स्रोत: नयाँ पत्रिका
-ध्रुव दंगाल
सिन्धुपाल्चोक। सीमावर्ती उत्तरी तातोपानी नाकामा लामो समयदेखि चिनियाँ पक्षको मनपरी चल्दै आएको छ । नाकावासी, नेपाली व्यापारी- व्यवसायी, मजदुर, आन्तरिक पर्यटक मात्र होइन प्रहरी र सरकारी कर्मचारी नै चिनियाँ पक्षको ज्यादती सहन बाध्य छन् ।
दैनिक दुव्र्यवहार, कुटपिट र कन्टेनर तोडिनु नाकामा नेपालीका लागि नियमित र सामान्य नै बनेको छ । चिनियाँ सादा पोसाकका प्रहरीले नेपाली भूभाग छिरेर नेपालीलाई कुटेका दृष्टान्तसमेत थुप्रै छन् । अध्यागमन कार्यालय तातोपानीका प्रमुख विजय पौडेलले नाकामा चिनियाँ ज्यादती बढ्दै गएको बताए । ‘नेपालीमाथि ज्यादतीका घटना दैनिक भइरहन्छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘चुपचाप सहनुको विकल्प छैन ।’
चिनियाँ प्रहरीबाट कन्टेनर मजदुर सबैभन्दा बढी प्रताडित छन् । खासा ओहोरदोहोर गरिरहनुपर्ने उनीहरू विभिन्न आरोपमा नेपाली सुरक्षाकर्मीकै सामुन्ने कुटिएका देखिन्छन् । उनीहरूलाई कुट्ने मात्र होइन, लाइसेन्स, पासपोर्ट र प्रवेश-पास पनि कब्जामा लिइन्छ र चर्को जरिवाना असुलिन्छ । नियम उल्लंघन गरेको आरोपमा गत महिना मात्र २५ जना मजदुरको कागजात खोसेर चर्को जरिवाना तिराइएको प्रमुख पौडेलले जानकारी दिए ।
चिनियाँ प्रहरी सीधै नेपाली भूमिमा आएर खानतालसी समेत लिने पौडेलले बताए । ‘चिनियाँ प्रहरीले दैनिक निगरानी गरिरहेका हुन्छन्,’ उनले भने । छिमेकी देश छिर्न प्रवेश-पासको व्यवस्था भए पनि उनीहरू सादा पोसाकमा आउँछन् । बाह्रबिसे सम्म पासका आधारमा उनीहरू घुम्न पाउने व्यवस्था भए पनि नम्बरप्लेट छोपेर ओहोरदोहोर गर्छन् । जब कि, नेपालीलाई प्रवेश-पास वा राहदानी नभई छिरिक्क तिब्बत प्रवेश दिइँदैन । नत्र गोदाइ खानुपर्छ या चर्को जरिवाना तिर्नुपर्छ ।
नाका सुरक्षार्थ खटिएका प्रहरी र कर्मचारी पनि चिनियाँ पक्षको ज्यादतीबाट बच्न सकेका छैनन् । उनीहरूले समेत चिनियाँ प्रहरीको कुटाइ निकै पटक खाइसकेका छन् । गत १३ मंसिरमा मात्र चिनियाँ व्यापारीले नेपाली व्यवसायीको कन्टेनर फुटाएपछि उत्पन्न विवाद मिलाउन वार्ता गर्न गएका बर्दीका ट्राफिक हवल्दार त्यहाँका अध्यागमन कर्मचारी र सुरक्षाकर्मीद्वारा कुटिएका थिए ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ पनि चिनियाँ पक्षद्वारा नेपालीमाथि नाकामा चर्को थिचोमिचो भइरहेको गुनासो गर्छन् । ‘कुनै निहुँ नै चाहिँदैन, यो वा त्यो बहानामा नेपालीमाथि ज्यादती गरिन्छ,’ उनले भने, ‘एउटा नेपालीले गल्ती गरिहाल्यो भने त्यसको सजाय सबैले भोग्नुपर्छ ।’ नेपाल-चीन मितेरी व्यापार संघका अध्यक्ष बहादुर शेर्पाले चीनको नियम मान्दा पनि नेपालीले ज्यादती सहिरहनुपरेको तिक्तता पोखे । ‘उनीहरू विनारोकतोक नेपाल आउँछन्, नेपालीले त्यहाँको नियम मान्दा पनि कुटाइ खानु पर्छ,’ शेर्पाले आक्रोश पोखे, ‘नागरिकमाथि ज्यादती भइरहेको छ, तर हाम्रो सरकार आलुपाँडे छ ।’
नेपाली माथि हुने ज्यादती रोक्न चिनियाँ प्रशासन र त्यहाँका अधिकारीसँग पटक-पटक वार्ताद्वारा सहमति भए पनि कार्यान्वयनमा नआएको व्यापारी र नाकाका अधिकारी बताउँछन् । ‘मिटिङ र सहमति भइरहन्छन्,’ अध्यागमन-प्रमुख पौडेल भन्छन्, ‘तर ज्यादती हुन छोड्दैन ।’ उनले नाकामा चिनियाँ ज्यादती रोक्न सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताए ।
Leave a Reply