स्रोत: नयाँ पत्रिका
वासिङ्टन । अमेरिकाका वरिष्ठ सिनेटर तथा पूर्वराष्ट्रपति जोन एफ केनेडीका भाइ एडवर्ड केनेडीको मस्तिष्कको ट्युमरका कारण ७७ वर्षको उमेरमा निधन भएको छ । आफ्ना दाजुले सन् १९६२ मा राष्ट्रपति पदका लागि सिनेटबाट राजीनामा दिएपछि एडवर्ड केनेडी डेमोक्रेटिक पार्टीका तर्फबाट म्यासाचुसेटस् राज्यको सिनेटर भएका थिए र सातपटकसम्म सिनेटरमा निर्वाचित भएका थिए । अचेल उनी राष्ट्रपति ओबामाको सक्रिय समर्थक रहेका थिए । उनी स्वास्थ्य तथा शिक्षाजस्ता मामलाका विज्ञ मानिन्थे ।
२००६ को वर्षमा टाइम पत्रिकाले उनलाई विधायिकामा मुलुकका लगभग प्रत्येक पुरुष, महिला र बालबालिकाको जीवनलाई प्रभावित गर्ने अधिकतम काम संग्रह गरेबापत ‘दस सर्वश्रेष्ठ सिनेटर’ मध्ये एक घोषित गरेको थियो । उनलाई अमेरिकी इतिहासमा अति प्रभावकारी र अत्यधिक लोकपि्रय विधायकका रूपमा स्मरण गरिएको छ । उनलाई आफ्नो दलबाहिर पनि प्रभावित तुल्याउन सक्ने सिपालु सिनेटर मानिएको थियो । रिपब्लिकन राष्ट्रपति बुसलाई शिक्षा-नीतिका सन्दर्भमा र उपराष्ट्रपति जोन म्याक्केनलाई अध्यागमन सुधारका मामलामा उनले नै मनाएका थिए । तर, उनलाई इराक नीति तथा बन्दीमाथिको दुव्र्यवहार काण्डबारे बुस प्रशासनको झाँको झार्ने तिखो आलोचकका रूपमा पनि चिनिएको थियो । पारिवारिक विज्ञप्तिमा बताइएअनुसार चार केनेडी दाजुभाइमध्ये स्वाभाविक मृत्युवरण गर्ने एडवर्ड केनेडी मात्रै हुन् । उनका दाजु जोसेफ दोस्रो विश्वयुद्धका वेला हवाई दुर्घटनामा परेका थिए, राष्ट्रपति जोन एफ केनेडी र राष्ट्रपतिको सपना साँचिरहेका रोबर्ट एफ केनेडी दुवैजनाको हत्या भएको थियो । बाँकी रहेका एडवर्ड ह्वाइट हाउस पुग्ने आशा गरिए तापनि १९६९ मा भएको एक दुर्घटना काण्डका कारण कहिल्यै सो पदमा उक्लन सकेनन् । दुर्घटनामा आफैंले हाँकेको कारमा बसेकी महिलाको मृत्यु भएको थियो । तथापि उनी राजनीतिमा क्रियाशील रहिरहे । हिलारी क्लिन्टनसँग कडा प्रतिस्पर्धामा परेका बाराक ओबामालाई उनले नै जबर्जस्त समर्थन गरेका थिए । आफ्नो निधनको वेलासम्म उनी सबैभन्दा लामो समय सिनेटर पदमा रही सेवा गर्ने तेस्रा व्यक्ति थिए ।
Leave a Reply