स्रोत: कान्तिपुर
-अब्दुल्लाह मियाँ
काठमाडौं। जीवविज्ञान पढाइ हुने कलेजहरूमा अभ्यासका लागि भ्यागुताको माग बढ्दो छ तर त्यसको पूर्ति कलेजहरूले भारतबाट भ्यागुता ल्याएर गरिरहेका छन् । तैपनि चाहेजति उपलब्ध हुन सकेको छैन ।
यो समस्यालाई अवसरका रूपमा लिन भ्यागुतापालन अभियानमा जुटेका छन् लक्ष्मीप्रसाद मानन्धर । जो साढे तीन दशक वन्यजन्तु संरक्षणमै बिताएर यसै साता सरकारी सेवाबाट निवृत्त भएका हुन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहसचिवबाट निवृत्त उनी जागिरपछिको जीवन पनि जीवजन्तु संरक्षणमै बिताउने योजनासाथ व्यावसायिक भ्यागुतापालनमा जुटेका हुन् । ‘छिट्टै भ्यागुताको व्यावसायिक पालन सुरु गर्दै छु,’ मानन्धरले भने, ‘अध्ययन पूरा भइसक्यो ।’
भ्यागुता पाल्नका लागि ललितपुरको टीकाभैरव गाविस रोजिएको छ र त्यहाँ दुईवटा पोखरी बनाइँदै छन् । प्रयोगात्मक कक्षाका लागि भ्यागुता भारतबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्य रहेको उनले बताए । राजधानीमा तराईका मोरङ, झापाबाट पनि भ्यागुता भित्रिन्छन् ।
भ्यागुता उभयचर प्राणीमा पर्ने र यसको शरीरमा सबै अंग हुने भएकाले प्रयोगात्मक कक्षाका लागि जीवविज्ञानमा भ्यागुता उपयोगी मानिएको हो । भ्यागुताका भुरा कञ्चनपुर, धनगढी लगायतका स्थानबाट संकलन गरिने छ ।
‘राना तिग्रिना’ नामको भ्यागुतापालन गर्ने उनले बताए ।
त्रिवि जीवविज्ञानका सहप्राध्यापक एवं माइलस्टोन कलेजका पि्रन्सिपल मुकेशकुमार चालिसेका अनुसार भारतबाट ल्याइने मृत भ्यागुता प्रतिगोटा २० देखि ५० रुपैयाँसम्म पर्छ ।
Leave a Reply