वि. सं. २०६६ साल जेठ २२ गतेको निर्मम अपहरणपछि पाशविक तवरले हत्या गरिएकी जुबिलियन्ट कलेज, कालिमाटी, काठमाडौंकी बहिनी ‘ख्याति श्रेष्ठ’ प्रति समर्पित (२३ जुन, २००९ मा “नेपालीपोष्ट डट कम” मा प्रकाशित) सिर्जना।
सलाम
अस्ति, हिंजो र आज
तिम्रो र हाम्रो आफ्नै गाउँमा
संवेदना नासिएको ठाउँमा
मानवता मासिएको घाऊमा
अकल्पनीय अपशकुन्
सल्किएको यो क्षण
सलाम, ख्याति तिमीलाई।
**
अस्ति, हिंजो र आज
तिम्रो र हाम्रो आफ्नै गाउँमा
अनुशासन बौलाएको ठाउँमा
मनपरी मौलाएको ठाउँमा
विधाताले
विकल्प नभेटेको यो क्षण
सलाम, ख्याति तिमीलाई।
**
अस्ति, हिंजो र आज
तिम्रो र हाम्रो आफ्नै गाउँमा
शिकारीहरु सप्रिएका ठाउँमा
नियतिको नशा
गर्जिएको यो क्षण
सलाम, ख्याति तिमीलाई।
**
अस्ति, हिंजो र आज
तिम्रो र हाम्रो आफ्नै गाउँमा
निर्धाहरु मिचिएका ठाउँमा
स्वरहरु थिचिएका ठाउँमा
घोषित परीबन्द
पुरस्कृत भएको यो क्षण
सलाम, ख्याति तिमीलाई
**
मैना, अनिषा र आशिष
दिनदहाडै सिध्याइएका ठाउँमा
आलै, अझै चहराइरहेको घाऊमा
तिम्रो र हाम्रो आफ्नै गाउँमा
दण्डहीनता
डुक्रिएको यो क्षण
सलाम, ख्याति तिमीलाई।
**
अस्ति, हिंजो र आज
तिम्रो र हाम्रो आफ्नै गाउँमा
जिजीविषाहरु दबाइराख्ने नाउँमा
षोडशी आशाहरु निमोठिएका ठाउँमा
पाईलट बन्ने तिम्रो वाचा
अकस्मात अधुरो बनेको यो क्षण
सलाम, ख्याति तिमीलाई।
**
अस्ति, हिंजो र आज
तिम्रो र हाम्रो आफ्नै गाउँमा
अघोषित बादशाहहरुको पाऊमा
आवाजहरु निरन्तर दबाईएका ठाउँमा
अत्याचारको पराकाष्ठा
पुनरावृत्ति भएको यो क्षण
सलाम, ख्याति तिमीलाई।
**
भोलि, पर्सी र झन्-पर्सी
बैशाखी फ्याँकेर मेरो देशमा
लँगडो कानून, तङ्ग्रिएछ भने
न्यायको नगरी
जन्मिएको त्यो क्षण
स्वत: श्रध्दाको
सलाम, ख्याति तिमीलाई।
**
भोलि, पर्सी र काने-पर्सी
मुठ्ठी कसेर तिम्रो नाउँमा
निर्धक्क, छाती खोलेर हाम्रो गाउँमा
त्यो दिन आएछ भने
तिम्रो अन्त्यको
साँवा-ब्याज चुक्ता गरेको त्यो क्षण
संझेर विजयोत्सव
टक्रयाउँला
सलाम, ख्याति तिमीलाई।
** **
[तस्विर: माइसंसार डट कम]
Bhim jee ekdam marmik kabita………
Thanks, dai 🙂
thank you bhima ji. your poem is very good. keep it up.
Thanks, Krishna jee 🙂
dherai marmik kabita lekhnu bhayachha dai
k garnu nepal ko condition ahile astai chha, najuk