स्रोत: कान्तिपुर
-कौसर शाह
महिना दिनसम्म भगवानको नाममा व्रत बसेर गरिने प्रार्थनापछि चन्द्रमा देखेको दोस्रो दिन मुस्लिमहरूको पर्व इद हुन्छ । यो दिन हामी मुस्लिमहरूको महान् पर्व हो । मुस्लिमहरूको रोजा -व्रत) इस्लामी महिनाअनुसार नवौं महिनामा पर्छ । यो महिनाको व्रतलाई रमजान भनिन्छ । अरबी भाषामा यसलाई स्वयम् पनि भनिन्छ । यो महिनाभर दिनरात अल्लाह -भगवान्) को प्रार्थना गरिन्छ । त्यसकारण अर्को पवित्र ग्रन्थ हदिसमा लेखिएको छ, ‘यसलाई रमजान मात्र नभनौं, माहे रमजान भनौं ।’ रमजाको मतलब हो, गर्मीबाट जल्नु । यो महिनामा गर्मी, भोक, प्यासबाट जति तड्पिइन्छ त्यति नै पाप काटिन्छ भन्ने विश्वास मुस्लिम समुदायमा छ । यो महिनालाई तीन भागमा विभाजित गरिएको छ । सुरुका १० दिन क्रिपाका दिन, बीचका १० दिन अल्लातालाबाट माफी दिइने दिन र अन्तिम १० दिन नर्कबाट बच्नका लागि भोकै बसेर मनाइने दिन ।
जीवनको सुरुवातमा व्रत बस्ने बानी बसाल्नका लागि १०-१२ वर्षको बच्चालाई महिना दिनमा १ दिन मात्र व्रत राखिन्छ । त्यसपछि महिनाबीचका १३,१४,१५ औं दिनमा व्रत बसाइन्छ । अशक्त बिरामीहरूका लागि विशेष छुट पनि दिइएको छ । स्वर्ग प्रवेश गर्न त्यहाँ आठवटा ढोका हुन्छन् । त्यसमध्ये एउटा ढोकाको नाम रैयान हो । यो महिनामा कुनै मुस्लिमको मृत्यु भइहालेमा त्यसै ढोकाद्वारा ऊ स्वर्ग प्रवेश गर्छ भन्ने विश्वास गरिन्छ । यतिबेला कुनै किसिमको हिसाबकिताब हुँदैन । यो महिनाको २५,२६,२७ औं दिनलाई शबेकदर भनिन्छ । यो तिन दिनको बीचमा कुनै बेला यस्तो हुन्छ कि अल्लातालासँग जे प्रार्थना गरिएको हुन्छ, त्यो पूरा हुन्छ र एक पुण्य बराबर ७० पुण्य प्राप्त हुन्छ । यसै महिनामा मुस्लिमहरूको पवित्र ग्रन्थ कुरान संसारमा नाजिल -आएको) भएको हो । रमजान महिना सकिन जब १० दिन मात्र बाँकी हुन्छ सूर्य अस्त हुनुभन्दा पहिले इत्तेकाबको नियत गरी कम्तीमा एकजना व्यक्ति मस्जिदमा बस्नुपर्छ । जुन टोल-गाउँमा मान्छे छन् त्यहाँ पनि कम्तीमा एकजना व्यक्ति बस्नैपर्छ । यदि गाउँमा एकजना व्यक्ति बसेन भने सबै गाउँवासीलाई दोष लाग्छ र उनीहरू दोषी बन्छन् । इत्तेकाबमा बसेको व्यक्ति मस्जिद परिसरभित्रै नुहाई-धुवाई र जरुरी गर्न मात्र निस्कनुपर्छ । अरूबेला मस्जिदभित्रै प्रार्थना गरेरै बस्नुपर्छ । इदको चाँद -चन्द्रमा) देखेपछि मात्रै ऊ बाहिर निस्कन पाउँछ । एक महिनासम्म भगवान्का लागि गरिएको कठिन प्रार्थनापछि मुस्लिमहरूको महान् पर्व इदको खुसियाली सुरु हुन्छ ।
इदुल फितरपछि इदुल जोहा । इदुल जोहा, इदुल फितरको दुई महिना दस दिनपछि हुन्छ । हदिसबाट थाहा हुन्छ, त्यो खुसियालीको दिन हो । एकअर्कालाई शुभकामना दिनुपर्छ र हल्लाह ताला (धन्यवाद) शुक्रअदा गर्न इदगाह अथवा मस्जिदमा गएर दुई रकात नमाज समूहसँग पढ्नुपर्छ । त्यसपछि आपसमा हात मिलाएर, अँगालो हालेर मनको भेदभाव हटाएर शुभकामना दिनुपर्छ । भनिन्छ, इदको खुसी वा अधिकार त्यसै मानिसलाई हुन्छ जसले अल्लाहको नाममा एक महिना व्रत बसेर पाँचै समय नमाज पढ्छ । त्योबाहेक छुट्टै नमाज तराबी पढेर, कुरान पढेर, सबै किसिमको खराबी र शारीरिक सम्बन्धबाट टाढा बसेको छ । इदको चन्द्रमा देखेपछि त्यो व्यक्तिको खुसीको सीमा हुँदैन । बिहान उठेर नुहाई-धुवाई गरेर सफा लुगा लगाएर सुर्मा इतर लगाई नमाज पढ्न जानुभन्दा अगाडि सेबई खानुपर्छ । त्यसपछि मात्र जानुपर्छ । जुन बाटोबाट नमाज पढ्न गइन्छ, फर्किंदा अर्कोबाट आउनुपर्छ । नमाज अगाडि आफ्नो शरीरको फितरा (दान) गरिबहरूलाई दिनुपर्छ । हालको हिसाबले एकजना व्यक्तिको भागमा ६२ रुपैयाँ पर्छ । जुन व्यक्तिले दान गरेन त्यसको व्रत आकाश र जमिनको बीचमा झुन्डिरहन्छ । एक महिनाको रोजामा कमी-कमजोरी भएको हुन्छ त्यसलाई फितराले (दान) क्षतिपूर्ति गरिदिन्छ भन्ने विश्वास गरिन्छ । एक महिना नियमपूर्वक रोजा -व्रत) बसेको, जकात फितरा (दान) दिएको व्यक्तिले इदको दिनमा अल्लाहतालाबाट पुरस्कार पाउँछ । उसको पूरै वर्ष शुभ हुन्छ । व्यापार वृद्धि हुन्छ । घर, परिवार, र राष्ट्रमा सुख र शान्ति हुन्छ ।
(लेखक नेपाल मुस्लिम समाजकी अध्यक्ष हुन्।)
Good information. Keep posting