स्रोत: कान्तिपुर
–कृष्ण आचार्य
गोरखा। संरक्षण अभावमा भिमसेन थापाको बगैँचा अलपत्र परेको छ । संरक्षणविहीन बगैँचामा रहेका आँपका रूख गाउँलेले दाउराको रूपमा प्रयोग गर्दै आएका छन् ।
सात सय बढी आँपको रूख रहेको बगैंचामा अहिले करिब चार सय वटामात्र बाँकी रहेको स्थानीय सामुदायिक वनका अध्यक्ष भरत श्रेष्ठले बताए । उनका अनुसार संरक्षण अभावमा बगैँचाका बर्सेनि करिब ५० रूख ढल्दै आएका छन् । ‘ पुराना रूखको हाँगा नकाट्दा हावाहुरीले ढाल्ने गरेको छ,’ उनले भने ।
फलेका आँपका दाना बिक्रीबाट आएको आम्दानी भने गाउँकै पाटनदेवी निमाविमा प्रयोग गरिँदै आइएको छ । ‘आँपको आम्दानी विद्यालयका शिक्षकलाई पारिश्रमिक दिँदै आएका छौँ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान श्रेष्ठले भने, ‘आँप बेचेर वाषिर्क ५ हजार रुपैयाँ आम्दानी हुन्छ ।‘ मलजल र काँटछाँट नै भएको छैन, स्याहार पुग्ने हो भने धेरै फल्थ्यो र आम्दानी पनि बढ्थ्यो,’ उनले भने । २०२२ सालमा बगैँचाको क्षेत्रफल १ सय ४२ रोपनी रहेकोमा अहिले ५६ रोपनीमात्र रहेको नापी विभागले जनाएको छ । बाँकी जग्गा थापाकै पुर्ख्यौली एक्स्ट्राजंग थापा, लिलाजंग थापा, टीकाबहादुर थापा, यज्ञबहादुर थापा लगायतका १२ जनाले आफ्नो नाममा दर्ता गरेका छन् ।
२०४२ सालमा पुर्ख्यौली सम्पत्ति पाउनुपर्ने भन्दै थापाहरूले आफ्नो नाममा जग्गा पास गराउन जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा सर्वोच्च अदालतले २०४५ सालमा उनीहरूको पक्षमा फैसला गरेको थियो ।
थापाहरूसँगै स्थानीय गम्भीर प्रधान र रामचन्द्र सापकोटाले बगैंचालाई सार्वजनिक सम्पत्ति बनाउनुपर्ने माग राख्दै अदालनमा मुद्दा दायर गरे पनि सर्वाेच्चले भने थापाहरूको पक्षमा फैसला गरेको थियो । आफ्नो नाममा जग्गा पास गराएका थापाहरूले बगैंचाको रेखदेख नगर्दा संरक्षणविहीन भएको गाउँलेको भनाइ छ ।
Leave a Reply