स्रोत: नयाँ पत्रिका
–ठाकुरसिंह थारू
बाँके। नेपालमा यस्ता गाउँ छन् जुन कुनै जिल्लामा पर्दैनन्। गाउँमा यस्ता बासिन्दा, छन् जसको पहिचान नै छैन । बासिन्दा आफूलाई नेपाली भन्छन्, तर राज्यले उनीहरूलाई नागरिकता, लालपुर्जा, परिचयपत्र केही पनि दिएको छैन ।
राप्ती पारीको विकट पहाडी क्षेत्रका नौवटा गाउँ भौगोलिक रूपले बाँके जिल्लामा पर्छन् । तर, ती गाउँ कुन गाविसमा पर्छन्, न जनतालाई थाहा छ न प्रशासनलाई । बासिन्दालाई नेपाली हौँ भन्ने थाहा छ, प्रशासनलाई त त्यो पनि थाहा छैन ।
बाँके, दाङसँग सिमाना जोडिएका बाँसखोला, चुनमण्डी, खैरीभट्टी, कुन्तेपानी, अम्बासा, गुर्दनगौरी, मुरकट्टा, मैरिया र बनवा गाउँका दुई सय २४ घरधुरीमा करिब एक हजार तीन सय सर्वसाधारण छन् । यताबाट दुई जिल्ला र उताबाट भारतको सिमाना जोडिएको छ ।
नेपालको प्रशासन गाउँ बल्ल पत्ता लागेको भन्दै अहिले आश्चर्यमा परेको छ । ‘कोलम्बसले अमेरिका पत्ता लगाएजस्तै भयो । आफ्नै देशमा पर्ने गाउँको बारेमा हामीलाई नै थाहा रहेनछ,’ बाँकेका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर खत्रीले भने, ‘अचम्मै भो । सरकारलाई नै थाहा थिएन ।‘
बाँसखोलाका बासिन्दा गुमानसिंह घर्ती भन्छन्, ‘हुन त हामी नेपाली हौँ, तर खासमा हामी कुन जिल्लाका बासिन्दा हौँ, थाहा छैन ।‘
नौवटै गाउँका बासिन्दाले आफ्नो परिचय खुलाउन सरकारसँग माग गरेका छन् । ‘हामी नेपाली हौँ, परिचय चाहियो,’ उनीहरूको भनाइ छ । जिल्ला र गाविसविहीन सर्वसाधारणसँग नागरिकतासमेत छैन । त्यसैले उनीहरूले जन्मदर्ता, मृत्युदर्ता गराउन मात्र होइन, कुनै पनि चुनावमा मतदान समेत गर्न पाएका छैनन् । बस्तीमा कुनै विद्यालय छैन, स्वास्थ्यचौकी पनि छैन ।
दाङ र सल्यानबाट झरेका गुरुङ तथा मगर जातिका बासिन्दा दशकौंदेखि बस्दै आएका छन् । ‘निकै पुरानो बस्ती रहेछ त्यो । भर्खरै जंगल फँडानी गरेर बसेको होइन रहेछ,’ प्रजिअ खत्रीले भने, ‘त्यहाँका बासिन्दा अहिलेसम्म राज्यको पहुँचबाट टाढा छन् । पहुँचमा ल्याउन केही दिनभित्रै निरीक्षण गर्न जाँदै छौँ ।‘
कुन्तपानी गाउँका जयवीर मगर आफूहरूले जनावरको जस्तो जीवन बिताउनुपरेकोमा गुनासो गर्छन् । ‘हामी नेपालमा छौँ । अरू प्रमाण सरकारले नै दिएको छैन,’ उनले भने ।
नौवटा गाउँमा नेपाली प्रशासन छैन, त्यसैले भारतीयहरूको चलखेल छ । ‘पारीबाट आएका तस्करले सालका रूख काटेर लैजान्छन्, सिकारीले जनावर मार्छ,’ जयवीरले भने । नेपाली सर्वसाधारण भने बनकस काटेर तथा महुवा संकलन गरी सुकाएर सीमापारिको बिफेबजारमा बिक्री गरी जीविकोपार्जन गर्दै आएका छन् ।
Leave a Reply