स्रोत: नागरिक
भारतीय राजदूत राकेश सुदसहितको चार जनाको टोलीले शुक्रबारदेखि मुस्ताङको आठदिने पदयात्रा गर्ने भएको छ। टोलीले माथिल्लो मुस्ताङसहित जिल्लाका विभिन्न क्षेत्रमा पदयात्रा गर्ने जानकारी गृह स्रोतले दिएका छन्।
चिनियाँ सरकारले मुस्ताङमा गएर भारतीय र पश्चिमा कूटनीतिज्ञले त्यहाँका गुम्बामा रहेका तिब्बतीहरूलाई स्वतन्त्र तिब्बतको पक्षमा गतिविधि गर्न उक्साएको आरोप लगाउँदै उनीहरूको गतिविधि नियन्त्रण गर्न दबाब दिंदै आएको छ। तर, सरकारले भने भारतीय र पश्चिमा कूटनीतिज्ञले स्वतन्त्र तिब्बत पक्षधर गतिविधि गर्न उक्साउने कार्य नगरेको उल्लेख गर्दै स्वतन्त्र मुलुकको हैसियतमा उनीहरूलाई पदयात्राको अनुमति दिएको स्रोतले उल्लेख गरेका छन्।
सुदले पदयात्राका लागि पूर्व अनुमति लिनुपर्ने निषेधित क्षेत्र माथिल्लो मुस्ताङमा समेत पदयात्रा गर्ने भएका छन्। सुदसित उनका भाइ, निजी सुरक्षा अधिकृत र भारतीय दूतावासका आर्थिक साहयता काउन्सिलर पुनित रय कुण्डल पदयात्रामा जानेछन्। कूटनीतिक टोली पदयात्राबाट असोज ३० मा राजधानी फर्कनेछ।
सुदसहितको टोली माथिल्लो मुस्ताङमा गृह मन्त्रालयबाट पदयात्राको अनुमति लिएर जान लागेको हो। अध्यागमन विभागका महानिर्देशक माधवप्रसाद रेग्मीले गृह मन्त्रालयको निर्णयअनुसार आफ्नो विभागले सुदसहित चार जनालाई पदयात्राको अनुमति दिएको नागरिकलाई बताए।
विदेशी नागरिकले निषेधित क्षेत्रमा पदयात्रामा जान अध्यागमन विभागमा निश्चित शुल्क तिरी अनुमतिपत्र लिनुपर्छ। तर, सुदसहितको टोली कूटनीतिक राहदानीधारी भएकाले उनीहरूलाई निःशुल्करूपमा पदयात्रा अनुमति दिइएको हो। कूटनीतिज्ञले पदयात्राका लागि शुल्क तिर्नुपर्दैन।
भारत सरकारको लगानीमा भएका विकास निर्माणका गतिबिधिको निरीक्षणमा पनि भ्रमण केन्द्रीत हुने भारतीय दुतावास सम्बद्ध स्रोतले जनाएकोझ छ। टोली बिहीबार बिहान ६ बजे पोखरा हुदैं जोमसोज पुगिसकेको छ।
मुस्ताङ भ्रमणको क्रममा राजदुत सुदले भारत सरकारको तीन करोड रुपैयाँ लगानीमा कोबाङ गाउँ विकास समितिमा निर्माण गरेको जनआदर्श मावीको भवन उद्घाटन गर्नेछन्। यसैगरी जनशान्ति माध्यामिक विद्यालय कागबेनीको ८० लाखमा निर्मीत पुस्तकालयको पनि उद्घाटन गर्नेछन्। उनले जोमसोममा कालिगण्डकी नदीमा करिव ५ करोड रुपैयाँ बरावरको पक्की पुल निर्माणको लागि सहयोग प्रदान गर्ने कार्यक्रम पनि छ।
भारतीय दूतले शनिबार उपल्लो मुस्ताङको छोन्हुप गाविसको नामग्यल गुम्बा निमार्णको लागि ४ करोड १३ लाख सहयोग दिने कार्यक्रम छ। सो टोलिले मुस्ताङको कोवाङमा रहेको जनआदर्श मावीको लाई थप रकम सहयोग गर्ने कार्यक्रम रहेको समेत स्कुल व्यवस्थापन समितिका अध्यक्ष अजुर्न सिंह तुलाचनले जानकारी दिए।
मुस्ताङ भ्रमणको अन्तिम असोज ३० गते मुक्तिनाथमा ३ करोडको भारतीय सहयोगमा निर्माणाधिन धर्मशालाको निरक्षण गर्ने कार्यक्रम पनि रहेको छ। राजदुतको भम्रणको लागि आवश्यक सुरक्षाको व्यवस्था गरिएको मुस्ताङका प्रहरी नायव निरिक्षक भोला रावलले जानकारी दिए।
मुस्ताङमा भारत सरकारको सहयोगमा बिभिन्न दई दर्जन विकास निर्माणका कामहरू भइरहेका छन्।
(म्याग्दीबाट पत्रकार हरिकृष्ण गौतम।)
Leave a Reply