स्रोत: कान्तिपुर
-कृष्णप्रसाद गौतम
रुकुम। विद्यार्थी र शिक्षकहरू यार्चागुम्बा टिप्न गएपछि जिल्लाका पूर्वी गाविसका सबै विद्यालय बन्द भएका छन् । यार्चागुम्बाको सिजन सुरु भएपछि पाँच दर्जनभन्दा बढी विद्यालय दुई महिनादेखि बन्द भएका हुन् ।
‘विद्यार्थीहरू यार्चा टिप्न गएका छन्,’ हुकामका वीरमान विकले भने, ‘स्कुल बन्द भएका छन् ।’ उनका अनुसार दुई महिनादेखि गाउँको विद्यालय बन्द भएको हो ।
मैकोटस्थित पुथा हिमालय माध्यमिक विद्यालय पनि डेढ महिनादेखि बन्द छ । प्रधानाध्यापक टोपबहादुर हमालका अनुसार विद्यार्थी यार्चा टिप्न जान थालेपछि विद्यालय बन्द गर्नुपरेको हो । ‘विद्यार्थी यार्चा टिप्न पुपालतिर गए । कसलाई पढाउनु ?’ हमालले भने, ‘दुई महिनाका लागि स्कुल बन्द गरेका छौँ ।’ उनका अनुसार उक्त विद्यालयका तीनसयभन्दा बढी विद्यार्थी यार्चा टिप्न गएका छन् ।
यसपाली एउटा यार्चाको सत्तरीदेखि एक सय रुपैयाँसम्ममा बिक्री भएको स्थानीय बताउँछन् । जाङस्थित माध्यमिक विद्यालय, खारावाङ पनि एक महिनादेखि बन्द छ । स्थानीय टोपबहादुर रोकाका अनुसार विद्यार्थी र शिक्षकहरू यार्चा टिप्न गएपछि विद्यालयमा पढाइ अवरुद्ध भएको हो ।
पूर्वी र उत्तरी क्षेत्रका गाविसमा उब्जनी नहुने भएकाले स्थानीय बासिन्दा यार्चागुम्बा टिपेर आफ्नो गुजारा चलाउँछन् । ‘हाम्रो गुजारा यार्चा टिपेर नै हुने गर्छ,’ हुकाम ३ का थलवीर विक भन्छन्, ‘बच्चाबच्चीसहित परिवारै बुकीतिर यार्चा टिप्न जाने गर्छौं ।’
जिल्लाको मैकोटको बुकी पाटन, खदिस्याला र डोल्पाको सिमानामा यार्चागुम्बु पाइन्छ । यहाँका बासिन्दा यार्चा टिप्न डोल्पासमेत पुग्ने गर्छन् ।
शिक्षा कार्यालयका अनुसार जिल्लाका पूर्वी गाविसहरू मैकोट, हुकाम र जाङका सबै विद्यालय, तकसेरा, कोल र राङ्सी गाविसका आधाजसो विद्यालय बन्द छन् । पूर्वी गाविसका पाँच दर्जनभन्दा बढी विद्यालय बन्द भएको कार्यालयको रेकर्डमा छ ।
Leave a Reply