स्रोत: नयाँ पत्रिका
इतिहासमै पहिलो पटक नेपाली नयाँ वर्षमा अमेरिकी शुभकामना
नेपाली नयाँ वर्षका अवसरमा अमेरिकी विदेशमन्त्री हिलारी रोधम क्लिन्टनले शुभकामना दिएकी छिन् । दौत्य सम्बन्ध स्थापना भएको ६३ वर्षको इतिहासमा अमेरिकी अधिकारीले नेपाली नयाँ वर्षमा शुभकामना दिएको यो पहिलोपटक हो ।
विदेशमन्त्री क्लिन्टनले मंगलबार शुभकामना वक्तव्य जारी गरी नेपालीप्रति आत्मीयता प्रकट गरेकी छिन् । उनले नेपाली वाक्यांशमै लेखेकी छिन्— ‘नयाँ वर्षको शुभकामना !‘
हिलारीले नयाँ वर्ष ०६६ मा नेपाल शान्ति र समृद्धिको बाटोमा अझ अघि बढ्ने विश्वास व्यक्त गरेकी छिन् । ‘तमाम असहमतिबीच पनि एकजुट हुने र खुसियाली मनाउने तपाईं नेपालीहरूको सहिष्णु संस्कारलाई म सलाम गर्छु,’ हिलारीले भनेकी छिन् ।
अमेरिकी विदेशमन्त्रीले नेपालीसँग साझा समस्या समाधान गर्न सहकार्यका लागि पनि प्रस्ताव गरेकी छिन् । ‘विश्व आर्थिक मन्दीको चपेटामा छ, हामी सबै मिलेर यस संकटलाई पार लगाउन सक्नेछौँ,’ उनको विश्वास छ ।
‘नयाँ वर्षका अवसरमा भावनात्मक सन्देश दिएर हिलारीले नेपालसँगको सम्बन्धलाई मधुर बनाउन खोजेकी छिन्,’ कूटनीतिक विश्लेषकहरूको टिप्पणी छ ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हीराबहादुर थापा विश्व समुदायप्रति बढी उदार र खुला हुने ओबामा प्रशासनको नीतिअनुसार नै हिलारीको सन्देश आएको बताउँछन् । ‘ओबामा सद्भाव बढाउन चाहन्छन्, त्यसको संकेतस्वरूप पहिलोपटक यस्तो सन्देश आएको छ,’ थापाले नयाँ पत्रिकासित भने ।
कूटनीतिज्ञ डा. जयराज आचार्य दक्षिण एसियामा प्रभाव बढाउन प्रयासरत अमेरिकाले त्यसमा नेपालको महत्त्व बुझेर अझ आत्मीय बन्न खोजेको ठान्छन् । ‘अमेरिकाले नेपालको महत्त्व बुझेको छ, तर प्रभाव हैकमले होइन, सद्भावले बढाउन खोजेको छ,’ उनले भने ।
‘अमेरिकासँग कटु पृष्ठभूमि बोकेको माओवादी नेतृत्वको सरकार भएका वेला आएको यस सन्देशले अमेरिका माओवादीसँग सहज बन्न खोजेको संकेत दिएको छ,’ डा. आचार्यले भने, ‘माओवादी नेतृत्वको सरकार नेपालको यथार्थ हो, यसमा अमेरिकाले सकारात्मक नहुनुपर्ने कारण पनि छैन ।‘
त्यसो त हिलारीको नेपालप्रतिको व्यक्तिगत सद्भावले पनि धेरै काम गरेको डा. आचार्यको विश्लेषण छ । सन् १९९५ मा तत्कालीन अमेरिकी प्रथम महिला हिलारी छोरी चेल्सीका साथ नेपाल आएकी थिइन् । नेपाल भ्रमण गर्ने उनी एक मात्र अमेरिकी प्रथम महिला हुन् ।
‘हिलारीबाहेक कुनै पनि अमेरिकी राष्ट्रपतिका श्रीमतीले नेपाल भ्रमण गरेका छैनन्, नेपालप्रति उनको सद्भाव यसैबाट पनि प्रस्ट हुन्छ,’ डा. आचार्यले टिप्पणी गरे, ‘हिलारीको व्यक्तिगत स्वभाव वा ओबामाको रणनीति जे कारणले भए पनि अमेरिका नेपालसँग सम्बन्ध बढाउन चाहन्छ, यो नै सकारात्मक हो ।‘
[अंग्रेजीमा पूरा सन्देश हेर्न यहाँ क्लिक गर्नुहोस्।]
Leave a Reply