स्रोत: कान्तिपुर
-डा. केदार कर्माचार्य
प्रत्येक वर्ष पुस र माघ महिनामा तराई क्षेत्रमा कुहिरोसँग शीत झरिरहने असामान्य चिसो शीतलहर हो । केही दिन अघि मात्र महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा एक अधबैंसे पुरुषको राति सुतिरहेको अवस्थामा ओछ्यानमै चिसोले कठ्यांगि्रएर मृत्यु भएको खबर आयो । गएका वर्षमा पनि तराईका मोरङ, सुनसरी, सप्तरी, झापा आदि जिल्लाका कतिपय स्थानमा शीतलहरको प्रकोपले घरआँगनमा हिँडिरहेका तथा ओछ्यानमा सुतिरहेका अवस्थामा पनि बालबालिका र वृद्धवृद्धाहरूको चिसोले कठ्यांगि्रएर मरेको खबर सञ्चारमाध्यममा प्रकाशित-प्रसारित भएका थिए ।
शरीरको सामान्य तापक्रम ३७ डि.से. हुनुपर्नेमा ३० डि.से.भन्दा कम भएको अवस्थालाई चिकित्साशास्त्रमा हाइपोथर्मिया भनिन्छ । प्रभावित क्षेत्रमा बिहानैदेखि रातिसम्म हप्तौं वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नुका कारण उघि्रएर घाम नलाग्ने हुँदा चिसो अत्यन्त बढी हुन्छ र विशेषगरी बिहान र राति तापक्रम स्वात्तै तल र्झछ । स्मरणीय छ, शरीरमा अक्सिजनको पूर्तिको गतिमा ह्रास हुने तथा कार्बनडाईअक्साइडको मात्रामा असन्तुलन हुँदा शरीरका समस्त अंगहरूमा नकारात्मक असर पर्छ ।
लक्षण तथा चिह्न
शरीरको तापक्रम अकस्मात सामान्यभन्दा कम हुँदा समस्त शरीरमा लगलगी कम्पन हुने ।
मुटु, फोक्सो, मस्तिष्कजस्ता समवेदनशील अंगहरूमा नकारात्मक असर पर्दा मुटुको गति र रक्तचाप कम हुने तथा श्वास-प्रश्वासमा समेत समस्या उत्पन्न हुने ।
शरीरको मांसपेशी कडा हुनेहुँदा हात र खुट्टा अरठ्ठ भई सुचारु रूपले सञ्चालन गर्न असमर्थ हुने, बोल्न खोज्दा शब्द अस्पष्ट निस्कने तथा सोच्ने शक्तिमा समेत ह्रास हुनेहुँदा अरूसँग सहयोग माग्न नसक्ने अवस्था हुन्छ ।
अकस्मात बढी चिसोले गर्दा अचेत हुने तथा अरू कसैले थाहा नै नपाई कठ्यांगि्रएर मृत्यु हुन्छ ।
विशेषगरी कम तौल भएका, अपाङ्ग, समयपूर्व नै जन्मेका, चिसो प्रसव कोठामा जन्मेका तथा संक्रमित शिशुहरूलाई हाइपोथर्मियाले बढी असर पार्ने सम्भावना हुन्छ । ग्रसित बच्चा कम रुन्छ, राम्रोसँग दूध चुस्न असमर्थ हुन्छ तथा हात-खुट्टा कम चलाउँछ ।
शीतलहरबाट ग्रस्त व्यक्तिको मुखको तापक्रमलाई महत्त्वपूर्ण मानिँदैन । गुदद्वारको तापक्रम २५ डि.से.भन्दा कम हुँदा मृत्यु हुने सम्भावना बढी हुन्छ ।
हाइपोथर्मियाबाट बच्चे उपाय
शीतलहरको अवस्थामा घरबाहिर हिँडडुल नगर्ने ।
विशेषगरी नवजात शिशु, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा श्वास-प्रश्वाससम्बन्धी रोगबाट ग्रसित व्यक्तिलाई चिसोबाट बचाउन हरसम्भव प्रयास गर्ने ।
बाक्लो र न्यानो हुने खालका लुगा लगाउने ।
कोठालाई न्यानो बनाइराख्नका लागि दाउरा वा हिटर बाल्ने ।
तातोपानी तथा तातो झोलिलो खानेकुरा खाने- दाल, तरकारी, फलफूलको रस खुवाउने ।
सुत्केरी हुनुअघि आमाको गभर्ासयमा भन्दा शिशु जन्मिसकेपश्चात बाह्य जगतको तापक्रम कम हुनेहुँदा नवजात शिशुमा शीतलहरको नकारात्मक असर पर्न सक्छ । यसो नहोस् भन्नाका लागि बाक्ला र न्याना लुगा लगाउने, बाक्लो ओछ्यान र सिरक प्रयोग गर्ने, न्यानो तातो वातावरण भएको कोठामा राख्नु उचित हुन्छ । तराईका ग्रामीण क्ष्ाेत्रका विशेषगरी आर्थिक रूपले विपन्न समुदायका अधिकांश मानिसहरू न्यानो ओछ्यान तथा सिरक, कम्बलको अभावमा चिसो र ओसिलो भुइँमा सुत्ने गर्छन् । चिसो खप्न नसकी ओछ्यानमा नै ज्यान गुमाएका प्रशस्त उदाहरण छन् । हाइपोथर्मियाको असर नवजात शिशुमा बढी हुन्छ । यदि बच्चालाई यो समस्या भए वयस्कले ग्रसित बच्चालाई आफ्नो शरीरमा टाँसेर राख्नुपर्छ । न्यानो लुगाले बच्चालाई बेरेर आफू नजिक मक्कल वा हिटर राखेर तातो पार्नुपर्छ ।
तुलनात्मक रूपमा धाराबाट प्रवाहित हुने पानीभन्दा ट्यांकीमा सञ्चय गरिएको पानी बढी चिसो हुनेहुँदा जाडो याममा ट्यांकीको पानी एक्कासी टाउको तथा शरीरमा प्रवाहित हुँदा रक्तनली अकस्मात संकुचन भई रक्तप्रवाहमा नकारात्मक असर परेर बेहोश अवस्थामा कतिपय व्यक्ति पक्षाघातबाट पीडित भएका उदाहरण पाइएकाले यस विषयमा सतर्कता अपनाउनु जरुरी छ ।
तराई क्षेत्रमा न्यानो लुगाको विकल्पमा आँगनमा दाउरा, पराल, गुइँठा बालेर सामूहिक रूपमा ‘घुर’ ताप्ने गरिन्छ ।
स्मरणीय छ, कतिपय व्यक्तिले शरीर तताउनका लागि अत्यधिक मात्रामा रक्सी सेवन गर्दा मात लागेपछि बेहोश अवस्थामा कठ्यांगि्रएर ज्यान गुमाउने गर्छन् ।
उपचार
शीतलहरको समस्या आकस्मिक घटना भएकोले यो अवस्थामा प्राथमिक उपचारको महत्त्व अत्यन्त लाभप्रद हुन्छ ।
न्यानोपन नै प्रमुख उपचार भएकोले शीघ्रातिशीघ्र शरीरबाट चिसो लुगा हटाएर ग्रसित व्यक्तिलाई सुख्खा ठाउँमा राखेर चिसोबाट जोगाउने, शरीरलाई सिरक वा तातो कपडाले गुटमुट्याएर न्यानो कोठामा सुताउने, हट वाटर ब्याग -रबरको थैली) मा तातो पानी राखेर वा तातो इँटा-ढुंगालाई कपडाले बेरेर चिसो शरीरको विभिन्न भागमा राख्दै न्यानो पार्ने, तातो पानी, तातो झोलिलो दाल, तरकारी, सुप आदि खाने, धूमपान तथा मदिरापानबाट बच्ने, शरीरको तापक्रम २५ डि.से. हुँदा कृत्रिम श्वास प्रक्रियाका साथै मुटुमर्दन प्रक्रिया अपनाई अक्सिजन तथा अन्य अत्यावश्यक उपचारका लागि यथाशीघ्र नजिकको अस्पताल/स्वास्थ्यकेन्द्रमा पुर्याउने, सामाजिक संघ-संस्थाबाट तथा व्यक्तिगत रूपमा समाजसेवीहरूबाट समेत निःसहाय र गरिब समुदायलाई सिरक, डस्ना तथा अन्य आवश्यक लुगा प्रदान गर्न सकिन्छ ।
कतिपय वयस्क तथा वृद्धवृद्धाहरू वाथ, सन्धिवाथ, आमवाथ आदि समस्याबाट ग्रसित हुँदा बढी चिसो याममा पीडाको बोध खपिनसक्ने हुनाले पनि सर्वसुलभ, कम खर्चिलो तथा अति उत्तम उपहारको रूपमा समाजसेवी संस्था र व्यक्तिले हट वाटर ब्याग प्रदान गरिएमा ग्रसित रोगीहरूले पीडाजनक अवस्थाबाट छुटकारा पाउन सक्नेछन् । स्थानीय स्वास्थ्य संस्था तथा सामाजिक संघ-संस्थाले समेत निःशुल्क वा न्यून शुल्क लिएर हट् वाटर ब्याग वितरण गरे जनस्वास्थ्यको क्षेत्रमा कोशेढुङ्गा सिद्ध हुन सक्नेछ ।
[लेखक छ दशकदेखि स्वास्थ्योपचार क्षेत्रमा संलग्न छन्।]
Leave a Reply