स्रोत: कान्तिपुर
-जितेन्द्र साह
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले सात वर्षको अवधिमा एक महिलासहित २९ नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार तीमध्ये १५ जनाविरुद्ध यो दुई वर्षको अवधिमा विभिन्न मुलुकका सुरक्षा निकायले यो नोटिस जारी गरेको हो । सन् १९६७ मा नेपाल ‘इन्टरपोल’ को सदस्य भएको हो ।
‘यसले अन्य मुलुकमा गम्भीर प्रकृतिका अपराधमा नेपाली सहभागिता बढ्दै गएको देखिएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहले कान्तिपुरसँग भने । उनका अनुसार सबभन्दा बढी भारतीय सुरक्षा निकायले २० जना नेपालीलाई ‘मोस्ट वान्टेड’ को सूचीमा राखेर खोजी दिन आग्रह गरेका छन् ।
त्यसैगरी सउदी अरबले २, अमेरिकाले एक र संयुक्त अरब इमिरेट्सले ६ नेपालीलाई अपराधी घोषित गर्दै यो सूचना जारी गरेको छ । भारतले खोजिरहेका नेपालीमाथि हत्या, आतंक, गैरकानुनी रूपले हतियार राखेको, वन्यजन्तु तस्करी, लाखौंको लुट, बहुमूल्य गहना चोरी, ठगी, धोखाधडी र अपहरणको अभियोग लगाइएको छ ।
संयुक्त अरब इमिरेट्सको सुरक्षा निकायले यो सूचीमा राखेका नेपालीमाथि बैंकिङ चेकको घोटाला गरेको, रकम दुरुपयोग गरेको र आर्थिक हिनामिना गरेको अभियोग लगाएको छ ।
त्यसैगरी साउदी अरबले दुई नेपालीमाथि लाखौंको सामान हिनामिना गरेेर मुलुक छाडेर भागेको र अमेरिकाले हेरोइन कारोबारको अभियोगमा एक नेपालीलाई यो सूचीमा राखेर खोज गरिररहेको इन्टरपोलको नोटिसमा उल्लेख छ ।
नेपाल प्रहरीले पनि यो दुई वर्षको अवधिमा एक भारतीय, एक अमेरिकी र १३ नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको देखिन्छ ।
नेपाल प्रहरीले यो सूचीमा ठगी, राम्रो जागिरमा लाइदिने बहानामा लाखौं रकम लिएर भागेको, हत्या, हत्या प्रयास, अपहरण, लुट, बलात्कार, फिरौती असुली, लागूऔषध ओसारपसार, हतियार बेचबिखन र आतंककारी गतिविधिमा संलग्न नेपाली अपराधीलाई राखेको छ ।
नेपाल प्रहरीको रेडकर्नर नोटिसमा परेका अमेरिका फिलाडेल्फियाका नागरिक इयान बेकरलाई गैरकानुनी तरिकाले वन्यजन्तुको छाला र सामग्री घरमा राखेको एवं भारत राजस्थान अलवारका राहुल हलदियालाई ठगी अभियोग लगाएको छ ।
गत अक्टुबर ११ देखि १५ सम्म सिंगापुरमा भएको इन्टरपोलको ७८ औं महासभामा यो नोटिसलाई अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि गर्ने, सूचनाको प्रशोधन र इन्टरपोलको विश्वसनीयता बढाउनेबारे भएकोे छलफलमा उच्चस्तरीय नेपाली टोली सहभागी भइसकेका छन् ।
‘सीमा क्षेत्रमा ठूला अपराध गरेर भागेका, साइबर र इन्टरनेटबाट ठूला अपराध गर्ने थप अपराधीलाई यो सूचीमा राख्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘सम्पूर्ण प्रमाण र कानुनी प्रक्रिया पूरा गरेपछि मात्र राख्नुपर्ने हुनाले यो आफंैमा संवेदनशील कार्य हो, असंवेदनशीलताले कसैको चरित्र हत्या हुने मात्र नभएर उल्टै प्रहरीले मानहानिको मुद्दा सामना गर्नुपर्ने हुन्छ ।’
इन्टरपोलले छ विभिन्न समूहमा विभाजन गरेर अपराधीविरुद्ध नोटिस जारी गर्दै आएको देखिन्छ । डीआईजी सिंहका अनुसार इन्टरपोलको ‘गि्रन नोटिस’ मा समेत दुई नेपालीको नाउँ छ । अपराधमा संलग्न व्यक्तिले त्यस्तै घटना अरू मुलुकमा दोहोर्याउन सक्ने सचेतता अपनाउँदै प्रहरीले ‘गि्रन कर्नर नोटिस’ जारी गर्छ ।
अमेरिकाले गत २ सेप्टेम्बरमा एक नेपालीमाथि इन्टरनेटबाट अश्लीलताको प्रचार गरेको र बालबालिकालाई यौनशोषण गरेको अभियोगमा र भारतले अर्का नेपालीमाथि किर्ते कागजात तयार पारेर आर्थिक लाभ लिएको एक कम्पनीको रकम हिनामिना गरेको अभियोगमा ‘गि्रन कर्नर नोटिस’ जारी गरेको उनले बताए ।
नेपाल प्रहरीले पनि एक अफ्रिकी नागरिकबारे ‘ब्ल्याक कर्नर नोटिस’ र एक हराइरहेका नेपालीबारे ‘येलो कर्नर नोटिस’ जारी गरेको ब्युरोको सूचीमा उल्लेख छ । इन्टरपोलले अपरिचित शवबारे जानकारी संकलन गर्न ‘ब्ल्याक कर्नर नोटिस’ र हराएका, अल्पसंख्यक र अपरिचितको खोजी कार्यमा सहयोग पुरयाउन ‘येलो कर्नर नोटिस’ जारी गर्छ ।
त्यसैगरी अपराध सम्बन्ध जोडिएका व्यक्तिबारे थप सूचना खोज्न ‘ब्लु कर्नर नोटिस’ र लुकाइएका हतियार, बम र अरू खतरनाक सामग्रीबारे प्रहरी र नागरिकलाई सचेत गराउन ‘अरेन्ज कर्नर नोटिस’ जारी गरिन्छ ।
Leave a Reply