स्रोत: ई-कान्तिपुर
-गणेश राई
सरकारले किराँत महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले जानकारी दिए ।
किरात जातिले समाज सुधार र धर्मप्रणेता तथा किराँत धर्मदर्शनदाताका रुपमा राष्ट्रिय विभूति घोषणाको माग गर्दै आएको थियो । सरकारले पछिल्लो पटक “पासाङ ल्हामु शेर्पा” र “शंखधर साख्वाः”लाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्द सहित नेपालको राष्ट्रिय विभूतिको संख्या १७ पुगेको छ ।
अहिलेसम्म घोषित राष्ट्रिय विभूतिहरू: राजा जनक, सीता, अंशु वर्मा, राजा राम शाह, राजा पृथ्वीनारायण शाह, भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, राजा त्रिभुवन, कलाकार अरनिको, मोतीराम भट्ट, भानुभक्त आचार्य, गौतमबुद्ध, शंखधर साख्वाः र पासाङ ल्हामु शेर्पा छन् ।
को हुन् फाल्गुनन्द ?
फाल्गुनन्द वि.सं. १९४२ कात्तिक २५ गते इलाम चारखोलाको चुक्चिनाम्बामा जन्मिएका थिए । उनी किरात समुदायमा ‘महागुरु फाल्गुनन्द’का नामबाट चिनिन्छन् । किरात लिम्बू जातिभित्र लिङ्देन वंशमा जन्मिएका उनले १९८८ सालमा वैशाख २४ गते पाँचथर लब्रेकुटीमा ‘बृहत् किराँत चुम्लुङ -सभा)’ गरी १० बुँदे लिखित ‘सत्यधर्म मुचुल्का’ कायम गराएका थिए ।
उक्त मुचुल्का जारी गरेपछि किरात समुदायको परम्परा तोड्दै बलिप्रथा र मद्यपानको चलन हटाएका थिए । बलिपूजा नगर्नु त्यसको सट्टा फलफूल नैवेद्यबाट गर्नु भन्ने अभियान चलाएका थिए । मुचुल्कामा प्रत्येक गाउँगाउँमा मन्दिर र पाठशाला बनाउने, लेखपढ सिकाउने, छोरा र छोरीलाई बराबरी व्यवहार गर्नु भनेर सामाजिक थिति बसाएका थिए ।
समाज सुधारकका रुपमा परिचत फाल्गुनन्दको निधन २००५ चैत २२ गते भएको थियो । देव, पितृ, विवाह शुद्घाइँ गर्दा जीवनको चलन छोडी अब उप्रान्त वेध धूपवाती सिन्दुर फलफूलले गर्ने भनेका थिए । छोरी-चेलीको सोतरित खाने लिम्बू समुदायको चलन हटाउन भनेका थिए । मृत्यु र सुतक तीनदिन र मृत्युपछि किरियापुत्रीले मात्र ९ दिन बार्ने चलन बसाएका थिए । किरात ज्योतिष संघका अध्यक्ष चन्द्रकुमार सेर्मा लिम्बुका अनुसार पशुबलि त्यागेर मृतात्मालाई अदुवा, दूध, चामलको पिण्ड दिने चलन बसाएका थिए ।
विवाह कर्म चलाउँदा सनातन मुन्धम परम्पराअनुसार हुनुपर्ने भनेका थिए । स्वदेशमा कपास खेती गरी आफैंले धागो कात्ने, बुन्ने चलन बढाई स्वदेशी कपडामात्र लाउने गर्नु र विदेशी कपडा कसैले लाउने नगर्नु भनेका थिए । फाल्गुनन्दलाई किरात जातिका एक पक्ष -बलिप्रथा मान्ने)ले समाज सुधारकका रुपमा लिने गरेका छन् भने अर्को पक्षले धर्मप्रणेता तथा किराँत धर्मदर्शनदाताका रुपमा मान्दैआएका छन् ।
Leave a Reply