स्रोत: कान्तिपुर
-दुर्गालाल केसी
स्वर्गद्वारी, प्यूठान। धार्मिक एवं पर्यटकीयस्थल स्वर्गद्वारी मन्दिरमा लगातारको खडेरीका कारण खानेपानी अभाव भएको छ । यसले मन्दिरका पुजारीलाई दैनिक क्रियाकलाप सञ्चालन गर्नसमेत कठिन भएको छ ।
दैनिक २ सयभन्दा बढीको संख्यामा जाने भक्तजनलाई पानी अभावले समस्या परेको छ । ‘पानी आउन छाडेको महिनौं भइसक्यो । साँझबिहान खाना पकाउन पानी कसरी जुटाउने भन्ने चिन्ता छ,’ मन्दिरका लेखापाल वासुदेव भट्टराईले भने, ‘पानी नभएपछि भक्तजनहरूको संख्यासमेत घट्दै गएको छ ।’ चर्पीमा राख्ने पानी नभएपछि मन्दिर परिसरमा फोहोर हुन थालेको छ ।
मन्दिरमा भारतका साथै नेपालका विभिन्न स्थानबाट भक्तजनको दिनहुँ ठूलो भीड लाग्ने गर्छ । भक्तजनहरूलाई खान, बस्न क्यान्टिनको व्यवस्था छ । पानी अभाव हुँदा खाना खुवाउन समस्या परिरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पानी लिन तीन किलोमिटर टाढा कुवामा जानुपर्ने र त्यो पनि सुक्दै गएकाले समस्या भएको मन्दिरका वेद शिक्षक शालिकराम रिजालले बताए ।
मन्दिर अगाडिको ठूलो खाडलमा कहिलेकाहीँ पर्ने आकाशे पानी जम्मा गर्ने गरिएको छ । त्यही खाडलको पानीबाट भाँडा माझ्ने काम चलाइरहेको शिक्षक रिजालले बताए । मन्दिरमा नियमित बस्ने ५० भन्दा बढी ब्राह्मण, ९० जना विद्यार्थी र २० भन्दा बढी कर्मचारी छन् ।
देश-विदेशमा प्रख्यात धार्मिकस्थलमा पानी आपूर्ति गर्ने विषयमा सरकारी तहबाट पहल नहुँदा बर्सेनि यस्तै समस्या भोग्दै आएको मन्दिरले जनाएको छ । ‘हरेक वर्षर् हिउँदमा पानीको हाहाकार हुन्छ, वषर्ाको समयमा पनि शुद्ध पानी पाइँदैन । आकाशबाट आएको पानीलाई जम्मा गरेर खानुपर्छ,’ एक ब्राह्मणले भने, ‘यो समस्या कहिले टर्ला भन्ने चिन्ता छ ।’
Leave a Reply