स्रोत: नयाँ पत्रिका
-प्रकाश राई
संसारका प्रायः सबै देशको झण्डा त्यहाँको राजनीतिक परिवर्तन सँगै फेरिँदै आएको इतिहास छ । सन् १७७७ देखि १९६० सम्ममा संयुक्त राज्य अमेरिकाको झण्डा मात्रै २७ पटक परिवर्तन भएको छ । त्यहाँ देशका राज्यहरू थपिने क्रमसँगै झन्डा पनि परिवर्तन हुँदै आएको छ । सन् १८६१ मा त्यहाँ ३४ वटा राज्य थिए र झन्डामा तारा पनि त्यति नै थिए । तर, सन् १९०८ मा राज्यहरू थपिएर ४६ भए र तारा पनि त्यति नै पुर्याइए । सन् १९५९ अगस्त २१ मा हवाई राज्य पनि थपिएपछि ४ जुलाई १९६० मा त्यहाँको राष्ट्रिय झन्डाको ५०औँ तारा थपिएको थियो ।
त्यस्तै चीनमा पनि सन् १९४९ मा क्रान्ति सम्पन्न भएपछि झन्डा परिवर्तन गरिएको थियो । त्यहाँ त अझ झन्डा डिजाइन गर्ने प्रतियोगिता नै गरिएको थियो । र, अन्त्यमा उत्कृष्ट झन्डा राष्ट्रिय झन्डाका रूपमा छानिएको थियो । रसिया, कोरिया, कम्बोडियालगायतका देशको झन्डा पनि पटकपटक परिवर्तन भएका छन् ।
अहिले नेपालको राष्ट्रिय झन्डा परिवर्तनबारे बहस जारी छ । एकीकृत माओवादीले नेपालको राष्ट्रिय झन्डा परिवर्तन गर्नुपर्ने प्रस्ताव औपचारिक रूपमै राखेपछि यस विषयले स्थान पाएको छ । अहिले यसका पक्ष-विपक्षमा बहस सुरु हुन थालेको छ । कतिपयको जिकिर छ, नेपालको झन्डा आफैँमा छुट्टै (युनिक) प्रकारको भएकाले कुनै पनि हालतमा परिवर्तन गर्न हुन्न । कतिपयको मत छ, अहिलेको झन्डाले नेपालको परिवर्तनलाई, परिवर्तित राज्य संरचनालाई प्रतिनिधित्व गर्न सक्दैन त्यसैले परिवर्तन गर्नुपर्छ । कतिपयको विचार छ, यो झन्डाको जुन आकार छ, त्यो हिन्दू धर्मसँग सम्बन्धित छ । यो मूलतः हिन्दू मन्दिरहरूमा प्रयोग गरिने पताका हो । नेपाल धर्मनिरपेक्ष राष्ट्र भइसकेका सन्दर्भमा यो झन्डा त्यसको मर्मसँग नमिल्ने हुनाले परिवर्तन गर्नुपर्छ । यसरी झन्डा फेर्नुपर्छ र फेर्नुपर्दैन भन्ने मतमतान्तर विभिन्न पक्षबाट आइरहेको छ ।
कुनै पनि देशको राष्ट्रिय झन्डा त्यस देशको एउटा पहिचान हो । त्यसले देशको राजनीतिक अवस्था वा प्रणालीलाई प्रतिविम्बित गर्छ । त्यसैले यो अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील हुन्छ । तर, बुझ्नुपर्ने कुरा के हो भने यसले राष्ट्रको प्रतिनिधित्व गर्ने भएकाले नै यसको महत्त्व छ । त्यसैले, यो देशको प्रतिनिधित्व गर्ने प्रकारको पनि हुनुपर्छ । यसले राष्ट्रको प्रतिनिधित्व वा राष्ट्रलाई प्रतिविम्बित गरेन भने यसको महत्त्व पनि नरहन सक्छ । त्यसैले यसको महत्त्व राष्ट्र प्रतिविम्बित हुन्छ कि हुन्न भन्नेमा हुन्छ, यसको आकार-प्रकारमा होइन । झन्डामा प्रयोग भएका रंगको सामान्यतया एउटै अर्थ हुन्छ । तथापि, एकभन्दा धेरै हुन्छ । जस्तै रातोको साहस या क्रान्ति, परिवर्तन ।
विश्वमा मानिसले झण्डाको प्रयोग करिब चार हजार वर्षदेखि गर्न थालेको मानिन्छ । आजभन्दा २४ सय वर्षअघि इरानमा धातुको झन्डा प्रयोगमा आएको थियो । त्यसको धेरै पछि मात्र कपडाको रंगीन झन्डा प्रयोगमा आएको थियो । डेनमार्कको झन्डालाई अहिलेसम्मकै पुरानो मानिन्छ । मध्ययुगमा आएर सम्भ्रान्त परिवारको सदस्य भएको संकेत गर्न तथा धर्म र सहरका संकेत बुझाउन झन्डाको प्रयोग भयो । पछि यो राज्यको पहिचानका लागि पनि प्रयोग हुनथाल्यो । र, राज्यको पहिचानको फेरबदलसँगै झन्डा पनि परिवर्तन हुनु स्वाभाविक थियो र भयो पनि ।
कस्तो समयमा झण्डा परिवर्तन ?
विभिन्न देशको इतिहास हेर्ने हो भने मूलतः दुई स्थितिमा उनीहरूले आफ्नो राष्ट्रिय झन्डा परिवर्तन गरेका छन् । पहिलो, राज्यसत्तामा परिवर्तन हुने गरी ठुल्ठूला क्रान्ति हुँदा, र, दोस्रो देशको सीमा परिवर्तन भएपछि वा भौगोलिक संरचना परिवर्तन हुँदा ।
चीनमा सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न भएपछि उसले आफ्नो राष्ट्रिय झन्डा परिवर्तन गरेको थियो । उसको झन्डामा अंकित साना-ठूला ताराले आ-आफ्नै महत्त्व बोकेका छन् । बीचको ठूलो ताराले नेतृत्वदायी कम्युनिस्ट पार्टीलाई संकेत गर्छ भने साना चारवटाले क्रमशः मजदुर, किसान, विद्यार्थी र जनसेनालाई प्रतिनिधित्व गर्छन् । सोभियत संघमा पनि त्यही भएको थियो । त्यसो गर्नुका पछाडि उनीहरूको के तर्क थियो भने झन्डाले राज्यलाई वा राज्यको चरित्रलाई प्रतिविम्बित गर्नुपर्छ । पुरानो झन्डाले नयाँ राज्यको चरित्रलाई प्रतिविम्बित गर्न सक्दैन । यस्ता थुप्रै देश छन्, जसले क्रान्तिपछि राष्ट्रिय झन्डा परिवर्तन गरेका छन् ।
देशको सीमा परिवर्तन भएपछि वा भौगोलिक संरचना परिवर्तन हुँदा राष्ट्रिय झन्डा परिवर्तन हुने देशहरूमा अमेरिका सायद पहिलो नम्बरमा पर्छ । अमेरिका स्वतन्त्र भएपछि निकै पछिसम्म विभिन्न राज्य अमेरिकी संघमा मिल्न आए । त्यसैले त्यहाँको झन्डा पनि फेरिँदै आयो । त्यहाँको झन्डामा भएका ताराहरूले त्यहाँका विभिन्न राज्यलाई प्रतिनिधित्व गर्छन् । त्यसैले राज्यहरू थपिँदा तारा पनि थपिएका थिए । त्यस्तै कम्बोडियामा पनि सन् १९४८ देखि नयाँ झन्डा प्रयोगमा ल्याइएको थियो । त्यसपछि त्यहाँको राजनीतिक परिवर्तनपिच्छे झन्डा परिवर्तन हुँदै आएको छ । कोरियाको राष्ट्रिय झन्डा पनि ऊ उपनिवेशबाट मुक्त भएपछि फेरिएको हो ।
यसरी विश्वको इतिहासबाट शिक्षा लिँदा के निष्कर्षमा पुग्न सकिन्छ भने राष्ट्रिय झन्डा फेरिनु कुनै अनौठो र असम्भव कुरा होइन । राज्य प्रणाली परिवर्तनपछि होस् वा राज्यको सीमा परिवर्तनपछि वा उपनिवेशबाट मुक्त भएपछि होस्, राष्ट्रिय झन्डा परिवर्तन हुनु स्वाभाविक हो । किनभने, राष्ट्रिय झन्डाले राष्ट्र प्रतिविम्बित गर्नुपर्छ ।
नेपाली झण्डा परिवर्तनको कथा
नेपाल सामन्ती राजतन्त्रात्मक एकात्मक हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणतन्त्रात्मक संघीय राज्यमा परिणत भएको छ । यो ऐतिहासिक परिवर्तनपछि राज्यका हरेक पक्षमा परिवर्तन सुरु भएको छ/गर्नुपर्छ । अब हिजोको राज्य संरचना रहेन । हिजोका कतिपय मूल्य-मान्यता परित्याग गर्नुपर्ने भइसके । अब हिन्दू राज्यबाट धर्मनिरपेक्ष राज्यमा परिणत भइसक्यो । कतिपय कुरा असान्दर्भिक पनि भइसके । नेपाली चेतनाले धेरै नै छलाङ मारिसकेको स्थिति छ । हिजोका कतिपय पहिचान परिवर्तन भइसके । त्यसैले हिजोका कुरालाई मात्र समातेर अघि बढ्न सकिन्न । तर, त्यसको अर्थ हिजोका सबै कुरा परित्याग गर्नुपर्छ भन्ने होइन । पुराना असान्दर्भिक पक्षलाई भने परित्याग गर्नैपर्छ । निश्चित रूपमा यो जटिल प्रक्रिया हो । किनभने, कतिपयलाई के लाग्छ भने हिजोका सबै कुरा सान्दर्भिक नै छन्, पुराना भएकै छैनन् । ती सबै हाम्रा पहिचान हुन् । यस्तो लाग्नु किन स्वाभाविक छ भने जुन कुरा परापूर्वकालदेखि प्रचलनमा छ, त्यसलाई परिवर्तन गर्ने कुरा त्यति सजिलो छैन । हिजो राजतन्त्र फाल्नुपर्छ भन्दा आकाश-धर्ती नै नरहला झैँ गर्दै तर्क गर्थे कतिपय मानिस । नेपालको अस्तित्व नै समाप्त हुन्छ भन्थे विद्वानको पगरी गुथेका व्यक्तिहरू । तर, राजतन्त्र सदाका लागि चिहानमा गयो, नेपाल गणतन्त्रात्मक भयो । न आकाश खस्यो न त पाताल फुट्यो, न नेपालको अस्तित्व नै गुम्यो । बरु त्यसविपरीत नेपाल समावेशी, समानुपातिक र न्यायपूर्ण नयाँ नेपाल बन्ने प्रक्रियामा गयो ।
नेपाल हिजोको अवस्थाबाट अर्को विल्कुल नयाँ अवस्थामा प्रवेश गरेको सन्दर्भमा झन्डा परिवर्तनबारे बहस हुनु जायज छ । किनभने, हाल प्रचलित झन्डाले अब नयाँ नेपाललाई प्रतिविम्बित र प्रतिनिधित्व गर्न सक्दैन, परिवर्तनलाई झल्काउन सक्दैन । आज मात्र होइन हिजोबाटै नेपालका आदिवासी जनजातिले झन्डा फेर्नुपर्ने कुरा उठाउँदै आएका थिए । यो झन्डाको जुन आकार छ त्यो हिन्दू मन्दिरमा प्रयोग हुने पताका हो । हिन्दू राजाले यसलाई राष्ट्रिय झन्डाका रूपमा प्रयोग गरेका हुन् भन्ने कुरा त बारम्बार आइरहेको छ । झन्डामा प्रयोग भएका चित्रहरूको व्याख्या फेर्नुपर्ने कुरा पनि पहिलेदेखि नै बारम्बार आइरहेकै कुरा हो । चन्द्रवंशी र सूर्यवंशी राजाहरूसँग जोडेर गरिएको व्याख्याले गणतन्त्रतात्मक नेपालको भावनालाई बोक्न सक्दैन, अतः त्यसलाई परिवर्तन गर्नु अनिवार्य छ ।
राष्ट्रिय झन्डा फेर्नुपर्ने बहस उठ्नासाथ एकथरी मानिस अत्यन्तै नकारात्मक हुने गरेका छन् । नामधारी विद्वानहरू पनि यही लाइनमा देखिने गरेका छन् । उनीहरू परिवर्तनको कुरा सुन्न पनि चाहँदैनन् । हिजो राजतन्त्र हट्यो भने नेपालको अस्तित्व नै गुम्छ भनेर गरिने जस्ता तर्क उनीहरू आज गरिरहेका छन् । यो परिवर्तन प्रतिको पछौटेपन भन्दा अरू केही होइन । झन्डा राम्रो छ, युनिक छ भनेर मात्रै अब परिवर्तन गर्न हुन्न भन्ने पुष्टि हुन्न । त्यो त अनावश्यक ढिपी मात्र हुन्छ । अब यस्तो ढिपीले मात्र काम गर्दैन । त्यसैले परिवर्तित नेपालका सन्दर्भमा राष्ट्रिय झन्डा फेरिनुपर्ने कुरा अनिवार्य आवश्यकता बनेको छ । अहिले झन्डा फेर्नु हुँदैन भन्नेहरू राज्य र झन्डा बीच कुनै सम्बन्ध नभए झैँ गरेर तर्क गर्छन्, जुन बेठीक छ । झन्डाले त राज्यको प्रतिनिधित्व गर्छ, यो कुरा राम्ररी मनन गर्नुपर्छ । कुनै लहडमा हैन तार्किक आधारमा झण्डा फेर्ने-नफेर्ने कुराको टुंगो लगाउनुपर्छ ।
[राई किरात राई लेखक संघका केन्द्रीय अध्यक्ष हुन्।]
Leave a Reply