स्रोत: कान्तिपुर
-दीनानाथ शर्मा
फरिद जाकरिया सुपरिचित अमेरिकी लेखक तथा राजनीतिक विश्लेषक हुन् । अमेरिकाबाट प्रकाशित हुने न्युजविक साप्ताहिकका सम्पादक, अन्तर्राष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका सञ्चालक पनि । जाकरियाले धेरै किताब लेखेका छन् । तीमध्ये स्वतन्त्रताको भविष्य ‘द फ्युचर अफ फ्रिडम’ सर्वाधिक बिक्री हुने किताब मध्ये एक हो । नोबल शान्ति पुरस्कार विजेता हेनरी किसिन्जर लगायतले उक्त पुस्तकको मुक्तकण्ठले प्रशंसा गरेपछि उनको कद ह्वात्तै बढ्यो ।
मैले केही समय पहिले उनको पछिल्लो पुस्तक अमेरिकी विश्वपछि ‘द पोस्ट अमेरिकन वल्र्ड’ प्रकाशित हुँदै छ भन्ने विज्ञापन पढेको थिएँ र त्यो किताबप्रति मेरो लगाव बढेको थियो । एक दिन एकजना कूटनीतिक नियोगमा काम गर्ने मित्रसित ठमेलको कफी हाउसमा भेट भयो । अध्यक्ष क. प्रचण्डको हालैको चीन भ्रमणबारे समीक्षा भयो । नेपालको भारत र चीनसितको कूटनीतिक सम्बन्ध कस्तो हुनुपर्ला भन्नेबारे कुरा भयो । कुरा तन्किँदै गयो । एसिया र विश्वकै आर्थिक राजनीतिक भविष्यबारे केहीबेर छलफल भयो ।
वर्तमान विश्वको मूल ‘टे्रन’ शक्ति र आर्थिक प्रगति हो । आगामी युगको नेतृत्व एसिया महाद्वीपले गर्नेछ भन्ने कुरा उनले राखे । एउटा युगको नेतृत्व युरोपले गर्यो भने वर्तमान युगको नेतृत्व अमेरिकाले गर्दै आएको छ । वर्तमान युग साम्राज्यवाद र सर्वहाराक्रन्तिको युग हो । साम्राज्यवाद र उत्पीडित राष्ट्र र त्यहाँका जनताबीचको अन्तरविरोधले विश्वलाई नयाँ समाधानको माग गरेको छ । ऐतिहासिक भौतिकवादी हिसाबले अब धेरै समय अमेरिकाले नयाँ युगको नेतृत्व गर्न सम्भव छैन । अबको पालो एसियाली, अपि|mकी, लेटिन अमेरिकी देशको हो भन्ने बहस जाकरियाले पनि चलाएका छन् । छलफलका दौरान ‘संसारको सबभन्दा ठूलो जनसंख्या, भूगोल र स्रोतसाधन सम्पन्न देश चीनले विगत आधा शताब्दीमा गरेको आर्थिक विकासले संसारलाई प्रभावित गर्दै लगेको छ । त्यस्तै रूस, जापान, कोरिया, भारतलगायतका देशहरूले हरक्षेत्रमा गरेको विकासले पनि त्यसको पुष्टि गर्छ भन्ने कुरा विश्वका आर्थिक तथा राजनीतिक विश्लेषकहरूको निष्कर्ष छ । फरिक जाकरिया र उनको पछिल्लो प्रकाशन
‘द पोस्ट अमेरिकन वल्र्ड’ पुस्तकमा यो कुराको राम्रो विश्लेषण छ’ भन्ने चर्चा पनि चलेको थियो ।
एकदिन फुर्सद निकालेर पुस्तक किन्न गएं । केही पुस्तक किनें । जाकरियाको किताबलाई पहिलो प्राथमिकतामा दिए । किताब अद्योपान्त पढें । मैले यहाँ उनको किताबबारे विस्तृत टिप्पणी गर्न गइरहेको छैन । मैले पढ्दै जाँदा किताबको १ सय ५४ पृष्ठको अन्तिम प्याराग्राफमा गम्भीर र आपत्तिजनक प्रसंग भेटें । एउटा स्वतन्त्र सार्वभौम राष्ट्रको स्वाभिमानी नेपालीलाई उनको त्यो लेखाइले गहिरो चोट पुर्यायो । व्यवस्थापिका संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसलाई गम्भीर रूपमा उठाए । त्यो कुरा गृहमन्त्रीमार्फत संस्कृतिमन्त्रीसम्म पुगेछ र राष्ट्रपतिको ध्यानाकर्षण गराएको कुरा पनि जानकारी भयो । जाकरियाको बौद्धिक क्षमता र राजनीतिक विश्लेषणको चर्चा र प्रशंसा भइरहेको बेला आफ्नो महत्त्वपूर्ण ग्रन्थमा विषवाक्यको प्रयोग गरेर सम्पूर्ण देशभक्त नेपालीको मुटुमा मात्र होइन, करोडौं बौद्धमार्गीहरूको मुटुमा तीर रोप्ने काम उनले किन गर्नुपरेको होला ?
जाकरियाले ‘हिन्दुविश्व दृष्टिकोण’ भन्ने उपशीर्षक अन्तर्गत लेख्छन्, ‘बुद्ध भारतीय थिए र बुद्धिजम भारतमा पत्ता लगाइएको थियो तर त्यो देशमा वास्तवमा कुनै बुद्धिस्ट छैनन् । बुद्ध नेपाली थिए र नेपालमा जन्मेका थिए । बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्छ । लुम्बिनी कुनै युगमा पनि विदेशीको अधीनमा थिएन । बरु इशापूर्व ६ सय २५ वर्ष पहिलेदेखि नै गोरखपुरभन्दा पर कुशीनगर (जहाँ बुद्धको अन्तिम समाधि छ) सम्म नेपाल फैलिएको थियो भन्ने कुरा अध्ययन र अनुसन्धानको विषय बनेको छ ।
प्रसिद्ध मौर्य सम्राट अशोक इपू २४९ मा लुम्बिनीको तीर्थयात्रा गरेका थिए । उनले ‘हिन्द बुद्ध जाते शाक्यमुनिति’ (यहाँ शाक्यमुनि बुद्ध जन्मनुभएको थियो) भन्ने शिलालेखसहितको प्रसिद्ध अशोकस्तम्भ खडा गरे, जुन ज्युँदो प्रमाणको रूपमा हालसम्म संसारसामु खडा छ । बुद्धको जन्मस्थल लुम्बिनीलाई संयुक्त राष्ट्र संघले सन् १९९७ मा विश्वसम्पदा सूचीमा सूचीकृत गरेको कुरा विश्वलाई थाहा छ । राष्ट्रसंघको छहारीमुनि घरजम गरेर संसारको महत्त्वपूर्ण मिडिया न्युजविक र सीएनएनको जिम्मेवार व्यक्तिलाई बुद्ध लुम्बिनीमा जन्मेका हुन् र लुम्बिनी नेपालमा पर्छ भन्ने कुरा जानकारी हुनै सकेन भनेर कसरी विश्वास गर्ने ?
बुद्धबारे जाकरियाले त्यति राम्रो जानकारी नभएर यो लेखेका हुन् ? हामी त्यो मान्न तयार छैनौं ? सबै धर्मको अद्योपान्त व्याख्या विश्लेषण गर्न सक्ने व्यक्तिले बुद्धको जन्मस्थलबारे अनभिज्ञ छन् भन्न मिल्दैन । जाकरिया भारतीय मूलका अमेरिकी नागरिक हुन् । केही भारतीयहरू बुद्ध भारतमा जन्मेको भनेर जानीबुझी बेइमानीपूर्ण प्रचारबाजी गरिरहेका छन् । भारतमा नक्कली लुम्बिनी छ भनेर प्रचार गर्ने बेइमानी हुँदै आएको कुरा हामी सबैलाई थाहै छ । स्कुल कलेजको पाठ्यक्रममा बुद्ध भारतमा जन्मेका थिए, भारतीय हुन् भनेर अबोध बालबालिकालाई बेइमानीपूर्ण झुठ शिक्षा दिएर कलिलो दिमागलाई प्रदूषित गरेका छन् । यो भारतीय शासकवर्गको बलमिचाइँ र विस्तारवादी हर्कतको भद्दा अभिव्यक्ति हो । हामी त्यस प्रकारको हर्कतको भण्डाफोर र विरोध गर्दै आएका छौं ।
त्यसो त नेपालको उच्च शिक्षाको प्राधिकार र आधिकारिक केन्द्र त्रिविविको पाठ्यक्रममा पनि बुद्ध भारतीय थिए भन्ने कुरा घुसाइयो भनेर गत वर्ष बबाल भएको थियो । नेपालमा उच्चशिक्षाको तहसम्म नेपाली आवरणमा भारतीय आत्मा बोकेका व्यक्तिको घुसपैठको नेपालको उच्चशिक्षाको तहसम्म पुगेको हेक्का राख्न नसक्ने त्रिवि प्रशासन र पदाधिकारी बौद्धिक हैसियत र राष्ट्रप्रतिको जिम्मेवारी कति बहन गर्ने रहेछन् भन्ने कुरा प्रस्ट भयो ।
बुद्ध दर्शनका लागि नेपाल आउने लाखौं कोरियन, इन्डोनेसियाली, चाइनिज, जापानी, थाई वा संसारको जुनसुकै देशका बौद्धिस्टहरूले जाखरियाको यो किताब पढेपछि के भन्लान् ? तर जे भए पनि बुद्धबारे कम जानकारी राख्ने बाँकी विश्वमा जाकरियाको त्यो भनाइले ठूलो भ्रम सिर्जना गरेको छ । जान वा अञ्जानमा लेखिएको उक्त वाक्यलाई जाकरियाले फिर्ता लिनुपर्छ । आगामी संस्करणमा त्यसलाई सच्चाउनुपर्छ । उनीजस्तो जिम्मेवार बौद्धिक व्यक्तित्वले नेपाली जनता र विश्वबौद्धिक समुदायसामु गल्ती लेखिन गएकोमा क्षमायाचना गर्नुपर्छ । के फरिद जाकरिया त्यसका लागि तयार होलान् ?
एक सामान्य मानिसको अज्ञानताबाट बुद्ध भारतीय हुन् भन्ने लेखिएको भए त्यसलाई गम्भीर रूपमा उठाउनु पर्ने थिएन । विश्वको चर्चित मिडियाका जिम्मेवार र चर्चित व्यक्तिले आधिकारिक रूपमा विश्वसामु पस्केको गल्तीको पुलिन्दालाई चुपचाप सहन मन मानेन । लुम्बिनी पुगेर फेरि एकपटक पावन भूमिको स्पर्श गरें । लुम्बिनी विकास कोषका पदाधिकारीहरू र कर्मचारीहरूसित समेत यसै विषयमा अन्तरक्रिया भयो । विश्व सम्पदा सूचीमा सूचीकृत गरेको पत्र, जुन प्रवेशद्वारमा ताम्रपत्रमा राखिएको छ, लाई क्यामेरामा कैद गरें ।
अशोकस्तम्भमा लेखिएको पाली भाषाको ऐतिहासिक प्रमाणलाई पनि छाडिनँ । घर फर्केर राहुल सांस्कृत्यायनको दर्शन दिग्दर्शन फेरि एकपटक अध्ययन गरें । उनी पनि बुद्ध जन्मस्थल लुम्बिनी आएका थिए तर उनले लुम्बिनी भारतमा पर्छ भनेर कतै लेखेनन् । अमेरिकी मिडियामा गोएवल्स शैलीको वर्चश्व रहने गरेका छ । अमेरिकी मिडियामा काम गर्ने संसारको जुनसुकै देशमा जन्मेको भए पनि त्यो शैलीको प्रभाव पर्नु स्वाभाविकै हो । गौतम बुद्ध साँच्चै भारतीय हुन् भनेर प्रमाणित गर्न जाकरिया तयार छन् । यदि त्यसो होइन भने र उनी जिम्मेवार लेखक, विश्लेषक र पत्रकार हुन् भने उनले विश्वसामु आफ्नो मिडिया मार्फत भूल स्वीकार गरेर आफ्नो इमानदारी प्रकट गर्ने साहस गर्नुपर्छ । के त्यो सम्भव होला ?
२०६६ पुस १७ गते।
Leave a Reply