स्रोत: कान्तिपुर
यो खाद्यपदार्थ मानवलाई प्रकृतिको अनुपम उपहार हो । मौरीद्वारा फूलको रसबाट प्राकृतिक रूपले तयार गरिएको मह नै प्राचीन- कालमा मिष्ठान्नको एकमात्र ज्ञात स्रोत थियो । महलाई चिकित्सा विज्ञानले पनि पौष्टिक आहार मानेको छ । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, अमिनो एसिडलगायतका सबै आवश्यक तत्त्व पाइन्छ ।
मह सेवनको प्रमुख फाइदा भनेको पूर्णरूपमा पाचन हुने विशेषता हो । यसकारण महबाट शिशुलाई पनि तुरुन्तै लाभ हुन्छ । यसको नियमित सेवनले स्मरणशक्ति पुनःप्राप्त हुन्छ । मह मीठो त्यसमा पाइने चिनीले गर्दा हुन्छ । यसमा चिनीको मात्रा ७० देखि ८० प्रतिशतसम्म हुन्छ । यो चिनीमा ग्लुकोज र फुटक्रोज बराबर पाइन्छ । यो तत्त्वले रगतमा सीधै शोषित भएर तुरुन्त ऊर्जा दिन्छ ।
महमा भिटामिन बी कम्प्लेक्स पनि पाइन्छ, जसले भोक बढाउनुका साथै नाडी तन्त्रलाई दृढता प्रदान गर्छ । महमा पाइने एन्जाइम्सले पाचन प्रणाली सक्रिय पार्छ ।यसमा करिब ११ खनिज र १७ आंशिक तत्त्व पाइन्छ । गाढा रंगको महमा खनिजको मात्रा बढी हुन्छ । विभिन्न रोगमा महद्वारा उपचार प्राचिनकालदेखि नै प्रचलित छ । यसमा एन्टिसेप्टिक गुण पनि छ । चोट लाग्दा, पोल्दा, घाउ निको पार्न यसले रामबाणको काम गर्छ । आयुर्वेदका कतिपय औषधिको आधार मह नै हुन्छ । यो हरेक आयु वर्गका लागि उपयोगी प्राकृतिक टनिक हो । बालबालिकामा दाँत निस्कने बेला, युवाको छालाको देखभाल तथा पाकाहरूको तन्दुरस्तीका लागि मह धेरै लाभदायक छ । रुघाखोकी, दम र मौसमी एलर्जी निको पार्न पनि यो उत्तिकै उपयोगी हुन्छ ।
पिना स्टेट कलेज अफ मेडिसिनले गरेको अध्ययनअनुसार बालबालिकालाई कफसम्बन्धी औषधि दिनु जोखिमपूर्ण रहेका बेला महले राम्रो विकल्प हुन्छ ।महमा छालाको सतहको घाउ छिटो निको पार्ने क्षमता रहेको थाइल्यान्डमा गरिएको अनुसन्धानले देखाएको छ । अनुसन्धाताहरूले घाउमा मह लगाउँदा विषाक्त जिवाणुको संख्यामा निकै कमी देखियो । आयुर्वेदअनुसार मुटुको धमनीका लागि मह शक्तिवर्धक मानिन्छ । यसले मांसपेसीसमेत बलियो हुन्छ । पेटका सानातिना घाउ र सुरुआती अल्सर मह सेवनले जाती हुन्छ । शुद्घ मह बास्नादार हुन्छ । यो गर्मीमा पग्लन्छ र जाडोमा जम्छ ।
पुरुषत्व बढाउछ भन्थे क्यारे, कहाँसम्म सत्य हो लेखकज्युलाई नै थाहा होला।