स्रोत: नयाँ पत्रिका (संपादकीय)
नेपाल भ्रमणका क्रममा अघिल्लो दिनसम्म ‘सीमासम्बन्धी समस्याको केन्द्रीय तहबाट र सीमाक्षेत्रका ज्यादतीबारे सुरक्षाकर्मीका तर्फबाट छानबिन गर्ने’ आश्वासन दिएका भारतीय विदेशसचिव शिवशंकर मेननले भोलिपल्ट भारतीय दूतावासमा भएको पत्रकार–सम्मेलनमा भने भारतबाट नेपाली सीमाको अतिक्रमण अफवाह मात्र भएको दाबी गरे। संसदीय समितिले स्थलगत अध्ययनपछि सीमा मिचिएको र सीमाक्षेत्रका नेपालीमाथि भारतीय सीमा सुरक्षाबलबाट ज्यादती भएको प्रतिवेदन नै बुझाइसकेको अवस्थामा भारतीय विदेशसचिवको यस्तो ‘फैसला’ले अतिक्रमण र ज्यादती दुवैलाई भारतीय सरकारका तर्फबाट अनुमोदन गरेको छ। मेननका अभिव्यक्तिलाई नै भारतको आधिकारिक धारणा मान्ने हो भने सीमाविवादबारे भारत छलफल गर्नसमेत तयार नभएको निष्कर्षमा पुग्नुपर्ने हुन्छ।
मेननको अभिव्यक्ति धृष्टता हो भने यसबारे नेपाल सरकारको मौनता लज्जास्पद कायरता हो। राष्ट्रियताका मामिलामा दलहरूले देखाउँदै आएको दोहोरो मापदण्ड, सत्तामा छँदासम्म आशीर्वाद थाप्ने र बाहिरिएपछि अचानक देशभक्त बन्ने प्रवृत्ति अनि सिंहदरबार पस्ने सबै ढोका दिल्लीको आशीर्वादविना खुल्दैनन् भन्ने हीन मनोवृत्तिले पनि भारतीय राजनीतिज्ञ र प्रशासनयन्त्रलाई नेपालप्रति अपमानपूर्ण र संवेदनहीन प्रभुत्ववादी व्यवहारका लागि प्रेरित गरेको छ। अहिले पनि सरकारका तर्फबाट मेननका अभिव्यक्तिविरुद्ध कुनै प्रतिक्रिया आएको छैन, न संविधानसभाभित्र, न कुनै दलबाट नै त्यसको विरोधमा आवाज सुनिएको छ।
यस देशका नेताहरूका याचक र धनुष्टंकारकारी मुद्रा हेर्दा मेननलाई यस्तो लाग्नु स्वाभाविक हो, नेपाल आफूप्रतिका सबै विश्वास हराएको, पाइलापाइलामा दिल्लीको दिग्दर्शन पर्खिरहेको लाचार, कुण्ठित र स्वत्वहीन देश हो। नेपाली विदेशसचिव ताजमहल हेर्न जाँदा पनि टिकट काटेर जान्छ, लालकिलाको प्रवेशद्वारमा उसको हैसियत कुनै पर्यटकको भन्दा बढी हुँदैन। तर, भारतका विदेशसचिव काठमाडौंका लागि इन्दिरा गान्धी विमानस्थलमा प्रवेश गर्दा–नगर्दै नेपालका मुख्य समाचार भइसकेका हुन्छन्। तर, सत्ताको केन्द्र सम्झौतापरस्त हुँदैमा नेपाल राष्ट्रकै आत्मा मरिसक्यो भन्ने निष्कर्ष निकाल्नु दिल्लीकै लागि आत्मघाती हुनेछ। सिंहदरबारमा दिल्लीको रिमोट चल्छ होला, तर पूरै नेपाल साउथ ब्लकको रिमोटले नचाउन मिल्ने अझै भइसकेको छैन।
मेननलाई सोध्न सकिन्छ, के पशुपतिनगरमा हराएका जंगे पिलरहरू अफवाह हुन्? दशकौँदेखि भारतले कब्जा जमाएको सुस्ताको भूमि अफवाह हो? नेपाली भूमि कालापानीमा परेड खेलिरहेका भारतीय सैनिकका बुट अफवाह हुन्? कि भारतका लागि नेपाल भन्ने देश नै अफवाह हो? वास्तवमा नेपाली सीमासँग जोडिएका समस्या भारतीय परराष्ट्र नीतिको प्राथमिकतामा कहिल्यै परेनन्। अहिले पनि मेनन सुपुर्दगी सन्धिका लागि दबाब दिन र पूर्णता लिन नसकेको मन्त्रिपरिषद्का लागि भारतका तर्फबाट लबिङ गर्न मात्र आएका हुन्। उनको प्रभुत्ववादी फैसलाका पछाडि हाम्रै मनोवृत्ति पनि जिम्मेवार छ। हाम्रो राष्ट्रियताबोध सबैभन्दा कंगाल र सबैभन्दा कुण्ठित छ। नेपालीको राष्ट्रप्रेम सीमा मिचिँदा जाग्दैन, न भारतीय सीमा सुरक्षाबलका अत्याचारले यसको स्वत्व जगाउँछ। यसका लागि त कुनै अनील कपुरको ‘घरवाली बाहरवाली’ सिनेमा बन्नुपर्छ वा कुनै ह्तिक रोशनले ‘नेपाली मन पर्दैन’ भनिदिनुपर्छ। यस्तो सस्तो राष्ट्रवादले नेपाललाई न सीमाको रक्षाका लागि समर्थ बनाउँछ, न राष्ट्रियताको जगेर्ना गर्न। अहिले पनि परराष्ट्रमन्त्रीले हता–हतार सीमा अतिक्रमण र विस्थापनको मुद्दामा भारतको बचाउ गरेर सरकारको धारणा ‘प्रस्ट’ पारिसकेकी छिन्।
Leave a Reply