स्रोत: नयाँ पत्रिका
-लक्ष्मण खड्का
दोलखा। खुला सिमानाको फाइदा उठाउँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको लामाबगर नाकाबाट तिब्बती शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको छ । गत साउन महिनायता दोलखामा मात्र १९ जना तिब्बती शरणार्थी पक्राउ परेका छन् ।
जिल्लाको बराङ गाविसबाट १० जना पक्राउ परेको एक साता नबित्दै थप दुई तिब्बती शरणार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । टि्रपर चढेर दोलखा सदरमुकाम चरिकोटतर्फ आउँदै गरेका दुई शरणार्थीलाई प्रहरीले जिल्लाको लामिडाँडा-६ स्थित बन्चरे भन्ने स्थानबाट पक्राउ गरेको हो । एक साताअघि मात्र प्रहरीले बराङ गाविसबाट दुई महिलासहित १० जना तिब्बती शरणार्थीलाई पक्राउ गरी अध्यागमन विभागमा बुझाएको थियो ।
गत साउनमा पनि लामाबगर नाका हुँदै नेपाल प्रवेश गरेका सात तिब्बती पक्राउ परेका थिए । नेपाल र तिब्बतको पुरानो नाका लामाबगरका सीमा प्रशासन, प्रहरीचौकीलगायत कार्यालय द्वन्द्वका वेलादेखि हटाइएपछि अहिले लामाबगर नाकामा नेपाली पक्षको उपस्थिति छैन । त्यसैले पनि लामाबगर नाका हुँदै नेपाल प्रवेश गर्ने तिब्बतीको संख्या दिन प्रतिदिन बढ्दो छ । खुला सिमानाका कारण गौरीशंकर संरक्षित क्षेत्रबाट अमूल्य जडिबुटी र वन्यजन्तुको चोरीसिकारी पनि हुँदै आएको छ । खुला सिमानाको मौका छोपेर रक्तचन्दन तस्करले समेत केही महिनाअघि यही मार्ग हुँदै तिब्बतसम्म चन्दन तस्करीको प्रयत्न गरेका थिए ।
दोलखाको लामाबगर, बिगु, गौरीशंकर र गाविसको सिमाना तिब्बतसँग जोडिएको छ । यही नाका हुँदै चिनियाँ व्यापारिक सामान राजस्व छलेर दोलखा भित्र्याउने क्रम पनि बढेको छ । तिब्बती नागरिक दोलखाको लामाबगर नाकाबाट नेपाल प्रवेश गरी रामेछापको मन्थली, सिन्धुली हुँदै तराईका जिल्ला पार गरी भारतसम्म पुग्ने गरेका छन् ।
चीन सरकारले नेपाल सरकारसमक्ष पटक-पटक सीमावर्ती क्षेत्रमा चीनविरोधी गतिविधि हुन नदिन र सीमा सुरक्षा व्यवस्था कडा पार्न ध्यानाकर्षण गराउँदै आएको छ । स्रोतका अनुसार लामाबगर नाकाबाट नेपाल प्रवेश गर्ने कतिपय शरणार्थी प्रहरीपोस्टको आँखा छल्दै काठमाडौंसम्म पुग्ने र त्यहाँ चीनविरोधी गतिविधि सञ्चालन गर्ने गरेका छन् ।
अहिले तिब्बत र नेपाली सिमाना लामाबगर नाकाबाट करिब ६ किलोमिटरयता मात्र नेपाल प्रहरीको उपस्थिति छ । लामाबगर गाविसको गोगरमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा २२ जना र लामाबगरमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जनाको प्रहरीटोली रहे पनि प्रभावकारी सुरक्षा दिन सकिरहेको छैन । सीमा क्षेत्रमा कुनै घटना घटे यी दुवै चौकीमा रहेका प्रहरीटोलीलाई कम्तीमा १० घन्टा पैदल हिँड्नुपर्ने अवस्था छ । यद्यपि गोंगर प्रहरीचौकी भने माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरक्षार्थ स्थापना गरिएको हो । त्यहाँ रहेको प्रहरीले सीमा सुरक्षा र तिब्बतविरोधी गतिविधिलाई निस्तेज गर्न नसक्ने स्वयं प्रहरी स्वीकार गर्छन् ।
हालै मात्र दोलखा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी नायब उपरीक्षक धीरजप्रताप सिंहले जनशक्ति कम भएकाले प्रभावकारी रूपमा सुरक्षाको कामकारबाही अघि बढाउन नसकिएको स्वीकार गरे । सिंहका अनुसार दुवै प्रहरीचौकीमा जनशक्ति थप गर्न र व्यवस्थित गर्नका लागि प्रहरी प्रधान कार्यालयमा माग गरिसकिएको छ । प्रहरीले लामाबगरका दुवै प्रहरीचौकीको जनशक्ति बढाएर कम्तीमा ६० पुर्याउन प्रधान कार्यालयमा प्रस्ताव गरेको छ । लामाबगर नाका र तिब्बतसँग जोडिएका चारवटै हिमाली गाविसमा तिब्बतविरोधी आन्दोलन हुन नदिन प्रहरी उच्च सतर्क रहेको प्रनाउ सिंहले जानकारी दिए ।
तिब्बतसँगै सीमा जोडिएको बिगुमा ११ जना प्रहरी बल सहितको चौकी रहे पनि कामयावी हुन सकिरहेको छैन । गौरीशंकर र आलम्पु गाविसमा भने अझैसम्म प्रहरी युनिट खडा गरिएको छैन ।
२०६६, माघ १६ गते।
Leave a Reply