वर्षदेखि विदेशमा बस्दै आएका नेपालीलाई ‘विदेशमा बस्ने नेपाली नागरिक’ भनेर परिचयपत्र दिनेछ भने नेपाली नागरिकता त्यागी विदेशमै बसोबास गर्दै आएकालाई भने ‘नेपाली मुलको विदेशी नागरिक’ शीर्षक राखेर परिचयपत्र दिनेछ।
विदेशमा बस्ने नेपाली नागरिकको परिचयपत्रमा परिचयपत्र नम्बर, बहाकको तस्बीरसहित नाम थर, (हाल) बसोबास गरिरहेको मुलुक र ठेगाना, नेपालको स्थायी ठेगाना, नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी नम्बर, परिचयपत्र मान्य रहने अवधिलगायत विवरण राखिएको छ।
नेपाली मुलुका विदेशी नागरिकको परिचयपत्रमा भने परिचयपत्र नम्बर, बाहकका तस्बीर सहित नाम थर, बसोबास गरिरहेको मुलुक र ठेगाना, (विदेशमा) स्थायी बसोबास गर्न सुरु गरेको मिति, पेशा/व्यवसाय, राहदानी नम्बर, परिचयपत्र मान्य रहने अवधिलगायत विवरण समेटिएको छ।
दुवै किसिमका पचिरयपत्रमा विवरण नेपाली र अंग्रेजी भाषमा राखिएको छ। नेपाली मूलका विदेशी नागरिक भए सुरुमा दश वर्षसम्म र विदेशमा बस्ने नेपाली नागरिकका हकमा भने दुई वर्षसम्म परिचयपत्र लागू हुनेछ। परिचयपत्र निश्चित शुल्क र प्रक्रिया पूरा गरेर पुनःनविकरण गर्न सकिन्छ।
मन्त्रीको छोरीलाई प्राथामिकता !
सरकारले एनआरएन अध्यक्ष देवमान हिराचनलाई पहिलो गैरआवसीय नेपाली परिचयपत्र उपलब्ध गराएर यसको सुरुवात गरे पनि उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाकी छोरीले त्यसअघि नै यस्तो परिचय पत्र लिइसकेकी छन्।
मन्त्री कोइरालाले आफ्नी छोरी मेरिना रोजा जोष्ठलाई ‘नेपाली मुलका विदेशी नागरिक’ को परिचयपत्र दिएकी हुन्। ‘मन्त्रीको छोरीको नाताले उनले प्राथामिकता पाएकी हुन्’ मन्त्रालयका एक अधिकारीले नागरिकसँग भने।
सुजाता र उनका जर्मन श्रीमानकी छोरी मेरिना नेपाली मुलकी जर्मन नागरिकको हैसियतमा परिचयपत्र लिएकी हुन्। उनले बंगलादेशी नागरिक रुवेल चौधरीसँग विवाह गरेकी छन्।
२०६६, फागुन ३ गते।
Leave a Reply