स्रोत: नागरिक
-दीपक दाहाल
नियन्त्रण गर्न एकसाता लाग्ने, स्वाइन् फ्लुभन्दा खतरा।
पोखरा उपमहानगरपालिका घारीपाटन भन्ने स्थानमा बर्ड-फ्लु (H5N1) भेटिएको छ। उपमहानगरपालिकाको वार्ड नं ७ स्थित कृषक ज्ञानबहादुर खड्काको घरमा पालिएको हाँस र कुखुराको नमूनामा H5N1 भेटिएको पुष्टी सरकारले गरेको हो।
कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा.हरि दाहालले बेलायतस्थित वेलव्रिज ल्याब्रोटोरिज नामक प्रशोगशालामा परीक्षणका लागि पठाएका ६ वटा नमूना मध्ये ६ वटामा नै H5N1 भेटिएको रिपोर्ट बुधबार आइपुगेको जानकारी दिए।
गत माघ ५ गते खड्काको घरमा रहेका १ सय १५ कुखुरा मध्ये सय वटा र ४० मध्ये ३८ हाँस मरेका थिए। सो पश्चात् शीघ्र (Rapid test) परीक्षणका क्रममा क्षेत्रीय र केन्द्रीय प्रशोगशालाले को पुष्टि गरेको थियो। ‘नेपालमा एच५ सम्म मात्रै परीक्षण हुन्छ, बेलायतमा भएको परीक्षणका क्रममा H5N1 पुष्टि भयो।’ प्रवक्ता दाहालले भने। नेपालमा बर्ड फ्लु देखापरेको यो तेस्रो पटक हो। गतबर्ष जनवरी १६ मा मेची नगरनगरपालिकामा र फेव्रुअरी १९ मा शरामती भन्ने स्थानमा बर्ड-फ्लु भेटिएको थियो।
बर्ड फ्लु भएको पुष्टि सँगै कृर्षि तथा सहकारी मन्त्रालयले सो क्षेत्रलाई चार किल्ला छेकेर संकटग्रस्त क्षेत्र घोषणागरी नियन्त्रण अभियान चलाउन प्रस्ताव लगेको थियो। मन्त्री परिषद्ले सहकारी मन्त्री मृगेन्द्रकुमार सिंह यादबको अध्यक्षतामा गृह, अर्थ, स्वास्थ्य र कृषि मन्त्रालयका सचिव सदस्य रहेको समिति गठन गरी नियन्त्रणको लागि आवश्यक काम गर्न आदेश दिएको छ। मन्त्री परिषद् स्रोतका अनुसार भोली विहान बस्ने सो समितिको बैठकले प्राविधिक समिति गठन गर्ने र सो समितिको सिफारिशको आधारमा आवश्यक परे संकटग्रस्त क्षेत्र घोषण गर्ने भन्दै समिति गठनको निर्णय गरेको थियो।
पशु स्वास्थ्य एवं मानव स्वास्थ्य क्षेत्रका उच्च अधिकारीले सरकारले संकटग्रस्त क्षेत्र घोषणा नगरेर गल्ती गरेको बताएका छन्। स्वास्थ्य मन्त्रालयका नाम उल्लेख गर्न नचाहने एक अधिकारीका अनुसार व्यापारीले फाइदाका निम्ति रातारात कुखुरा एवं हाँसजन्य वस्तु बाहिर लैजान सक्ने बताए। दाहालले संकटग्रस्त क्षेत्र घोषणा गर्ने/नगर्ने सरकारले निर्णय गर्ने भन्दै तत्कालै औषधी उपकरण र नियन्त्रण कक्ष हटलाइन सेवा शुरू गरिने जानकारी दिए।
प्रवक्ता दाहालले बर्डफ्लु नियन्त्रणमा लिन कम्तिमा ५ देखि ७ दिन लाग्ने बताए। क्षेत्रमा कम्तिमा १० हजार पक्षी मार्नुपर्ने अवस्था रहेको प्रवक्ता दाहालले बताए। कुखुराका खोर, औजार सबैको निर्मलीकरण गर्नुपर्छ। सो क्षेत्रलाई नियन्त्रणमा लिएर पुर्णरूपमा निर्मलीकरण गरिने मन्त्रालयले जनाएको छ। बर्ड फ्लु नियन्त्रण कार्यआदेश २०६४ अनुसार कुखुरा धनीले क्षतिपुर्ति पाउँने छन्। फूलपार्ने कुखुराको प्रतिगोटा ५ सय, अन्यको १ सय र अन्डाको ५० पैसा क्षतीपुर्ति पाउँनेछन्। नियन्त्रणको लागि केही टोली पोखरामा नै रहेको र थप टोली भोली जाने भएको छ। प्रत्येक टोलीमा दश सदस्य रहनेछन्।
नियन्त्रणमा संलग्नले कम्तिमा २१ दिन छुट्टै बस्नुपर्छ। स्वास्थ्य सेवा विभाग अर्न्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुखुरा मार्ने प्रविधिक टोलीका सदस्यको नियमित स्वास्थ्य जाँच एवं मानवमा हुनसक्ने सक्रमण रोक्ने अभियान चलाउने आयोजनाका प्रमुख डा.श्यामसुन्दर मिश्रले बताए। ‘पोखरा पर्यटकीय क्षेत्र भएकोले मानिसको जमघट बढी हुने भएकोले उच्च सर्तकता जरूरी हुन्छ।’ मन्त्रालयका प्रवक्ता दाहालले भने।
पोखरामा यसअघि चिसोको मौसम भएकोले सिजनल फ्लु, सो क्षेत्रमा स्वाइ फ्लु पनि रहेकोले अब बर्ड फ्लु पनि थपिएपछि उच्च सर्तकता जरूरी भएको फ्लुविज्ञ डा.मानसकुमार बनर्जीले बताए। बनर्जीले बर्डफ्लु भेटिएको क्षेत्रमा मानिसको आवत जावत कम गराएर शुरूमा ५० घर वरपर विरामीको खोजपड्ताल गर्नुपर्ने बताए। ‘५० घर वरपर विरामी नभेटिए सय घरसम्म खोज्नुपर्छ वरपरका अस्पतालमा पनि बिरामीको फ्लोको विशेष निगरानी गर्नुपछ।’ डा.बनर्जीले भने। स्वाइन फ्लुले मानिसको माथिल्लो नलीको इफेक्सन गराउँने भएकोले मृत्युदर कम छ। तर, बर्ड फ्लुको संक्रमण तल्लो नलीमा पनि हुने भएकोले मृत्युदर अत्यन्त्रै बढी भएको चिकित्सकहरूले बताएका छन्। बर्ड फ्लु संक्रमित पक्षीबाट सर्छ यो मान्छेबाट मान्छेमा सरेको उदाहरण भेटिएको छैन्।
अकस्मात् धेरै छेर्ने फूल पार्न बन्द हुने टाउको सुनिने दाना खान छोड्ने तिर्खाउने सेतो छेर्ने र पक्षघात हुने हुन्छ। मानिसमा ज्वरो आउने खोकी लाग्ने घाँटी दुख्ने र केही फोक्सोमा गम्भीर संक्रमण भई निमोनिया पनि हुन्छ। बनर्जी सिजनल फ्लुको मौसम र स्वाइन र बर्ड फ्लु भएकोले भीडभाडमा नजान, हात धुने, एक मिटर परै बस्ने र नाक छोप्ने जस्ता पूर्वसावधानीका उपाय अपनाउन सुझाव आवश्यक भएको बताए।
Leave a Reply