स्रोत: नयाँ पत्रिका
उनी हुन् लक्ष्मीप्रसाद देवकोटाका छोरा । महाकविपुत्र अर्थात् डा. पद्मप्रसाद देवकोटा । केटाकेटी भेला पारेर बालकविता सुनाउने साहिलाबाजेका यी साहिलै छोरा । जन्मक्रमले मात्रै उनी महाकविका साहिला छोरा हुन् । तर, उनका जेठा र माहिला दाइको ज्यान नियतिले बच्चैमा खाइसकेको थियो । त्यसपछि उनी नै जेठो । ‘जेठो दाजु २०११ सालमा खस्नुभयो,’ पद्मले भने, ‘माहिला दाजु झन् ००६ सालमै बित्नुभयो, अनि परिवारमा म एक्लो छोरो भएँ ।’ त्यसपछि ०१४ सालमा कान्छो भाइ नजन्मिउन्जेल पद्म त्यो वेलाको पुत्रप्रधान परिवारका एक्ला पुत्र रहे । सायद, त्यसैले परिवारको र स्वयं महाकविको पनि उनी अति प्यारा थिए । दुई-दुईवटा छोराहरू खसेपछि देवकोटा-परिवार त्यसै पनि अत्तालिएको थियो- कतै यो कलिलो बालखा पनि उसरी नै जाने हो कि !
यी अनेक कारणले पनि पद्मले अलि बेसी स्नेह पाए । बा जहाँ जान्थे, पद्मलाई सँगै हात समातेर लैजान्थे । काठमाडौंकै सेरोफेरोमा घुम्न निस्कँदा पनि पद्म महाकविको पाखुरामा झुन्डिएका हुन्थे । ०११ सालमा दार्जिलिङतिर घुम्न जाँदा पनि तीनवर्षे फुच्चे पद्म छुटेनन् । ‘बाले अकालमा खसेका दाजुहरू सम्झेर हो कि, मलाई छोडेर जान सक्नुभएन,’ पद्म अलिकति भावुक देखिए ।
तिनै पद्म, जो महाकवि बासँग जम्माजम्मी आठ-नौ वर्ष सँगै रहे । समय छोटो नै किन नहोस्, आखिर बा भनेका बा नै हुन्, जसको मायालु ढाडस र रुखो झालस दुवैले सन्तानको जीवनको जग बनेको हुन्छ । पचास वर्ष मात्रै बाँचेका हाम्रा महाकवि बितेको पनि अब पचास वर्ष भइसक्यो । अघिल्लो वर्षको कात्तिकदेखि यसपालिको कात्तिकसम्म महाकविको देशव्यापी शतवाषिर्की मनाइँदै छ । यही सन्दर्भमा महाकविसँगको छोटो संगतको स्मृतितिर र्फकंदै छन् पुत्र पद्मप्रसाद देवकोटा । उनी आफूलाई पुल्पुल्याएर पालिएको पुत्र सम्झन्छन् । र, बा जता गयो उतै पछ्याउने ‘बाको पुच्छर’ भएकामा गमक्क पर्छन् ।
यसै पनि भनिन्छ, कविहरू लहडी हुन्छन् । महाकवि झन् महालहडी पो थिए कि ? जसका थरीथरी रूपरंगबारे ऊवेलादेखि यो वेलासम्म थरीथरी बजारहल्ला छन्, त्यस्ता किंवदन्तीहरू थपिँदै पनि छन् । मान्छेहरू भन्छन्, उनी असामान्य थिए । सरस्वतीका वरद्पुत्र थिए । उनी सल्केको चुरोटको ठुटोले औंला डढाउँदासम्म पनि बेपर्बाह कविता लेखिरहेका हुन्थे । उनको कविता-लत झन्डै पागलको जस्तो थियो । यस्तै-यस्तै अनेक थिए महाकवि । के महाकवि त्यस्तै थिए, परिवारप्रति गैरजिम्मेवार वा असंवेदनशील ? कुनै चुट्किलामा चित्रित कविजस्तै लहडी वा उडन्ते ? के उनी एउटा सामान्य परिवारको बाका रूपमा पनि असामान्य थिए ? कस्ता थिए डाक्टरसाहेब तपाईंका बा ? पद्मले भने, ‘बाका रूपमा उहाँ एकदम मायालु हुनुहुन्थ्यो । दुई शब्दमा भन्ने हो भने लभिङ फादर ।’ ती लभिङ फादरले परिवारमा पनि कविता सुनाउँथे ? ‘अहँ,’ कविपुत्रले भने, ‘घरमा उहाँले हामीलाई कहिल्यै कविता सुनाउनुभएन ।’
अनि ती कवि लहडी पनि थिएनन् त ? ‘बा कविता लेख्ने वेलामा मात्रै विश्व बिर्सनुहुन्थ्यो,’ छोराले भने, ‘सिर्जनाको संसार छाडेर सामाजिक र पारिवारिक दुनियाँमा ओर्लंदा भने असाध्यै मीठो पारामा मान्छेसँग घुलमिल हुनुहुन्थो ।’ बाको विश्व बिर्सने अवस्था सम्झँदै उनले थपे, ‘त्यस्तो वेला चाहिँ एक प्रकारले उहाँ भूतै चढेजस्तो गर्नुहुन्थ्यो ।’ पिता देवकोटा स-साना केटाकेटीदेखि इष्टमित्र-आफन्तसँग रमाइलो गर्न अत्यन्तै रुचाउँथे । पुत्र देवकोटाले सम्झे, ‘बा घरमा मासु मात्रै पाक्दाको दिन पनि आफन्तहरू नछुटून् भन्ने ठान्नुहुन्थ्यो । ए, फलानालाई बोलायौ ? जाओ त ढिस्कानालाई बोलाओ ! बा आफन्तहरूको नाम लिएर यसै भन्नुहुन्थ्यो ।’ पद्मका बा आफैं मासुका पारखी थिए । बजारतिर फुत्त निस्क्यो भने खसीको टाउको झुन्ड्याउँदै र्फकन्थे । थुप्रैपटक हातेरुमालमा बाले खसीको टाउको पोको पारेर ल्याएको पद्मलाई अहिले पनि याद छ ।
देवकोटाको तत्कालीन परिवार संयुक्त थिएन । धोबीधाराको मूलघरबाट छुट्टिएर मैतीदेवी सरेपछिको परिवार एकल थियो । ‘तर, आफन्तहरूको निरन्तरको आइजाइले गर्दा हाम्रो परिवार संयुक्तजस्तो थियो,’ पद्मले भने, ‘मलाई त घरमा सधैं चाड आएको जस्तो लाग्थ्यो- सधैंभरि रमाइलो, सधैंभरि जमघट ।’ फुच्चे पद्म कविहरूको ओहोरदोहोर त्यति बुझ्दैनथे । को आउँथे, किन आउँथे, के गरेर जान्थे- उतिसारो मेलो थिएन । ‘घरमा आउने-जानेमा मलाई इष्टमित्रहरूको नै बढी ख्याल हुन्थ्यो,’ उनले भने । तर, पद्मले कवि-साहित्यकारहरूको अड्कलै नगरेका भने होइनन् । भीमनिधि तिवारी, भवानी भिक्षु, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, माधव घिमिरे अलि बढी आउँथे । त्योभन्दा बेसी आउने बालकृष्ण समले फुच्चे पद्मको चिउँडो समाउँदै फुस्ल्याउँथे, ‘ए, मेरो सानो साथी !’
पद्मलाई कखरा बाले नै सिकाएका थिए । तर, स्कुल पठाउने, गृहकार्य गराउने वा अंग्रेजी सिकाउने- यस्तो केही गर्न पाएनन् महाकविले । पद्म आठ वर्षको कलिलो फुच्चो हुँदा नै महाकविले संसार छाडे । पछि के हुन्थ्यो कुन्नि ! ‘स्कुलका पाठहरू सिकाउने काम त ठ्याम्मै गर्नुहुन्थेन,’ उनले भने, ‘स्कुलमा भर्नाचाहिँ बाले नै गराउनुभएको हो ।’ धोबीधारातिर बासितै फुत्रुङ-फुत्रुङ हिँडिरहेको पुत्र-बालखालाई महाकविले सोधे, ‘ए, बाबु तँलाई स्कुल जान मन छ ?’ स्कुल के हो, किन गइन्छ, केही थाहाथिति नभएको बच्चोलाई स्कुल जाने भनेको राम्रै कुरा होला, सँगसँगै बाकै हात समातेर स्कुल गइन्छ भन्ने लाग्यो । र, उसले भन्यो, ‘जान्छु ।’ त्यसपछि भान्दाइलाई भन्न लगाएर पद्मको भर्ना गरिदिए, महाकविले, ०१५ सालमा पद्मोदय स्कुलमा ।
बाले बच्चाहरूलाई कहिले फकाउँछन्, कहिले हप्काउँछन् । नेपाली समाज बाको हप्की अलि बढी खाने समाज हो । आधा शताब्दीअघिको युग त त्यसै पनि बाप्रधान थियो । पद्मका गालामा महाकविका दुई/चार थप्पड त पक्कै परे होलान् । कसरी तर्साउँथे देवकोटाले केटाकेटीलाई ? ‘अम्बिकादिदीले भन्नुभएअनुसार,’ बाको गालीबारे बताउन पद्मले दिदीलाई उद्धृत गर्न थाले, ‘बाले गाली गर्दा पनि सम्झाएर गर्नुहुन्थ्यो ।’ तपाईं आफंैलाई गाली गर्नुभएन ? ‘उहाँ हात छाड्ने मान्छे होइन,’ यति भनिसकेर यी कविपुत्रले केही सम्झेजस्तो गर्न थाले । ‘संस्मरण नै बताउने हो भने,’ उनले भने, ‘मेरो गालामा उहाँले जम्मा एकपटक तर्साउने उद्देश्यले थप्पड लगाउनुभएको छ ।’
त्यो संस्मरणको बेलीबिस्तार लगाउन थाले पद्म ।
तत्कालीन भारतीय पुस्तकालयको माथिल्लो तलामा नियमित कवि गोष्ठी हुन्थ्यो । एकपटकको कवि गोष्ठीमा ‘बाको पुच्छर’ भएर पद्म पनि गएका थिए । गोष्ठी सुरु नहुँदै महाकवि कुनै किताब लिएर घोत्लिन थाले । सँगै गएको बच्चो माथि उक्लने घुमाउरो भर्याङमा खेल्न थाल्यो । खेल्यो, खेल्यो थाक्यो । कसैले केही भनेन । त्यसपछि साहस बढ्यो र भित्र पसेर फुच्चेले र्याकमा राखेका किताब सर्रर तानिदियो । किताब त भुइँभरि छ्याल्लब्याल्ल । ए, यो कसको बच्चो हो ? लाइब्रेरियनले हल्लाखल्ला गरे । अनि, माथि लगेर बाले सम्झाएर नजिकमा बसाले । बाचाहिँ आफू फेरि पढ्न थाले । यसो गरौं कि उसो गरौं भएका पद्म फेरि उतै गए र किताब उसरी नै चलाए । भर्खरै मिलाएका किताब फेरि भुइँभरि । अनि, गालामा नहाने के गर्ने ? तैपनि च्याप्प समातेर झ्याप्प हानेनन् महाकविले । कोही मान्छे नभएको मौका पारेर मात्रै बिस्तारै चड्कन दिए । ‘त्यही चड्काएजस्तो गर्नु नै मेरो लागि पहिलो भौतिक सजाय थियो,’ गाला छाम्दै पद्मले भने ।
हातमा डोर्याएर हिँड्दा होस् या टाढा-टाढा कतै घुम्न जाँदा महाकविले छोरालाई ‘यस्तो गर्नू वा उस्तो नगर्नू’ भनेर कहिल्यै सुझाएनन् । न भविष्यमा यस्तो मान्छे बन्नुपर्छ भनेर कुनै खास सपना देखाए । न असल भनेको यस्तो, खराब भनेको उस्तो भनेर कुनै उपदेश नै दिए । ‘आफू जे-जस्तो छ, त्यस्तै बनोस् भन्ने चाहना थियो होला बाको,’ पद्मले भने, ‘पछि आमाको र अरू आफन्तको त मलाई डाक्टर बन्नुपर्छ भन्ने आग्रह थियो ।’
आइएस्सीसम्म उत्तीर्ण गरेका पद्मले त्यसपछि बाकै बाटो समात्ने धोकोले हो कि, डाक्टरी पेसाको पढाइ छोडेर साहित्य पढ्न थाले । ‘मलाई केटाकेटीदेखि नै साहित्यप्रति रुचि थियो,’ उनले भने, ‘अनि, यतै लिट्रेचरतिर लागेँ ।’ स्कुल-कलेज पढ्ने वेला कविपुत्रलाई साथीहरू सम्मान पनि गर्थे होला । बाको परिचय र साहित्यको स्थान देखेर पनि उनी साहित्यतिर मोडिए होलान् । तर, कविपुत्रको रूपमा जीवनमा आफूले फरक व्यवहारको अनुभूतिचाहिँ नगरेको बताए उनले । भने, ‘चिन्न त स्कुल पढ्ने उमेरमै धेरैले लक्ष्मीप्रसाद देवकोटाको छोरो भनेर चिन्थे । तर, ममाथि त्यस्तो खासै छुट्टै व्यवहार हुन्थेन ।’
पद्म सानै पनि थिए । घरमा हुने साहित्यिक-राजनीतिक अन्तरक्रियाबारे उनी केही बुझ्दैनथे । महाकवि बासँग राजनीतिक छलफल गर्न को-को आउँथे ? बा आफंै नेपाली राजनीतिबारे के भन्थे ? ‘यस्तो मलाई केही थाहा भएन, हाम्रो घरमा त्यस्ता छलफल र भेटघाट नभएर पो हो कि?’ पुत्रले पिताको राजनीतिक गतिविधिप्रति अनभिज्ञता जनाए । बा मन्त्री भएको दिनको सम्झना भने उनका हृदयमा ताजै छ । ‘त्यो दिन आमाले मलाई धुलैमैलै दगुरेको देखेर हप्काउनुभएको थियो,’ उनले भने । भरे बा मन्त्रीको शपथ खाएर आउने पूर्वतयारीमा आमाहरू कोठाचोटाको सरसफाइ गर्दै थिए । पद्मलाई यो केही थाहा थिएन । उनी कतै धुलोतिर खेलेर बुर्कुसी मार्दै आए । आमा कराइन्, ‘ए, त्यस्तो फोहोरी खुट्टाले चकटीमा टेक्छस् ? तँलाई थाहा छैन- तेरा बा आज मन्त्री हुँदै हुनुहुन्छ ।’
त्यो दिन साँझ त बा कस्ता-कस्ता नौला पो देखिए । घरमा पनि तल छिँडीसम्म मइन्टोल बालिएको थियो, चारैतिर उज्यालो । परपाहुनाहरू सबै खुसीले पुलकित देखिएका थिए । पद्म दंग परे । बाका अघिपछि सेना पनि थिए । मान्छेको अरू लस्कर पनि थियो । फूलमाला र अबिर पहिरिएका बाले घरमा आएपछि पनि थप अबिर र फूलमाला लगाए । घरमा पूजा गरियो । कविपुत्र थाहा नपाई मन्त्रीपुत्र भइसकेका थिए । मन्त्री भनेको के हो ? यस्तो केही थाहा थिएन । तर, मन्त्रीपुत्र खुसीले फुरुंग थिए । अचानक मन्त्री भएर आएका बा एकैछिन् मात्रै घरमा बसेर फेरि अचानकै निस्केर गए । पद्म बालखा त हेरेको हेर्यै । ज्या, बा त गए ।
बाको अन्तिम अवस्था पनि पद्म अहिले झल्झली सम्भिरहेछन् । अन्तिम दिनमा महाकविलाई सुरुमा शान्त भवन, शान्त भवनबाट हरेराम कुञ्ज र त्यहाँबाट आर्यघाट पुर्याइएको थियो । सबै माहोल देख्दा पद्मलाई बा अब जाँदै हुनुहुन्छ भन्ने बोध भइसकेको थियो । तर, अभिभावकहरू यो केटोले सबै थाहा नपाओस् भन्ने चाहन्थे । उनीहरूले पद्मलाई पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको छोरा विनोद विष्टसित खेल्न पठाइदिए । विनोदलाई भनियो, ‘ए, यसलाई गुह्येश्वरीतिर लिएर खेल्न जा, विनोद ।’ गुह्येश्वरीबाट फर्केर आउँदा बालाई राखिएको ठाउँमा मान्छे लामबद्ध थिए । यो के भएको हो ? पद्मलाई कसैले केही भनेन । माथि मान्छेहरू महाकविको अन्तिम दर्शन गर्न पालो कुरिरहेका थिए । आत्तिँदै पद्म माथि जान खोजे । त्यस्तो वियोगको दुःखद् घडीमा कुनै फुच्चे केटाको कसलाई मतलब ? त्यो उनै लक्ष्मीप्रसाद देवकोटाको छोरो हो भन्नेमा कसैको ख्याल पुगेको पनि थिएन ।
माथि बा भएको ठाउँमा जान खोज्दै गरेको त्यो केटोलाई रोकियो । अनि, पद्म रुन थाले, ‘बुबा हो, आमा हो !’ उनको चिच्याहट सुन्ने बा कहिल्यै नबिउँझने गरी निदाइसकेका थिए । बाको वियोगले रोइरहेकी आमाले झ्यालबाट चिहाइन्, ‘ए, मेरो बाबु !’ अनि, आमाले छोरालाई माथि ल्याउन भनिन् । पद्म भान्दाइको सहारामा बालाई देख्न माथि उक्ले । तर, महाकविले न पद्मलाई पर्खेर बसेका थिए, न अरू कसैलाई । उनी झन् ‘माथि’ पुगिसकेका थिए, ‘माथि’ तिर कतै ।
Leave a Reply