स्रोत: नयाँ पत्रिका
मध्य तथा सुदूरपश्चिमका जाजरकोट, दैलेख, रुकुम र डडेलधुरामा फैलिएको हैजाको महामारी र मृत्युको ताण्डवनृत्य हेर्दा अब त्यहाँका मानिस दिनदिनै मरेकामा भन्दा बाँचिरहेकामा आश्चर्य मान्नुपर्ने अवस्था आएको छ । हैजाको महामारीका बीचमा त्यहाँका मानिसहरू कसरी बाँचिरहेका होलान् ? खाद्यान्न, औषधी, उपचार, स्वास्थ्यकर्मी र राज्यको खडेरीका बीचमा कसरी जीवन धानिरहेका होलान् ? बाँचिरहेका मानिसको जिजीविषा देखेर प्रश्न उठन थालेको छ: मध्य तथा सुदूरपश्चिमका जनताको जीवन आफैँ विश्वका लागि आठौँ आश्चर्य त भएन ?
जब कसैको जीवन आफैँ आश्चर्यको विषय हुन्छ तब त्यसले धेरै प्रश्न उठाउन थाल्छ । औषधीको अभाव, उपचारको कमी, स्वास्थ्यकर्मीका दुःख र पलायनका बारेमा थुप्रै प्रश्न उठिसकेका छन् । ती प्रश्न अनुत्तरित रहेकै बेला त्यहाँ राज्यको उपस्थिति र अस्तित्वमाथि समेत सवाल उठिरहेकै छ । राज्य भने आफ्ना गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्दै प्रमाणित गर्दै छ: यो राज्य अझै पनि मध्य तथा सुदूरपश्चिमको भएको छैन, गरिब जनताको भएको छैन र स्वास्थ्य, खाद्यान्न र रोजगारीको अधिकार ग्यारेन्टी गर्ने कल्याणकारी राज्य भएकै छैन ।
मध्य तथा सुदूरपश्चिमका जनताका लागि राज्यहीनताकै बीच हैजाको महामारीले ‘राज्यभन्दा माथिको विश्व सरकार’माथि पनि परोक्ष रूपमा प्रश्न उठाएको छ: कुहिएका चामल र दालको डल्ला हेर्नोस्, मान्छे बाँचून् कसरी ? संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले बाँडेको ढुसी परेको चामल र दाल देखेपछि हैजाको महामारीले पनि छक्क पर्दै सोधेको छ, ‘यस्ता चामल र दाल खाएपछि मान्छे बिचरा बचे होलान् कसरी ?’
खाद्यान्न अभावका कारण हुने आकस्मिक मृत्यु घटाउनु नै जुन ‘विश्व सरकार’ को घोषित उद्देश्य हो, त्यहीअन्तर्गतको संस्थाले वितरण गरेको खाद्यान्न नै मृत्युको कारण हुनु अब आश्चर्यको विषय भएको छ । जीवन संकटमा परेका मानिसको जीवनस्तर बढाउन र पोषणस्तर बढाउनु नै जुन विश्व संस्थाको रणनीति हो, त्यही संस्थाले बाँडेको खाद्यान्नका कारण जीवन संकटग्रस्त भएपछि विश्व खाद्य कार्यक्रमको साख पनि प्रश्नको घेरामा परेको छ ।
‘कामका लागि खाद्यान्न’मार्फत गरिब जनता र दुर्गम क्षेत्रका समुदायलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित क्रियाशील रहेको संस्था स्वयंले वितरण गरेको खाद्यान्नका कारण समुदायका समुदाय नै सखाप हुन लागेकाले अब उसले आफूभित्र मौलाएको बेथिती र भ्रष्ट आचरणमाथि छानबिन गर्नु जरुरी भएको छ । विश्व खाद्य कार्यक्रमद्वारा ँकामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत वितरित खाद्यान्न एकातिर बजारमा खुलेआम बिक्री हुने, अर्कातिर ढुसी परेको खाद्यान्न गरिब जनतालाई उपभोग गर्न दिइने तथ्य सार्वजनिक भइसकेको स्थितिमा यस संस्थाले आन्तरिक छानबिन गरेर दोषीमाथि कारबाही गर्न सकेन भने आमजनताले भन्नेछन् ः विश्व खाद्य कार्यक्रमको औचित्य के ?
Leave a Reply