स्रोत: ई-कान्तिपुर
-डीआर पन्त
डडेल्धुरा। लालीगुराँस कहिले फुल्ला ? सजिलै जवाफ मिल्छ – फागुनको अन्तिम सातापछि ।तर, डडेलधुरामा यो वर्ष पुसको पहिलो सातादेखि नै ढकमक्क लालीगुराँस फुल्न थालेपछि सबै छक्क परेका छन् ।
‘यो वर्ष, न हिउँ पर्यो न त चिसो नै बढ्यो, तर पुसमै लालीगुराँस फुल्यो,’ कार्यालयनजिकै ढकमक्क फुलेको सामुदायिक वनतर्फ देखाउँदै सहायक वन अधिकृत राजेश शाहले भने, ‘यो त अचम्मै भयो ।’ बेमौसममा फुलेको लालीगुराँस हेर्न स्थानीय मात्र होइन, जिल्ला बाहिरका व्यक्तिहरूको पनि भीड लाग्ने गर्छ ।
‘चार वर्षदेखि चिसो घटिरहेको छ, यो वर्ष हिउँ पनि परेन,’ मौसम विभागका पूर्वअधिकारी दिगम्बर मिश्रले भने, ‘यसपालि त आश्चर्यै भयो पुसमै गुराँस फुलिसक्यो ।’ यो जलवायु परिवर्तनको परिणाम हुनसक्ने उनले बताए । मिश्रका अनुसार पुसमा १० डिग्री सेल्सियस भन्दा माथि नजाने डडेलधुराको अधिकतम तापक्रम अहिले २७ डिग्री सम्म पुगेको छ ।
‘हरेक वर्ष हिउँ हेर्न भारतीय पर्यटक माघतिर डडेलधुरा आउँछन् । यो वर्ष हिउँ परेन, अब बेमौसममा फुलेका लालीगुराँस देखाउनुपर्ला,’ पर्यटन विकास तथा वातावरण केन्द्रका अध्यक्ष दान भण्डारीले भने, ‘गत वर्ष पनि असमयमै पाकेको काफल खुवाएका थियौं ।’
जिल्ला वन कार्यालयको सहयोगमा केही वर्षदेखि गुराँसको जुस बनाएर व्यापार गर्दै आएका डडेलधुराका महिलाहरू बेमौसममै फुलेको गुराँस देखेर चिन्तित छन् । ‘गत वर्ष असमयमै पाकेको काफलजस्तै हुने त होइन ?’ स्थानीय महिला देवकी दमाईले भनिन्, ‘त्यो काफलको जुस नै बनाउन सकिएन, गुराँसको पनि यस्तै भयो भने त डुबिन्छ ।’
२०६६ पौष २३ गते।
Leave a Reply