स्रोत: अनलाइन खबर
नेपालीहरूको महान् पर्व तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । यसपालिको यमपञ्चक अक्टोबर १६ देखि १९ सम्म चारदिनमात्रै परेको छ । अक्टोबर १६ मा कागतिहार, १७ मा एकै दिन ककुर तिहार र दीपावली (लक्ष्मीपूजा), १८ तारेखमा गाईतिहार र १९ तारेखमा गोवर्धन पूजाका साथै भाइटीका परेको छ । यसपालिको तिहारमा एकादशी तिथि लोप भएकाले यमपञ्चक चार दिनमै समाप्त हुन्छ । प्रतिपदाकै दिन द्वीतिया तिथि लाग्ने भएकाले २० तारेखमा पर्नुपर्ने भाइटीका १९ तारेखमै परेको हो ।
काग तिहार
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वीतीयासम्म पाँच दिन मनाइने यो पर्वको आरम्भ कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजाबाट गरिन्छ । काग अत्यन्त चलाख पक्षी हो । काग सर्वक्षी प्राणी हो । यसको पूजा गर्नका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त पि्रय भक्त भएकाले यमपञ्चकमा यसको पूजा गरिएको हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काक गवेषण, काक न्याय, काकबली आदि विविध शब्द पनि कागसँगै सम्बन्धित छन् ।
कुकुर पूजा
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर-तिहार मनाइन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रुपमा लिइन्छ । कुकुर यमराजको अर्को पि्रय भक्त हो । कुकुरलाई आज्ञा पालक एवं रक्षक मात्र मानिँदैन, यसले विभिन्न अपराधीहरू पत्ता लगाउने र अध्ययन-अनुसन्धान गर्ने कार्य पनि गर्छ । कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मान्छेहरूलाई सहयोग गर्दै आएको छ । कुकुरलाई भैरवको बाहन पनि मानिन्छ । त्यसैले हामीले कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरेर माला लगाइदिएका हौं ।
गाई र लक्ष्मीको पूजा
कुनै पनि धार्मिक वा सामाजिक सस्कार गर्नुअघि नेपालमा गाईको गोबरले घर-आँगन लीपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्नो घर-कोठा-चोटा पवित्र तुल्याउने गरिन्छ । गाईलाई पशुधनका रुपमा पनि लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रुपमा मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रुपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य गरी घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिएको हो । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि राक्षसहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको लोक मान्यता पनि छ ।
यमराजले यमपञ्चकका पाँच दिन आˆनी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वाशमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको हो । यसरी सुख, सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रुपमा पूजाआजा र अर्चना गर्ने तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्नाना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिहृन अंकित गर्ने वा शुभलाभ लेख्ने गरिएको हो । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागी आफूलाई आत्मिक रुपमा सुख-सन्तोष प्रदान होस् भन्दै चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् ।
गोरु र गोवर्धन
नेपाल देश कृषिप्रधान देश हो । गोरु कर्मयोगी किसानहरूका लागि अत्यन्त आवश्यक जनावर हो । गोरु भगवान् शिवको वाहन पनि हो । गोपाल शब्दले गाई पाल्ने व्यक्ति, गाईको धनी, ग्वाला, गोठाला आदिको पनि बोध हुन्छ । गोपाल भगवान् श्रीकृष्णको पर्यायवाची नाम पनि हो । द्वापरयुगमा इन्द्रले पानी नपारिदिएकाले कृषि पेसामा संलग्न कर्मयोगी गोपालहरू अत्यन्त चिन्तित थिए । यो अवस्थामा भगवान् कृष्णले गोवर्धन पर्वको पूजा गर्न सल्लाह दिएका थिए रे । गोपालहरूले त्यसै गरे, फलस्वरुप वषर्ा भयो र सबै अन्न एवं ऐश्वर्यबाट समृद्ध भए । गाई र गोरुको संख्यामा पनि वृद्धि हुन पुग्यो । यसरी गोरुतिहार पर्व गोवर्धन पर्वसँग गाँसिन पुगेको छ । यस दिन गोरुतिहारका रुपमा गोरुको पूजा गर्ने र गाईको गोबरबाट गोवर्धन पहाड निर्माण गरी पूजा गर्ने प्रचलन रहिआएको छ ।
भाइटीका
तिहारको अन्तिम दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने र दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक मिथक छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आˆनो राज्य छाड्ने कथा पनि पाइन्छ । यही मिथकमा आधारित भएर देउसी भैलो खेल्ने गरिएको हो । त्यसै गरी भाइतिहारको दिन दीयो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गरी आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ ।
Leave a Reply