स्रोत: नागरिक
विश्वकै धनी मुलुकहरु मध्येमा पर्ने अष्ट्रेलिया । त्यहाँका सर्वाधिक धनीमध्येका एकजना चाहिँ नेपाली छन् । १९ वर्षअघि पढ्नका निम्ति त्यता गएका शेष घले हालैको सर्भेमा अष्ट्रेलियन धनीहरुको सूचीमा देखिएका हुन् ।
अष्ट्रेलियाको बि आर डब्ल्यू म्यागजिनले प्रकाशित गरेको मुलुककै दुई सय जना सर्वाधिक धनीहरुको सूचीमा घले १ सय ६४ औं स्थानमा परेका छन् । उनी उक्त मुलुकको दुई सहरमा विस्तार भएको एक कलेजका साचालक हुन् भने त्यहाँका विभिन्न कम्पनीहरुमा उनको सेयर छ । म्यागजिनको पछिल्लो संस्करणले प्रस्तुत गरेको जानकारीमा उनको सम्पत्ति २० करोड ८० लाख डलर भएको उल्लेख गरेको छ ।
मेलबर्नमा बसोबास गर्दै आएका शेष त्यहाँस्थित ‘मेलबर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी’ का साचालक हुन् । त्यहाँ दुई हजार विद्यार्थी अध्ययनरत् छन् । त्यसै कलेजको सिड्नीस्थित अर्को शाखामा एक हजार विद्यार्थी पढ्छन् । विभिन्न वेब पोर्टलले दिएको जानकारी अनुसार उनको कलेजको शाखा निकट भविष्यमै अष्ट्रेलियाका अर्को महत्वपूर्ण सहरहरु पर्थ र बि्रस्बेनमा समेत खुल्ने क्रममा छ ।
उनले कलेजका निम्ति मेलबर्नमा आफ्नै घर किनेका छन् । विलियम स्ट्रीटस्थित माज्दा साइटमा रहेको उक्त भवनमा तीन हजार विद्यार्थी पढ्न सक्ने र पाँच सय विद्यार्थीका निम्ति छात्रवासको समेत सुविधा छ ।
१९ वर्षअघि एमबिए पढ्नका निम्ति अष्ट्रेलिया गएका घलेको मूलघर लमजुङ हो । उनी त्यतिबेला श्रीमति जमुना गुरुङका साथ त्यसतर्फ गएका थिए । गएको छ वर्षमै उनले मेलबर्नमा कलेज स्थापना गरिसकेका थिए ।
Leave a Reply