स्रोत: नागरिक
-उपेन्द्र लामिछाने
मलाई केही थाहा छैन : प्रमुख जिल्ला अधिकारी
वीरगन्ज। अत्याधुनिक हतियारसहित पक्राउ परेका भारतीय प्रहरीको एक समूह वडा प्रहरी कार्यलय वीरगन्जबाट ‘गुपचुप’ रिहा भएका छन्। युपी ६४–१६४१ नं. को स्कारपिओ गाडीमा आएका उनीहरुलाई वडा प्रहरी कार्यालय विर्ताले बिहीबार बिहान ९ बजे हतियारसहित घन्टाघरबाट पक्राउ गरेको थियो। भारतीय महावाणिज्य दूताबास वीरगन्जका अधिकारी जोन सिल्सी र जिल्ला प्रहरी कार्यालय पर्साका नायव प्रहरी उपरीक्षक मसाउद अलि खानबीचको आधा घन्टाको ‘गोप्य’ कुराकानीपछि उनीहरु आफैंले गाडी चढाएर पौने १२ बजे सीमावर्ती भारतीय सहर रक्सौलतर्फ लगेका हुन्।
उनीहरुको तस्बिर लिन सञ्चारकर्मीले अनुमति पाएका थिएनन्। प्रहरीले हतियारसमेत सञ्चारकर्मीलाई देखाएन।
उक्त घटनाबारे पर्साका प्रमुख जिल्ला अधिकारीले भने कुनै जानकारी नरहेको बताए। ‘मलाई यसबारे केही थाहा छैन ‘, प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बताए।
पक्राउ परेका उनीहरु उत्तर प्रदेशको शक्तिनगरस्थित विना थानाका प्रहरी उपनिरीक्षक विनोद मिश्रा , सिपाही रामसुन्दर मौर र रमेश सिंह रहेको प्रहरीले बतायो। साथै उनीहरुको साथमा अन्य एक एनवल हक र चालक रंजित सिंह थिए। उनीहरुले आफू अपराधी पक्राउ गर्न नेपाल प्रवेश गरेको दावी गरेका छन्। त्यसरी दावी गरे पनि उनीहरुले प्रहरीका सामुन्ने भएजति पैसा छोड्न आफू तयार भएको तर कसैलाई नभन्न आग्रहसमेत गरेका थिए। हल्ला भएमा आफूहरुको जागिर जाने उनीहरुले सुनाएका थिए।
सादा पोसाकका उनीहरुबाट २ थान इन्सास र त्यसमा लाग्ने म्यागजिन १६० गोली साथै थ्रि नट थ्रि राइफल १ थान र त्यसमा लाग्ने ५० राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुबाट रिभल्वर १ थान र त्यसमा लाग्ने ५ थान गोलीसमेत बरामद भएको वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक कमल रजौरेले बताए।
Leave a Reply