स्रोत: नागरिक
-दुर्गादेवी रसाइली
मुस्ताङ। नेपालबाट मात्रै होइन विश्वको कुनाकुनामा समेत चर्चा पाउन सफल मुक्तिनाथ मन्दिर मर्मत सम्भार र संरक्षणको अभावमा भत्कने अवस्थामा पुगेको छ।
यस मन्दिरको निर्माण वि.सं. १८७१ अर्थात् करिब दुई सय वर्ष अगाडि भएको हो। मन्दिर जीर्ण हुँदै जानु साथै मन्दिरमुनि बगिरहने भूमिगत जलप्रवाहलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न नसकेको कारण यो खतरा दिनानुदिन बढ्दैगएको हो।
जिविस मुस्ताङले मन्दिरको अगाडि रहेको दुईवटा पानीको कुण्ड केही वर्षअगाडि २२ लाख रुपैया खर्च गरी बनाएको भए पनि हाल आएर कुण्ड अगाडिको पर्खाल अवस्थित जमिनको भाग अपत्यारिलो तवरबाट भास्सिएको छ।
मन्दिर भत्कने खतरा देखिएपछि गत साउनको पहिलो हप्तादेखि नाला निर्माण कार्यलाई अगाडि बढाइएको छ।
भूमिगत जलप्रवाहलाई समयमा नै निकास नदिए कुनै पनि बेला मन्दिर भत्कनसक्ने बताइएको छ।
मन्दिरसँग जोडिएको पेटी पनि केही तल दबेको छ भने भूमिगत बाटो बनाई निरन्तर बगेको जल प्रवाहले गर्दा मन्दिर पछाडिपट्टिको दुईवटा काठका खम्बालाई पर्खालले छोड्दै गएको छ।
मन्दिरभित्र पनि पर्खालको भाग चर्किएको, भगवान विष्णुको मूर्ति राखिएको खण्ड पनि केही ढल्किएको र मन्दिर पनि पश्चिमपट्टि केही ढल्किएको छ।
पुरातत्व विभागले मन्दिरको नाला निर्माणको लागि जिविस मुस्ताङलाई रकम उपलब्ध गराएको जिविस मुस्ताङले जनाएको छ भने सो नाला निर्माण गर्ने कार्यको सम्पूर्ण जिम्मा मुस्ताङ जिल्ला प्राविधिक कार्यालयले निर्माण एवम् संरक्षणको दायित्व लिएको जिल्ला विकास समितिले बताएको छ।
साथै मन्दिरवरिपरी जताततै भूमिगत जलप्रवाह रहेको, निरन्तर १०८ गौमुखी धाराबाट जल झरिरहने भएको कारणले पनि यस्तो अवस्था आएको स्थानीय बासिन्दा बताउँछन्।
मुक्तिनाथ मन्दिर करिब तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ। जसमा भगवान् विष्णु शिलारुप शालिग्राममा छन्। तीर्थ गर्न आउने तीर्थालुहरु भन्छन् – ‘संसारमा जुनसुकै ठाउँमा तीर्थ गर्न गए पनि मुक्तिनाथ मन्दिरको दर्शन तीर्थ नगरेमा अन्य तीर्थ दर्शन अधुरो हुन्छ।’
मन्दिरमा एक पुजारी र २५ जना झुमा छन्। मन्दिरमा हिन्दु र बौद्ध धर्मावलम्बीले एकसाथ पूजा गर्ने वातावरण यहाँ मिलाइएको पाईंन्छ।
मुक्तिनाथ विकास समितिका कर्मचारी रुद्रनाथ शर्मा पौडेलले जानकारी दिएअनुसार गत आर्थिक वर्षमा मात्र भक्तजनहरुबाट नौलाख रुपैयाँ आम्दानी भएको थियो।
यस मन्दिरमा रामनवमी, चैत्राष्टमी, ऋर्षि पूर्णिमा र बडादसैँजस्ता चाडपर्वमा नेपाल, भारत अन्य मुलुकहरुबाट भक्तजनहरुको भीड लाग्ने गर्छ।
मुक्तिनाथ मन्दिरको साथमा ज्वालामाई, विभिन्न हिमशृङ्खला, थोराङपास, कलकल गर्ने पानीको आवाज र मनोरम प्राकृतिक दृष्यबाट यहाँ जोसुकैले पनि आनन्दप्राप्त गर्नसक्छ।
यस्तो पवित्र चर्चित मुक्तिनाथको मन्दिरलाई भत्कने खतराबाट जोगाउन स्थानीय बासिन्दा, स्थानीय निकाय, सरकारी तथा गैरसरकारी कार्यालय, मन्दिरप्रति आस्था र सद्भाव राख्ने भक्तजनलगायत राज्य पक्षबाट वैज्ञानिक ढङ्गले मन्दिर बचाउ कार्यक्रम सञ्चालन गरी अविलम्ब जीर्णोद्धार गर्न अत्यन्त जरुरी छ। -रासस
Leave a Reply