स्रोत: ई-कान्तिपुर
-पूर्ण विके
तनहुँ। काउली भनेको बाघ, ताप भनेको कुखुरा, भालु भनेको शाही, वुक्ता भनेको कपडा आग भनेको आउनुहोस् …जस्ता कुसुण्डा भाषालाई खस भाषामा उल्था गर्दै राजामामा कुसुण्डाले मंगलवार भने, ‘वोल्ने मान्छे नहुँदा आफ्नै भाषा वोल्न विर्सिसकिएछ ।’
आमा विष्णुमायाको मृत्युपछि दोहोरो कुरा गर्ने अर्का कुसुण्डा नहुँदा कुसुण्डा भाषा वोल्न विर्सिएको राजामामाले वताए । उनी मुलुक कै कुसुण्डा भाषा वोल्ने एक्ला हुन् । उनी हाल व्यास १ तालघरेमा वस्दै आएका छन् । ‘भाषा वोल्न छोडेको पनि करिव २१ वर्ष भै सक्यो । के सम्झन सकिन्थ्यो र ?’ राजामामाले आमा जिवित छँदा कुसुण्डा भाषामा दोहोरो कुरा गर्ने गरेको वताउँदै भने, ‘आमाको मृत्युपछि भाषा वोल्ने मान्छे नै भएनन् । कोसँग वोल्ने ?’
राजामामाले श्रीमती ईन्द्रामायालाई केही भएपनि कुसुण्डा भाषा सिकाउने गरेको वताए । उनले एक वर्ष अघि जन्मिएको छोरी सिमान्तालाई आफ्नै भाषा वोल्न सिकाई कुसुण्डाभाषी परिवार वनाउन मन लागेको सुनाए । ६० वर्षे राजामामाले भने, ‘मरिएन भने छोरीलाई कुसुण्डा भाषा सिकाउने धोको छ ।’ कुसुण्डा भाषा लोप हुनेमा चिन्ता रहेको उनले वताए । ‘कुसुण्डा भाषा संरक्षणमा कसैले चासो दिएनन् ।’ राजामामाले आँफु मरेपछि आफ्नो भाषा पनि मर्छ की भन्ने चिन्ता लागेको वताए ।
नेपालका अन्य जिल्लामा पनि कुसुण्डा छन् भनेको सुनेका राजामामाले मुलुकमा आफु मात्रै एक्ला कुसुण्डा भएको सुनाए । उनले कुसुण्डा पहिचान गर्न केही वर्ष पहिले दाङ्ग गएको वताउँदै भने, ‘तर उनीहरुलाई कुसुण्डा भाषाको ज्ञानै रहेनछ । त्यसैले उनीहरुलाई कसरी कुसुण्डा भन्ने ?’
श्रीमती ईन्द्रमायाले आँफुले राजामामासँग कुसुण्डा भाषा सिक्न प्रयास गरेको वताईन् । उनले भनिन्, ‘भाषा सिकाउन खोज्नुहुन्छ । तर नवुझेर पुन सोधे रिसाउँने स्वभावले गर्दा सिक्न सकेको छैन ।’ उनले आँफ्नो परिवारलाई कुसुण्डा भाषा वोल्ने परिवार वनाउने ईच्छा रहेको वताईन् ।
आदिवासी जनजाति जिल्ला समन्वय परिषद तनहुँका पूर्व अध्यक्ष हरिसिंह गुरुङले राजामामा वाहेक कुसुण्डा भाषा वोल्ने मान्छे नभएकाले कुसुण्डा भाषा लोप हुँदै जाने खतरामा रहेको वताए । उनले भने, ‘राजामामाले पहिला पहिला आमासँग आफ्नै भाषा वोल्थे । तर अहिले कोसँग वोल्ने ?’ गुरुङले राजामामा जिवितै रहँदा भाषा संरक्षणमा राज्यले जोड दिनुपर्ने वताए ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष जितपाल किराँतले राजामामा विश्वमा नै कुसुण्डा भाषाको ज्ञान भएका एक्ला भएको वताए । किराँतले कुसुण्डा भाषा लोप हुने खतरा रहेकोले संरक्षण गर्ने वातावरण राज्यले गराउनु पर्ने वताए । उनले भाषा संरक्षणमा प्रतिष्ठानको सकारात्मक पहल रहेको वताउँदै भने, ‘कुसुण्डा भाषा संरक्षणको लागि आवश्यक पहल हामी पनि गर्ने छौं ।’
प्रतिष्ठानले नेपालमा १ सय ६४ जना कुसुण्डा रहेपनि राजामामा कुसुण्डा नै सक्कली भएको जनाएको छ । घुमन्ते जिवन विताउदै जिविका चलाउँदै आएका राजामामालाई प्रतिष्ठानले विवाह गरिदिई व्यास ५ डिहिगाँउमा एक रोपनी क्षेत्रफलमा तीनकोठे घर निर्माण गरिदिएको छ । हाल राजामामाको परिवारमा तीन सदस्य रहेका छन् ।
२०६६ पौष २८ गते।
Leave a Reply