स्रोत: नयाँ पत्रिका
-बच्चु विक
महेन्द्रनगर। भारतीय सीमासुरक्षा बल (एसएसबी) को ज्यादतीका विषयमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले कञ्चनपुर प्रशासन तथा सुरक्षा निकाय प्रमुखहरूसित पीडा पोखेका छन् । उनीहरूले नेपाली मजदुरदेखि बिरामीसम्म एसएसबीको आतंकबाट पीडित भइरहेकोतर्फ ध्यानाकर्षण गराए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूलाई शुक्रबार एकै ठाउँमा राखेर उनीहरूले पीडा पोखेका हुन् । उद्योगी, व्यवसायी, नागरिक समाज अगुवा, राजनीतिक दलका नेताकार्यकर्ता तथा स्थानीय बासिन्दाले सीमा नाकामा एसएसबीको आतंकबारे सुनाएका थिए । सामान्य पैदल हिँड्ने नेपाली मजदुरदेखि उपचारका लागि एम्बुलेन्समा जाने बिरामी, दाहसंस्कार गर्न महाकाली किनार जाने मलामीलाई समेत एसएसबीले सताउने गरेको उनीहरूले पीडा पोखे ।
‘एसएसबीको आतंक अब सहन नसक्ने अवस्थामा पुगेका छौं,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महाकाली अञ्चल इन्चार्ज होमबहादुर कुँवरले भने, ‘मजदुरलाई त सताउँथे-सताउँथे, अब बिरामीलाई पनि सताउन थालेका छन् ।’ एम्बुलेन्समा बिरामीलाई लिएर उपचारका लागि भारततिर जाँदा पनि पैसा माग्ने, पैसा नदिए वा दिन ढिलाइ भए शारीरिक तथा मानसिक ‘टर्चर’ खेप्नुपरेको उनले बताए । केही सामान नलिई आवतजावत गर्दा पनि एसएसबीलेे पैसा माग्ने गरेको बताउँदै उनले भने, ‘बोराको ५० र झोलाको २५ रुपैयाँ माग्छन् । कति दिन तिर्ने ? कति दिन सहने ?’
चुपचाप लागेर सुनिरहेका प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखलाई कञ्चनपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष तेजसिंह कार्कीले ‘सक्नुहुन्छ भने एसएसबीको आतंक रोक्नुस् । सकिन्न भने यो नाका बन्द गर्ने पहल गरिदिनुस्’ भनेको बताए ।
उद्योग वाणिज्य संघले आयोजना गरेका तीनवटा बैठकमा भारतीय अधिकारीले ‘अबदेखि सीमामा नेपालीले दुःख पाउने छैनन्’ भनेर हस्ताक्षर गरेको भए पनि सताउन नछोडेको उनको भनाइ थियो ।
चेकजाँचका नाममा अनावश्यक दुःख दिने गरेको यातायात व्यवसायीले बताएका छन् । ‘महिलाहरू हिँड्नै नसक्ने अवस्था छ,’ महाकाली-सेती बस तथा मिनीबस व्यवसायी समितिका उपाध्यक्ष बाबुराम शर्माले भने । एकसाथ भारततिर जाने युवायुवती, महिला-पुरुषलाई अलगअलग राखेर शरीर छामछुम गर्ने गरेको गुनासो गर्दै उनले भने, ‘शरीर चेक गर्ने निहुँमा महिलासँग अश्लील व्यवहार गर्छन् ।’ शर्माका अनुसार काठमाडौं-दिल्ली बसले मासिक आठ हजार तिर्नुपर्छ ।
निर्वाध रूपमा हिँडडुल गर्न पाइन्न भने नाका बन्द गरिदिनुपर्यो,’ बस व्यवसायी समितिका उपाध्यक्ष शर्माले सिडिओसँग आग्रह गरे ।
राजनीतिक दलका नेता तथा कार्यकर्ताले समेत एसएसबीको ज्यादती असह्य भएको गुनासो गरे । एमाले जिल्ला सचिव राजेन्द्र रावलले एसएसबीको आतंक बढेको बताउँदै भने, ‘लठ्ठी समातेर भेँडाबाख्रालाई खेदेजस्तै भित्र खेदेर पैसा असुल्छन् ।’ आफूहरूले पनि एसएसबीको यातना खेपेको उनीहरूले गुनासो गरे । भारतले सीमामा एसएसबीको क्याम्प थपेपछि आतंक झन् बढेको उनीहरूको भनाइ थियो ।
सीमामा एसएसबीको संख्या बढेपछि ज्यादती पनि बढेको प्रमुख जिल्ला अधिकारी कुसुमाकर ढकालसहित सुरक्षा निकायका प्रमुखहरूले स्विकारे । ‘साह्रै अप्ठ्यारो भएको छ, एक साताभित्रै सीमा बैठक बोलाएर कुरा गर्छु,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने ।
भारतबाट पत्र
नेपाल-भारत सीमा नाकामा एसएसबीले मच्चाएको ज्यादतीका बारेमा समाचार लेखिएपछि भारतले नेपाललाई पत्र पठाएको छ । भारतले नेपाली मिडियामा आएका समाचारलाई ‘झुट तथा मनगढन्ते’ खबर भनेर आलोचना गरेको छ ।
भारतीय सरकारको निर्देशनअनुसार भिलभित जिल्लाका जिल्ला मजिस्ट्रेट अजय चौहानले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेका हुन् । उनले नेपाली मिडियामा आइरहेका समाचार झुटा भएको गुनासो गरेका छन् । यही १ भदौमा पठाएको पत्रमा भनिएको छ, ‘भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकलाई उत्पीडित गरेको, भूमि अतिक्रमण गरेको र सीमास्तम्भका बारेमा नेपालका समाचारपत्रमा झुटा एवं मनगढन्ते समाचार आइरहको छ ।’
सीमामा प्रदर्शन
नवलपरासी/ एसएसबीले गरेको ज्यादतीविरुद्ध सीमा क्षेत्रका स्थानीय बासिन्दाले शुक्रबार दिनभर नवलपरासीको त्रिवेणीमा पर्ने सीमा नाकामा प्रदर्शन गरे । प्रदर्शनमा भारतीय नागरिकले समेत साथ दिएका छन् ।
नेपाली नागरिकले त्रिवेणी भैंसालोटन नाकाको नेपाली भूमि र भारतीय नागरिकले भारतीय भूमिमा दिनभर धर्ना दिएका थिए । प्रदर्शनका कारण सीमा क्षेत्रको त्रिवेणी भैंसालोटन नाका दिनभर बन्द रह्यो । सीमा क्षेत्रका बजार, पसलहरूसमेत बन्द रहे ।
एसएसबीले सीमा क्षेत्रका बासिन्दाले घरायसी कामका लागि ल्याउने गरेको अत्यावश्यक सामग्री चामल, लत्ताकपडा, भाँडावर्तन खोसिदिने र अनावश्यक दुःख दिएर पक्राउ गर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
Leave a Reply