स्रोत: नयाँ पत्रिका
-भोला पासवान
सप्तरीस्थित नेपाल-भारत सीमा क्षेत्रबाट एक सय सातवटा सीमास्तम्भ हराएका छन् । सो क्षेत्रमा रहेका २८ वटा जंगेपिलर (ठूला स्तम्भ) मध्ये नौवटा र तीन सय ५५ साना स्तम्भमध्ये ९९ वटा गायब भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
भारतसँग सीमा जोडिएको गोबरगाढा गाविसमा रहेका तीनवटा ठूला र एक सय ६३ वटा साना सीमास्तम्भमध्ये ३० वटा साना स्तम्भ हराएको प्रशासनले बताएको छ । पूर्वमा कोसीदेखि पश्चिममा बलान नदीसम्मको ७८ किलोमिटरको दूरीमा एक सय सातवटा सीमास्तम्भ हराएका छन् । लालापट्टी गाविसमा मात्रै २२६ नम्बरको ठूलो सीमास्तम्भ र तीनवटा सानो स्तम्भ हराइरहेको जिप्रका सप्तरीले जनाएको छ ।
हराइरहेका सीमास्तम्भको खोजी गर्न आफूले पहल गर्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी रामविलास रायले बताए । सप्तरी प्रशासन तथा सञ्चारकर्मीको टोलीले सीमा क्षेत्रको स्थलगत निरीक्षणका क्रममा ती सीमास्तम्भ हराएको पाइएको हो ।
दसगजा क्षेत्रमा अधिकांश भारतीय तथा केही नेपालीले घर बनाई बसोवास गर्नुका साथै वर्षौंदेखि खेती गर्दै आएका छन् । दसगजालाई मिचैर भारतीय पक्षले कच्ची ग्रामीण सडकसमेत निर्माण गरेको स्थानीयवासीले बताएका छन् । सडक निर्माणका लागि सीमा क्षेत्रको माटो काटिएकाले सो क्षेत्रमा भेल बगिरहने भएकाले सीमास्तम्भ हराएको हुन सक्ने सप्तरी प्रशासनको भनाइ छ ।
निरीक्षणका क्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी रायले भने, ‘दसगजा क्षेत्र खाली गर्नुपर्छ, खेती गर्न मिल्दैन ।’ सो ठाउँमा बनाइएका घरहरूसमेत हटाउनुपर्ने उनले बताए । दसगजा खाली गर्न दल तथा अन्य सरोकारवालाबीच यसै साता छलफल गरिने उनले जानकारी दिए ।
प्रजिअ रायको नेतृत्वमा गएको निरीक्षण टोलीमा राजविराजस्थित नेपाली सेनाको श्रीमेहर गणका गणपति पुरुषोत्तम विक्रम केसी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय राजविराजका सशस्त्र प्रहरी उपरीक्षक अजयकुमार सिंह, प्रहरी नायव उपरीक्षक सुदनसिंह बस्नेत, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राजेश झा, वनेपाल पत्रकार महासंघ सप्तरीका सचिव धीरेन्द्रप्रसाद साह, महासंघ सप्तरीका सदस्य रामनारायण विश्वास, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशीनाथ यादवलगायत थिए ।
Leave a Reply