स्रोत: नागरिक
-मिथिलेश यादव
लहान। प्रत्येक वर्ष ५० हजारभन्दा बढी आँखा रोगीको शल्यक्रिया गरेर लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल शल्यक्रियाको आधारमा विश्वकै दोस्रो ठूलो आँखा अस्पताल बनेको छ। सन् २००९ मा अस्पतालले ३ लाख ३८ हजार ४ सय ३४ बिरामीको आँखाको उपचार गरेको छ।
बिहीबार २७ औं वार्षिकोत्सव कार्यक्रममा अस्पतालका कार्यक्रम निर्देशक डा. अल्बे्रच्ट हेनिङले प्रतिवेदन प्रस्तुत गर्दै यो अस्पताल सात वर्षदेखि विश्वको दोस्रो ठूलो आँखा अस्पताल बन्न सफल भएको बताए।
डा. हेनिङका अनुसार यो अस्पतालले सन् २००२ मा ५० हजार ६४ जना आँखा रोगीको सफल शल्यक्रिया गरी विश्वको दोस्रो ठूलो अस्पताल बन्न सफल भएको थियो। सन् २००९ मा अस्पतालका शाखा केन्द्रहरूमा समेत गरी ७६ हजार ३ सय ५७ जनाको सफल शल्यक्रिया गरिएको थियो।
अस्पतालका प्रशासक सुधीर ठाकुरका अनुसार स्थापनाको २७ वर्षभित्र अस्पतालमा ३० लाख ९५ हजार ९ सय ३९ जनाको आँखाको उपचार तथा ७ लाख ६ सय ९२ जनाको आँखाको सफल शल्यक्रिया भइसकेको छ।
शल्यक्रियाका आधारमा भारत तामिलनाडूको मदुराईस्थित अरबिन्द आँखा अस्पताल विश्वकै सबैभन्दा ठूलो रहेको अस्पतालले जनाएको छ।
सगरमाथा अस्पतालले गत वर्षको जुलाई ९ देखि सो अस्पतालले इच्छाएका व्यक्तिहरूबाट मरणोपरान्त आँखाको नानी संकलन कार्य थालेको छ। हालसम्म मरणोपरान्त आँखाको नानी दान गर्ने लालुदेवी चौधरी, मदन झा, बाबुलाल चौधरी, मनकलाल चौधरी, कुञ्जीलाल चौधरी र जितेन्द्र महतोको परिवारलाई वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको थियो।
२७ वर्षअघि २०३९ साल माघ २९ गतेदेखि लहानस्थित रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पतालको एउटा कक्षमा आँखा उपचार सुरु गरिएको थियो। दातृ संस्था क्रिस्टोफेल ब्लाइन्डेन मिसन (सिबिएम) ले नेपाल नेत्र ज्योति संघसँग समन्वय गरी सेवा सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ।
स्थानीय चौधरी परिवारका सरोवरलाल चौधरी, छविलाल चौधरी र रवीन्द्रलाल चौधरीले अस्पतालका लागि लहानमा साढे सात बिघा र आन्तरिक स्रोतका लागि सप्तरीको हर्दियामा साढे १५ बिघा जग्गा हस्तान्तरण गरेपछि २०४२ सालमा सगरमाथा चौधरी आँखा अस्पतालको नाममा सेवा सुरु गरिएको थियो।
नेपाल नेत्र ज्योति संघ सिरहाका सभापति तथा दाता परिवारका सदस्य पद्मनारायण चौधरीको अध्यक्षतामा भएको समारोहमा समाजसेवी तथा उद्योगपति परमेश्वर मुरारका, डा. सञ्जय सिंह, डा. पशुपति चौधरी, शिक्षाविद् विश्वनाथ महतोलगायतले अस्पतालले पुर्याएको योगदानको चर्चा गरे।
२०६६, माघ २९ गते।
Leave a Reply