स्रोत: नयाँ पत्रिका
-भीम चापागाईं
इलाम। विश्वमै लोप हुन लागेको सेतो गुराँस वा चिमालको नेपालमै पहिलोपटक अध्ययन-अनुसन्धान सुरु गरिएको छ । इलामका लेकाली भेगमा पाइने चिमालको संरक्षण गरी यसको संख्या बढाउन अध्ययन सुरु गरिएको हो ।
सीमित संख्यामा रहेको चिमाल स्थानीयवासीको लापरबाही र अज्ञानताका कारण संकटमा पर्दै गएकाले संरक्षण गर्नुपरेको जिल्ला वनस्पति कार्यालयले जनाएको छ । विश्वमा नै मासिनेक्रममा रहेको चिमाल नेेपालमा पनि मासिने खतरा बढेपछि भू-संरक्षण मन्त्रालयको वनस्पति विभागअन्तर्गत जिल्ला वनस्पति कार्यालयको समन्वयमा सरकारले यसको संरक्षण गर्ने भएको हो ।
२०६१ सालमा इलामको माईपोखरी क्षेत्रको गलैँचे झ्याउ सफा गरेर बाहिर निकाल्ने क्रममा पोखरीको झ्याउमा उमि्रएका चिमालका बिरुवासमेत नस्ट भएकाले यसको संख्या घटेको कार्यालयले जनाएको छ । सिमसार र सुख्खा क्षेत्रमा पाइने चिमालको अध्ययन गरिने योजना रहे पनि संरक्षणमा थप सहयोगका लागि सिमसारभन्दा बाहिरका चिमालको पनि अध्ययन गरिने कार्यालयका प्रमुख रघुराम पराजुलीले बताए ।
अध्ययनका क्रममा पानीको गलैँचे झ्याउमा पाइने र बाहिरका फरक प्रजातिका चिमालको मिश्रणबाट बिरुवा उत्पादन गर्ने कार्यालयले बताएको छ । ‘यसको संख्या बढाउन मिश्रति प्रजातिका बिरुवा उत्पादन गरिनेछ,’ पराजुलीले भने । यसका लागि अहिले चिमालको कटिङ राख्ने र बीजबाट बिरुवा उत्पादन गर्न थालिएको छ । अध्ययनमा कार्यालयका प्रमुख रघुराम पराजुली, उत्सव थापालगायतका विज्ञहरू खटिएका छन् ।
संरक्षणका क्रममा जैविक विविधतायुक्त माईपोखरी वनस्पति उद्यानको डेढ रोपनी जमिनलाई चिमाल प्रजनन क्षेत्र तोकिएको छ । बीउ सानो हुने भएकाले नर्सरी राख्न गाह्रो र संवेदनशील हुने अध्ययनमा संलग्न थापाले बताए । हेर्दा गुराँसजस्तै देखिने चिमालको फूल सेतो हुन्छ । फूलको फेदमा पात र डाँठ भने गुराँसको भन्दा चिल्लो हुन्छ । फूल फुलेको समयमा बढी वास्ना चल्ने भएकाले यसको सुगन्धले मात लाग्ने गरेको स्थानीयवासी बताउँछन् ।
पानीभन्दा बाहिर हुने जातको चिमाल इलाम र पाँचथरका सीमावर्ती क्षेत्रमा पाइने गरेको छ । ग्रामीण भेगका बासिन्दाले चिमालको फूलबाट घरेलु मदिरा बनाउने र औषधिको रूपमा समेत प्रयोग गर्दै आएको माइमझुवाका खड्ग गुरुङले बताए ।
Leave a Reply