स्रोत: नागरिक
-खगेन्द्र संग्रौला
छट्टु सिकारी तित्राको स्वरको दुरुस्तै नक्कल गर्छ। हुस्सु तित्रो सजातीय पन्छीको स्वर सुनेको भ्रममा पर्छ। र जोडजोडले कराउँदै सिकारीछेउ आएर ऊ सजिलै मारिन्छ।त्यसैले तित्राको मुख उसको काल लुकी बस्ने दूलो हो। शीर्षस्थ माओवादी कमरेडका चाचल मुख तित्राको मुखसँग तुलनीय छन् भन्नु भयङ्कर धृष्टता होला। तर यो सुनिजानेको सत्य हो। माओवादीको छवि स्खलन सत्ताबाट उसको बहिर्गमन उसमाथिको चौतर्फी घेराउ र उसको अनिश्चित नियतिका पछिल्तिर कारण अनेक छन्। तीमध्ये एउटा जब्बर कारण उसको खुकुलो मुख हो।
मुख नम्बर एकबाटै कुरा थालुँ। यो माओवादी शिखर पुरुष कमरेड प्रचण्डको मुख हो। बाह्र बुँदे लहरो समातेर पहिलो पटक जब उनी बालुवाटारमा प्रकट भए त्यो क्षणमा उनी राजनीतिको कम्पन केन्द्र थिए। पत्रकारसामु उनी बोल्दा अनुरागले होस् वा द्वेषले आशले होस् वा त्रासले इष्र्याले होस् वा कुण्ठाले वरिपरिका सबैका अपलक दृष्टि उनीमाथि स्थिर भएका थिए। वागमतीको पुलमुनि धेरै पानी बगिसकेको छ र अहिले प्रचण्डको कद निकै होचो उनको छवि निकै धूमिल र उनको वचन निकै निस्प्रभावी भएको छ । यसो हुनुको एउटा प्रत्यक्ष कारण उनको खुकुलो मुख हो। आहान भन्छ – थुतुनो र मुतुनो अदपमा राख्नुमा नै मानिसको इज्जत र इमान भर पर्छ। राजनीतिक नेताको त झन् कुरै भएन।
प्रचण्ड प्रधानमन्त्री भए र लगत्तै ओलम्पिक क्रीडाको रमिता हेर्न चीन गए। संयोग त्यस्तै पर्यो गए। नेपालको निहुरमुन्टी कूटनीतिको सनातनी रीतमा क्रमभङ्ग भएजस्तो देखियो। त्यसो त प्रचण्डले अलिकता इच्छाशक्ति प्रदर्शन गरेजस्तो पनि देखियो। यहाँसम्म कुरो ठीकै थियो। नेपालको आन्तरिक मामिलामा स्वतन्त्र निर्णय गर्ने हक नपालकै हो। यो सम्झेर नेपालमुखी नेपालीका शिर अलिकता उठे। यहाँसम्म पनि कुरा ठीकै भयो। यसबीच मुखको एक कुनामा देशभक्ति र अर्को कुनामा भारतभक्तिको भजन झुन्ड्याएर हिँड्नेले कोकोहोलो मच्चाए। तिनका अनुहारको पाखण्डी आवरण च्यातचुत भयो। यहाँसम्म पनि कुरो ठीकै भएको थियो। तर फर्केर एयरपोर्ट आइपुग्दा प्रचण्डको धनु लुलिएको आभाष भयो। र गलिततुल्य स्वरमा तिनले भने- मेरो पहिलो औपचारिक भ्रमण भारतमै हुनेछ। सनातनी मुद्रामा लत्रिएर तिनले बित्थामा यसरी तित्रे मुख किन खोल्नु पर्दो हो चुपो लागे के नै पो बिग्रन्थ्यो र ?
माओवादी प्रयोगवादी हो। नवीन प्रयोग माओवादीको नित्य रुचिको विषय हो। तर माओवादीको प्रयोगमा प्रायः ढङ्ग र दूरदर्शिताको दरिद्रता दृष्टिगोचर हुन्छ। पात्रलाई प्रयोग गर्नुलाई भद्दा कम्युनिस्ट भाषामा ‘युज गर्नु’ भनिन्छ। प्रचण्डगणले हार सिरियलको आभूषण पहिरिएका माधवकुमार नेपाललाई ‘युज’ गर्ने कार्यनीतिको तर्जुमा गर्यो। र ती दुःखीलाई संविधान समितिका नायक बनायो। लेख्नु छ सङ्घीय गणतन्त्र नेपालको चुनाव गराउने संविधान मूल लेखक बनाइयो चुनावमा चित्खाएको पात्रलाई। प्रधानमन्त्रीको कुर्सीरुपी हरित तृण देखाएर जब लोभ्याइयो माधवबाबु प्रचण्डको काँधबाट फुत्त उफ्रिएर बाइस दलका काँधमा सरे। आफ्नो अतृप्त कुर्सीलिप्सा तृप्त हुँदा यता माधवले निजी बाजी जिते। आफूमा दूरदर्शिताको दुर्भीक्ष भइदिँदा उता प्रचण्डले राजनीतिको बाजी हारे। तैपनि ‘भगोडा’ माधवबाबुलाई ‘हरुवा’ भन्नु धोखाको झापटले रन्थनिएका प्रचण्डको पिर्यो थेगोजस्तै भयो। आफूले शिरमाथि बोक्दा माधव ‘हरुवा’ ठहरिएनन्। झन् ठूलो भाग खान जब भागे तब ती ‘हरुवा’ ठहरिए। हरुवा माधवलाई ‘हरुवा’ भन्ने नैतिक अधिकारबाट आफू च्यूत भएको प्रचण्डलाई हेक्कै रहेन। मुखमा तित्राले बास गरेको हुँदो हो। त्यो बहोसी बोल्यो र त्यसले बितायो।
प्रचण्डले प्रधानमन्त्री पदको शपथ खाँदाको उत्सवी शीतल निवास सम्झन्छु। त्यो उत्सवमा महारथी रुक्माङ्गद कटवालले ढिलो मुख देखाए र छिटो कुलेलम ठोके। तिनले नवनियुक्त प्रधानमन्त्रीसँग न हस्त मिलन गरे न उनलाई सलामी टक्रयाए। तिनको त्यो धृष्टता र त्यो दम्भ गणतन्त्रको प्रथम प्रधानमन्त्रीको घोर मानमर्दन थियो। एउटा सिपाहीले लोकसम्मतिलाई हाक्काहाक्की कुल्चिने अपराध गर्यो। वास्तवमा कटवाल काजीलाई बर्खास्त गर्ने उपयुक्त क्षण त्यही थियो। कारण पर्याप्त थियो। आखिर प्रचण्डसँग के थिएन उनीसँग वैधताको शक्ति थिएन कि राजनीतिको शक्ति थिएन कि नैतिकताको शक्ति थिएन कि उनको वरिपरि परिवर्तनकामी व्यापक जनसमर्थनको अदम्य लहर थिएन कि कटवालको त्यो दिव्य क्षणको बर्खास्ती ‘तैँ चुप मै चुप’ भएर सदर हुन्थ्यो। तर त्यो क्षण गुम्यो। र सुरु भयो प्रचण्ड-कटवाल जुहारी।
यो जुहारी कटवाललाई खुदो भयो र प्रचण्डलाई भयो झिँगे बारुलो। सामान्य सिपाहीसँग दुनियाँले सुन्ने गरी जुहारी खेल्नु प्रधानमन्त्रीको अख्तियार दायित्व र मर्यादा सुहाउँदो कुरै थिएन। त्यो जुहारी कटवाललाई ‘के खोज्छस् अन्तरे गाँड कोराकोर’ भनेजस्तो भयो। कटवाल एक सामान्य महारथी थिएनन्। तिनी सिंहासनच्यूत भएको दरबारका प्रियतम पोष्यपुत्र थिए। तिनी कुलीनतन्त्रका चतुर प्रतिनिधि थिए। तिनी नवकुलीतन्त्रका गुमस्ताका आदर्श नायक र आशाका केन्द्र पनि थिए। त्यसैले त तिनी शाही निरङ्कुशतन्त्रका बौद्धिक प्रतिरक्षक अजय पी.नाथ पनि थिए। प्रचण्डगणलाई सायद यी सब कुराको हेक्का रहेन। कटवालसँगको असमान र अशोभनीय जुहारीमा ती यति साह्रो तल्लीन भए मानौँ यी काजीसाप् समानान्तर सत्ताका कार्यकारी प्रमुख हुन्। आखिर समय घर्कियो। जुहारीमा कुलीनतन्त्रका जोदाहाहरु कटवालका वरिपरि झुरुम्म भए। र तर्कले थेग्न नसक्ने कुसमयमा कटवाल बर्खास्त गरिए। अनि भयो के छदम भेषमा करिबन नवनरेशको औतारमा राष्ट्रपति रामवरण यादवको उदय भयो। राष्ट्रपतिका कृपाले कटवाल पदमा कायम रहे जुहारी कुलीनतन्त्रले जित्यो र प्रचण्डगणले हार्यो। बालुवाटार छोटी दरबारबाट प्रचण्ड बाहिरिए र तिनका ‘हरुवा’ माधव नेपाल भित्रिए। केही दिनअघि प्रचण्डले लण्डनमा सत्ताबाट बहिर्गमनको अन्तर्कथा भद्दा भाषामा सुनाएछन्। भनेछन्- भयङ्कर रक्तपातलाई टार्न मैले एक छिमल घुँडा टेकेको हुँ। पर्दापछाडि को थियो त्यो रक्तपातको व्यूहरचनाकार जङ्गी अड्डाबाट बडो मिहेनतसाथ प्रायोजन गरी आपुनो आज्ञाकारी अखबारमा बडो महत्वका साथ छपाइएको ‘भयङ्कर रक्तपात’को त्यो समाचार सत्य थियो कि त्यो माओवादीलाई तर्साउने हाउगुजीमात्र थियो प्रचण्डको बहिर्गमनको अभिप्राय वास्तविक षड्यन्त्रलाई टार्नु थियो कि बतासे हल्लासामु आत्मसर्पण गर्नु थियो। तथ्य जेसुकै होस् प्रचण्डको कथनको प्रकृतिमा उनको राजनीतिक कौशल होइन उही तित्रे हुस्सुपना प्रतिबिम्बित भएको देखियो।
अहिले माओवादी जनविद्रोहको हुङ्कारको यत्रतत्र चर्चा छ। जनविद्रोह भनी गर्न खोजिएको केदेखि केसम्म हो त्यो कतै प्रस्ट छैन। तर अविश्वास र द्वन्द्वको चक्रवात्मा रुमलिएको दिग्भ्रमित राजनीति भने जनविद्रोहुको हाउगुजीले रन्थनिएको छ। जनविद्रोह गर्ने हुती हुनेले गर्छु भन्दै डङ्का पिट्दैन गरेर देखाउँछ। हुती नहुनेले गर्छु भन्दै डङ्का पिट्छ तर केही लछारपाटो लाउँदैन। तैपनि निहुँ खोज्नेले गतिलै निहुँ पाएका छन्। माओवादीको यो अमूर्त हुङ्कार ऊसँग पानी बाराबारको नाता कायमै राखेर द्वन्द्वका जरामा मलजल हाल्न रहर गर्नेका लागि काइदाको अश्त्र बनेको छ। के यो अपरिभाषित हुङ्कारको प्रयोजन यही हो नरम र शिष्ट वचनमा अर्थपूर्ण कुरा बोलेर राजनीतिक जटिलताका गाँठा फुकाउँदै संविधान लेखनमा हात बढाउनुपर्ने बेलामा यो कर्कश र सन्त्रासमय गर्जन किन गरिएको होला जो घेरिने घचेटिने लतारिने भित्तामा चेप्ट्याइने र ताछिने दुरावस्थामा छ उसको यो गर्जन पनि उही तित्रे हुस्सुपनाको कार्बन कपीजस्तो प्रतीत हुन्छ।
जसको राजनीतिक यात्रा विनाश र विखण्डनको गर्तमा पुगेर खलपात्रमा टुङ्गिनु हो उसले जुन बेला जे बोले पनि हुन्छ। तर जसलाई संविधान लेखनको दुरुह कार्य पूरा गरी नायकको उचाइमा उठ्नु छ उसलाई तित्राको अन्धअनुयायी बन्न किमार्थ सुहाउँदैन।
Leave a Reply