स्रोत: ई-कान्तिपुर
-शंकर आचार्य
पर्सा। संविधान सभा अन्तराष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समिति अन्तर्गतको सीमा निरीक्षण उप समितिले पर्साको सिमा विवाद रहेको बिभिन्न स्थानको निरीक्षण भ्रमण सम्पन्न गरेको छ । आइतबार र सोमबार टोलीले जिल्लाको ठोरी र वीरगन्ज उपमहानगरपालिकाको ईनर्वास्थित रामटोलको निरीक्षण गरेको छ ।
उपसमितिका संयोजक सभासद रामप्रित पासवानको नेतृत्वमा सात सदस्यीय सभासद तथा नापी विज्ञहरु र नापी बिभागका कर्मचारीहरु समेतको टोलीले स्थलगत निरीक्षण भ्रमण गरेको हो । नवलपरासीको सुस्ताबाट आफ्नो भ्रमण सुरु गरेको यो टोलीले रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्ला हुदै झापामा पुगेर आफ्नो भ्रमण सम्पन्न गर्ने सोमबार वीरगन्जमा आयोजित अन्तरक्रियामा उपसमितिका संयोजक सभासद पासवानले बताए ।
उनले उपसमितिले अन्त्यमा आफ्नो प्रतिवेदन समितिमा बुझाउने र सीमा अतिक्रमण बारे राज्यस्तरबाट भारतसँग कुटनीतिक तवरबाट सीमा विवादको समाधान गर्नुपर्ने बताएका थिए । उनले आफू नेतृत्वको टोलीले पर्साको भारतसंग जोडिएको दुई स्थानमा सीमा निरीक्षण गरेको र त्यस क्रममा दुई सीमास्तम्भ हराएको र दशगजा स्पष्ट नभएको पाइएको बताए ।
ठोरी गाबिसमा ४३५ र ४३५-१) नम्बरको मझौला सीमास्तम्भ हराएको र त्यहाँको एक पहाडमा दुबै देशको स्वामित्वको विवाद देखिएको उनले बताए । त्यसैगरी, वीरगन्जको रामटोलमा दशगजा स्पष्ट नभएको, नेपाली भूमिमा नेपाली जनताको घरमा भारतीय सरकारी निकायहरुले भारतीय जनताहरुको घरमा सरह बिभिन्न टाँचाहरु लगाएको, त्यहाँका जनताहरु आफू नेपाली वा भारतीय के हो भनी परिचय खुलाउन नचाहने अवस्था रहेको पासवानले बताए ।
टोलीमा सहभागी नापी विज्ञ पुण्यप्रसाद ओलीले सुस्ता र कालापानीबाहेक नेपालमा सीमा विवाद नरहेको धारणा व्यक्त गरेका थिए । भारत र नेपाल दुबै सुगौली सन्धिको पालना गर्न तयार रहेकाले सीमा विवाद उठने प्रश्नै नआउने उनको तर्क थियो । दुबै मुलुकले सामान्यतया दशगजालाई मानेकै हुदा सीमा विवाद नरहेको उनको भनाई थियो । तर अन्तरक्रियाका सहभागीहरुले ओलीको तर्क गलत रहेको र पर्सा जिल्लामै बिभिन्न स्थानमा भारतिय पक्षले सिमा अतिक्रमण गरी रहँदा सरकार मुकदर्शक भई बसेको आरोप लगाएका थिए ।
सीमा सुरक्षा बल सशस्त्र प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक दीलबहादुर थापाले आफू मातहतका सबै प्रहरी युनिट सीमा सुरक्षाका लागि सक्रिय रहेको र सीमास्तम्भहरुको सर्भे समेत गरी सकेकोमा सम्बन्धित निकायबाट जिल्लाको नक्शा नपाउँदा र सिमाना पनि यकिन नहुदा आफूलाई अन्योल भएको बताएका थिए ।
Leave a Reply