स्रोत: नयाँ पत्रिका
-प्रकाश लम्साल
बारा। बारामा सुरक्षा स्थिति नाजुक हुँदा अवैध हातहतियार बोकेर हिँड्ने क्रमले व्यापकता पाएको छ । अपराधीहरूले मात्र होइन, आमनागरिकले समेत आत्मसुरक्षाका लागि अवैध हतियार बोक्न थालेका छन् ।
अपहरण, धम्की, चन्दा असुली र हत्याको शृंखला बढ्दै गएपछि सुरक्षा स्थिति नाजुक बनेको हो । सशस्त्र भूमिगत संगठन र आपराधिक कार्यमा संलग्नबाहेक आमनागरिक, राजनीतिक दलका नेता-कार्यकर्ता तथा व्यापारीले घरमा हतियार राख्न र बोकेर हिँड्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पछिल्लो समय जिल्लामा धमाधम हातहतियार सहित थु्रपै व्यक्ति पक्राउ पनि परेका छन् ।
राजमार्गमा मात्र नभई जिल्लाभरि नै अवैध हतियार बोकेर हिँड्ने गरिएको स्विकार्छन्, प्रहरी निरीक्षक विज्ञान बस्नेत ।
‘सुरक्षास्थिति सामान्य नभएर पनि हो,’ बस्नेतले भने, ‘हामी नियन्त्रणका लागि प्रयासरत छौँ ।’
केही दिनअघि प्रहरीले जिल्लाको राजमार्गमा पर्ने पथलैयामा करैयाका तीनजनालाई अमेरिकन पेस्तोल एक थान र नलकटुवा एक थानसहित पक्राउ गरेको थियो । त्यस्तै, अमलेखगन्जमा मोटरसाइकल दुर्घटना भई सडकमै बजारिँदा सिमराका सुमन लामाको शरीरबाट चाइनिज पेस्तोल उछिट्टएिको र बरामद भएको अमलेखगन्ज प्रहरीले जनाएको छ । त्यस्तै, जिल्ला प्रहरीले जिल्लाका गाउँबाट केही दिनयता कुडुवा गाविसका केही व्यक्तिलाई साना नलकटुवा पेस्तोल गोलीसहित पक्राउ गरेकोे छ ।
केही दिन यता मात्र प्रहरीले करिब एक दर्जन व्यक्ति र हतियार पक्राउ गरेको बताउँदै निरीक्षक बस्नेतले उनीहरूको अनुसन्धान भइरहेको जानकारी दिए । जग्गाको साँध, कुलो मेलामा हुने झगडादेखि बस्तुले अन्न खाएको विवादमा समेत दोहोरो फाइरिङ हुने गरेको जिल्ला प्रहरीको तथ्यांकले देखाएको छ ।
हतियार बोक्नेको तुलनामा पक्राउ पर्नेको संख्या न्यून रहेको दाबी गर्दै नागरिक समाज सिमराका अध्यक्ष पूर्ण चिमरिया भन्छन्, ‘बारामा नागरिक, नेता, व्यापारीदेखि पत्रकार कोही पनि सुरक्षित छैनन् । यस्तो भयाभह स्थिति हुँदासमेत प्रहरी मौन छ ।’
फितलो कानुन, अपराधीलाई राजनीतिक संरक्षण, अपराधी र प्रहरीको मिलेमतो तथा सीमानजिकै भारतमा साना हतियार सजिलै उपलब्ध हुनेजस्ता कारणले हतियार बोक्नेको संख्या बढेको यसअघि नै जिल्लाका विभिन्न संघसंस्थाले प्रशासनमा बुझाएको ज्ञापनमा उल्लेख गरिएको छ ।
जिल्लाका सुरक्षा प्रमुख तथा प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम भन्छन्, ‘हामीसँग पर्याप्त स्रोत-साधनको कमी भएरै हो । प्रहरी जनशक्तिको अभाव पनि एउटा कारण हो ।’ अवैध हतियार बोकेर हिँड्ने आफूले सुनेको उल्लेख गर्दै अधिकारी गौतमले चेकजाँच कडा बनाउन प्रहरीलाई निर्देशन दिइसकेको बताए । गत महिना सदरमुकाममै हतियारसहित प्रहरीले पक्राउ गरेको दुई व्यक्तिलाई छुटाउन पूरै गाउँले कलैया आई सदरमुकाम बन्द गराएपछि प्रहरीले बाध्य भई उनीहरूलाई छाडेको थियो ।
जिल्ला प्रशासन कार्यालय बाराले साना पेस्तोलको अनुमति एक दशक अघिदेखि कसैलाई नदिएको जनाएको छ ।
कार्यालय स्थापनादेखि आठ सय ७३ थान हातहतियार अनुमति दिइएको लेखा अधिकृत रामसेबक साहले जानकारी दिए । प्रचलित कानुनमा अवैध हातहतियार राख्ने वा ओसार-पसार गर्नेलाई तीन वर्षदेखि ६ वर्षसम्म कैद वा ६० हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ ।
२०६६ माघ ६ गते।
Leave a Reply