स्रोत: ई-कान्तिपुर
-जनार्दन आचार्य
स न् १९२६ नोभेम्बर २३ तारिख सोमबारको दिन भगवान् श्री सत्य साई बाबाले यस धर्तीमा जन्म लिनुभयो । ८४ वर्षको उमेरसम्म अलौकिक अवतारी पुरुष श्री सत्य साई बाबा विश्व कल्याणको अभियानमा निरन्तर लागि रहनुभएको छ । विश्वभरिका करोडौं भक्तहरूले उहाँलाई भगवान्को रूपमा श्रद्धा एवं भक्तिपूर्वक पुज्दै आएका छन् । उहाँको अलौकिक शक्ति स्पर्सबाट बोल्न नसक्नेहरू बोल्न सक्ने भएका छन्, हिँड्न नसक्नेहरू दगुर्न सक्ने भएका छन्, अन्धाहरू देख्न सक्ने भएका छन्, अज्ञानीहरू ज्ञानी बनेका छ्न् । उहाँको दर्शन मात्रले कयौं मानिसहरू पूर्ण रूपान्तरित भएका छ्न् । उहाँ एक हातमा सांसारिक ज्ञान देखाएर हामीलाई आफूतिर आकषिर्त गर्नुहुन्छ भने अर्को हातमा आध्यात्मिक ज्ञान लिएर बस्नुभएको छ । मानिस परिमार्जित हुँदै सभ्य, सुसंस्कृत, समझदार र ज्ञानि बन्न पुग्दछ, ऊ पूर्ण रूपमा रूपान्तरित हुने गर्दछ ।
बाबाले थुप्रै सेवा प्रोजेक्टहरू सञ्चालन गर्नुभएको छ । सत्य साई जनरल हस्पिटल, सुपर स्पेसियलिस्टी अस्पताल पुट्टपर्ति, सुपर स्पेसियलिस्टी अस्पताल बैंग्लोर विश्वकै स्तरीय अस्पतालका रूपमा प्रख्यात छन् । जहाँ बाइपास सर्जरी, ओपन हार्ट-सर्जरी लगायत सबै उपचार निःशुल्क छ । स्कुल, क्याम्पस र विश्वविद्यालय, म्युजिक कलेजलगायत प्लेनिटोरियम, म्युजियम, चैतन्य ज्योति स्टेडियम सञ्चालित छन् । भारत सरकारले समेत सम्पन्न गर्न नसकेको अनन्तपुर, महेबुब नगर र मेदक जिल्लाका लाखौं जनताहरू वाटर प्रोजेक्टबाट लाभान्वित भएका छन् । अनाथ बालक तथा एकल महिलाहरूका लागि आश्रम, घर, शिक्षा, रोजगारका साथै एकमुष्ठ बैंक ब्यालेन्ससमेत राखिएको छ । त्यस्तै उडिसा राज्यमा आँधिबेहरीबाट घरबारविहीन भएका गरिबहरूका लागि घर निर्माण गरी दिनुभएको छ । पश्चिम गोदाबरी जिल्लाका हजारौं आदिवासी जनजातिहरूका लागि स्वास्थ्य, सरसफाइ, शिक्षा, पिउने पानी, कम्युनिटी हल, मन्दिर, स्थानीय रोजगार सिर्जनाजस्ता एकीकृत ग्रामीण विकास योजनाहरू सञ्चालन गर्नुभएको छ । सबैलाई प्रेम गर, सबैको सेवा गर मानवसेवा नै माधवसेवा हो बाबा भन्नुहुन्छ । भोकाएका व्यक्तिहरूको आध्यात्मिकतासँग कुनै सम्बन्ध हुँदैन । तिनका लागि भोजन नै भगवान् हो । त्यस्तै दुःखीका लागि शान्ति, बिरामीका लागि औषधि र पीडितका लागि पीडा शान्त पार्ने साधन नै भगवान् हुन्छ । त्यसपछि मात्र उनीहरूको हृदयमा आध्यात्मिकताप्रति रुचि जागृत हुन सक्छ । जप, तप, यज्ञ यज्ञादि, योग आदि सबै साधनाहरूबाट प्राप्त हुने आध्यात्मिक लाभ प्रेमबाट मात्र प्राप्त गर्न सकिन्छ । दैवी प्रेम हासिल गर्ने उत्तम तरिका सेवा नै हो ।
विभिन्न सेवा कार्यक्रम तथा गतिविधिहरूमा रुचि बढाऊ । सामाजिक सेवा कार्यहरूमा सक्रिय रूपमा सहभागी बन । साई गतिविधिहरू सहरमा भन्दा गाउँघरमा फैलिनु आवश्यक छ । आफ्नो आवश्यकताहरू सीमित गर । आफ्नो इच्छा कटौती गर । आफ्नो खर्च कम गरेर गाउँघरमा यस्ता सुविधाहरू प्रदान गरिन जरुरी छ । यसरी राष्ट्रियता तथा संस्कृति देशको कुना-काप्चासम्म फैलाउन सकिन्छ ।
भगवान् श्री सत्य साई बाबाले सेवाका अनुपम उदाहरणहरू गरेरै देखाइदिनु भएको छ । उहाँको पावन जीवनगाथा नै हामीहरूका लागि सन्देश हो । ग्राम सेवालाई उच्च महत्त्व दिँदै मानव सेवामा संलग्न हुन प्रोत्साहित गर्ने भगवान् श्री सत्य साई बाबाको अभियानमा सबै जुटौं । जीवन सार्थक बनाऔं ।
Leave a Reply