स्रोत: कान्तिपुर
हेटौंडा । चेपाङहरुले खाने गरेको गिठ्ठा, भ्याकुर र भार्लाङबाट बनेको चिप्स आलुको भन्दा गुणस्तरयुक्त भएको खाद्य परीक्षणबाट पत्ता लागेको छ ।
ती कन्दमूलसम्बन्धी विशेषज्ञ डा. मेघराज भण्डारीका अनुसार ललितपुर भ्याली कलेजको खाद्यशाला परीक्षणबाट आलुको भन्दा स्वास्थ्यबर्धक भएको पत्ता लागेको हो । उक्त कलेजका विद्यार्थी गौरव खतिवडाको सक्रियतामा खाद्य परीक्षण गरिएको थियो ।
तीन महिनाको ल्याब परीक्षणपछि चिप्स प्रोटिनयुक्त फेला परेको डा. भण्डारीले बताए । विभिन्न खाद्य प्रशोधन विधि अपनाएर कन्दमूलमा भएको तीतोपन हटाएको विज्ञले बताए । सीसीडीएनको आर्थिक सहयोगमा बजारीकरण गर्ने उद्देश्यले गत चैतदेखि अध्ययन सुरु गरिएको थियो । काँकडा र राक्सिराङ गाविसका कन्दमूल परीक्षण गरिएको हो । यसलाई बजारीकरण गर्न मकवानपुरको मनहरीमा उद्योग स्थापना गर्नुपर्ने भण्डारीले बताए ।
ती कन्दमूल क्यान्सर, मधुमेह र मुटुरोगीका निम्ति उपयोगी भएको पत्ता लागेपछि बजारीकरण कसरी गर्ने भनेर अध्ययन सुरु गरिएको भण्डारीले बताए । कन्दमूललाई पाउरोटी, चाउचाउ र मैदामा मिसाएर उपभोग गरे अझ पौष्टिक पाइने विज्ञको भनाइ छ । यो रूखो जमिनमा फल्छ । जापानको होक्काइडो विश्वविद्यालयमा तीन वर्षअघि गरेको अनुसन्धानबाट ती कन्दमूल पोषणयुक्त भएको पत्ता लागेको थियो । अनुसन्धानबाट तिनमा ‘एन्टी अक्सिडेन्ट’ र पोलिफेनोल रसायन प्रशस्तमात्रामा रहेको पत्ता लगेको थियो । भण्डारीका अनुसार एन्टी अक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमता बढाउने, बुढौली तथा कमजोरपन रोक्ने काम गर्छ भने पोलिफेनोलले क्यान्सर, मधुमेह र मुटुसम्बन्धी रोग निको पार्न मद्दत गर्छ ।
ती कन्दमूलमा स्वास्थ्यमा नकारात्मक असर पार्ने अक्जालेट र फाइटेट नामक दुई किसिमका रसायन रहेका छन् । नकारात्मक तत्त्वलाई निषेध गर्न प्रेसरकुकरमा पकाएर खानुपर्ने अनुसन्धानबाट पत्ता लागिसकेको छ । ‘उसिनेर, पोलेर र माइक्रोओभनमा पकाए ती नकारात्मक तत्त्व नष्ट नहुने तर प्रेसरकुकरमा पकाए ८० प्रतिशत नष्ट हुने गर्छ ।’
अत्यधिक पोषक भए पनि नकारात्मक असर पार्ने रसायनका कारण चेपाङ शारीरिक रूपमा कमजोर र होचा एवं पुड्का भएको जापानको उक्त विश्वविद्यालयले गरेको अनुसन्धानबाट पत्ता लागेको हो । चेपाङले ती कन्दमूल उसिनेर खाने गर्छन् जसले अक्जालेट र फाइटेट नामक दुई किसिमका रसायनका कारण चेपाङ शारीरिकरूपमा कमजोर र पुड््का भएको उनीहरूको भनाइ छ । ती कन्दमूलमा आलु, सख्खरखण्ड र पिँडालुको तुलनामा पाँच गुणा बढी प्रोटिन पाइने विशेषज्ञले बताएका छन् ।
Leave a Reply