स्रोत: अनलाईन खबर
-श्याम श्रेष्ठ
युगान्तकारी परिवर्तनको वर्ष
हामी यतिबेला २०६५ सालको अन्तिम हप्तामा छौँ । वर्ष २०६५ धेरै हिसाबले नेपाली इतिहासमा अविस्मरणीय र ऐतिहासिक वर्ष ठहरिनेछ ।
हामीले यही साल नेपालमा ६० वर्षदेखि प्रतिक्षित सार्वभौम जनताले चुनेका मानिसहरुबाट नयाँ संविधान लेखन गर्ने काम थाल्यौँ । हामीले यही वर्ष संविधानसभाको पहिलो बैठकबाट दुई हजार वर्षभन्दा पनि पुरानो नेपालको सामन्ती राजतन्त्रलाई शान्तिपूर्वक बिदाइ गर्यौँ, र नेपालको इतिहासमा पहिलोपटक लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौँ । २४० वर्ष पुरानो केन्द्रीकृत र एकात्मक राज्यलाई अन्त्य गर्दै संघीयतालाई नयाँ संविधानको अभिन्न अङ्ग बनाउने ऐतिहासिक निर्णय पनि यही वर्ष भयो । ३५ प्रतिशत जनजाति, ३३ प्रतिशत महिला, ३२ प्रतिशत मधेसी, ८ प्रतिशत दलित, ३ प्रतिशत मुसलमान, मुसहर, चेपाङ र राउटेका प्रतिनिधि सहित नेपालको सम्पूर्ण जनसंख्याको सामाजिक बनोटको प्रतिविम्ब भएको अत्यन्त समावेशी संविधानसभा पनि यसै वर्ष अस्तित्वमा आयो । देशको राष्ट्रपति, उपराष्ट्रपति र परराष्ट्र मन्त्री जस्तो गरिमामय पदमा मधेसी समुदायको व्यक्ति चुनिने घटना पनि नेपालमा यसै वर्ष घट्यो । संविधानसभा जस्तो ऐतिहासिक निकायमा जनजातिका व्यक्ति अध्यक्ष र महिला उपाध्यक्ष हुने स्थिति पनि यसै साल बन्यो ।
आपसमा फुटेर लड्दा पनि संविधानसभाजस्तो निर्वाचित सर्वोच्च निकायको ६२ प्रतिशत हिस्सामा वामपन्थीको वर्चस्व रहने अभूतपूर्व स्थिति पनि यसै साल देख्न पाइयो । कम्युनिष्टहरुको प्रष्ट बहुमत भएको संयुक्त सरकार पनि नेपालमा पहिलो पटक यही वर्ष बन्यो । शान्तिपूर्ण मतदानबाट यति धेरै वामपन्थीहरु देशको विधान र भाग्य कोर्ने सर्वोच्च निकायमा र देशको नेतृत्व गर्ने सरकारमा आएको नेपालको यो पहिलो घटना हो ।
यी सबै कोणबाट हेर्ने हो भने २०६५ साल नेपालको इतिहासमा अविस्मरणीय वर्ष हो । विश्वको कुनै पनि मुलुकमा एकै वर्षमा यति धेरै उथलपुथलकारी परिवर्तन सितिमिति हुने गर्दैन, तर नेपालमा यो वर्ष त्यस्तो भयो । यस अर्थमा यो युगान्तकारी परिवर्तनको वर्ष हो ।
अन्धकारका संवाहकहरुको वर्ष
तर यो वर्ष केवल उज्यालो नै उज्यालोले भरिएको छ भन्ने कुरा होइन । यो उज्यालोको छेवैमा घना अन्धकारको पाटो पनि साथसाथै रहेको छ । यति सुरम्य उज्यालोलाई अन्धकारको ब्ल्याक होलले निल्न खोज्ने घटना पनि यसै वर्ष भएको छ ।
सहमतीय राजनीतिको अपार उर्जाले यस वर्ष यति उथलपुथलकारी परिवर्तन सम्भव भएको हो, जुन विगत ७० वर्षमा सम्भव भएको थिएन । तर चुनावमा आफूले सोचेको परिणाम आएन भनेर प्रतिक्रियात्मक रुपमा केही ठूला दलको पहलमा जनताको जनादेश विपरीत त्यही सहमतीय राजनीतिलाई समाप्त पार्ने कार्य यो साल प्रारम्भ भएको छ । २०६५ सालको सुरुसँगै सहमति, सहिष्णुता र समझदारीको राजनीतिलाई बाग्मतीमा बगाएर असहयोग, असहिष्णुता र अराजक राजनीतिलाई बढावा दिने कार्य सुरु भएको छ । यसले शान्तिप्रक्रिया र संविधानसभा दुबैलाई नराम्ररी प्रभावित पार्न थालेको छ । दुबै चर्को सङ्कटको घेरोमा परेका छन् । अहिलेकै असहिष्णुता, असहमति र असहयोगको प्रतिक्रियात्मक राजनीतिले निरन्तरता पाउने हो भने न त बेलैमा अग्रगामी नयाँ संविधान लेखिन सम्भव देखिन्छ, न शान्तिप्रक्रिया टुंगोमा पुग्न ।
सरकारको नेतृत्व गर्ने स्थानमा यो वर्ष नेकपा माओवादी पुगेको छ । तर सरकारको नेतृत्व गर्ने ब्यक्तिको न त प्राथमिकता के हो भन्ने कुरा सुस्पष्ट देखिन्छ, न यो सरकार मार्फत गर्न सकिने युगान्तकारी र परिवर्तनकारी काममै उसको कुनै जोड र चाख देखिएको छ । धेरै राम्रो जनसमर्थनको स्थिति, सरकार र संसद दुबैमा वामपन्थी बहुमतको स्थिति, धेरै राम्रा परिवर्तनकारी काम गर्ने सम्भावना र आफ्नै स्थितिको बाध्यताले दाताहरुको पनि सकारात्मक रुख भएको अन्तर्राष्ट्रिय परिस्थितिलाई यो सरकारले आफ्नो गन्तव्य र प्राथमिकता नै प्रष्ट नहुनाको कारणले अनाहकमा धमाधम गुमाउँदैछ । अगाडि परेका सबै काम प्राथमिक काम, अवसरको खोजमा प्रशंसाको कार्पेट बिछ्याउँदै भेट्न आएका वा पार्टीमा भित्रिएका सबै मौकावादी मान्छे आफ्ना मान्छे, र सामुन्ने उभिएको मान्छे वा भीड हेरेर मुखमा तत्काल जे बोल्न आयो त्यही बोल्न योग्य कुरा भन्ने ढंगले यो सरकारको नेतृत्व चलिरहेछ । सबै अनुकूल परिस्थितिका वावजुद यो सरकारको अधोगति र दुर्दशाको मूल कारण नै यही बनिरहेछ । अहिलेसम्म परिवर्तनको अनुभूति नै गर्न नपाएका वर्ग, समुदाय र क्षेत्रलाई परिवर्तनको अनुभूति सरकारले कहीँ कतै दिनसकेको देखिँदैन । वामपन्थीहरु जङ्गल वा सडकमा बसेर राम्रा कुरा गर्नसक्छन्, तर सरकारमा बसेर बोलेको जस्तो असल काम गर्न सक्दैनन् भन्ने नकारात्मक सन्देश प्रवाहित हुने बिन्दुमा यो सरकारको नेतृत्वले यो वर्ष देशलाई पुर्याउँदैछ । यो वर्षको सबैभन्दा अँध्यारो पक्ष नै यही हो । यो वर्ष सरकारले गरेको काम हेर्दा दश वर्ष लामो जनयुद्ध यही नेतृत्वले कसरी सफलतापूर्वक हाँक्यो होला ? भनेर प्रश्न उठ्ने खण्ड पैदा भएको छ ।
सरकारमा रहेको वाममन्थी नेतृत्वको प्रभाव यसको प्रगतिशील काम, कार्यक्रम र नीतिका रुपमा व्यवहारमा देखिएको छैन । संविधानसभामा रहेको वामपन्थी अत्यधिक बाहुल्यको स्थितिको असर नयाँ संविधान लेखनमा प्रगतिशील अन्तर्वस्तुका रुपमा देख्नपाइने छाँटकाँट अहिलेसम्म देखापरेको छैन । उनीहरुका बीच यस बारेमा छलफलसम्म पनि हुनसकिरहेको देखिँदैन । बरु यसको विपरीत, वामपन्थी दलहरु यदुवंशको शैलीमा आपसमा लाप्पा खेल्दै अरुले स्वाहा पार्न नसके पनि आफैंले आफंैलाई स्वाहा पार्ने बिन्दुमा यस वर्ष जोडले लम्किरहेको देखापरिरहेछ । सरकारमा रहेको नेतृत्वदायी दलले हत्याराको आरोप लागेको आˆनै दलको संगठित सदस्यलाई गिरˆतार गरेर न्यायको कठघरामा उभ्याउन नसक्नु लाजमर्दो नालायकीपन हो । त्यस्तै लाजलाग्दो कुरो सरकारमा रहेको निर्णायक शक्तिले संघर्षका र दबाबका अरू अनेकौँ उपाय हुँदाहुँदै संविधान लेखन नै प्रभावित हुने गरी संसदलाई निरन्तर अवरुद्ध गर्नु हो । तर दुवै घटना यस वर्ष हामीले देख्न परिरहेछ ।
यो वर्ष महँगी १३ प्रतिशतको दरले बढिरहेछ । दिनको १६ घण्टा लामो लोडसेडिङले उद्यम व्यवसाय र सामाजिक जीवनलाई विकराल र दुर्दशाग्रस्त बनाइरहेछ । सात प्रतिशतका दरले बढ्ने भनिएको आर्थिक वृद्धि यस वर्ष चार प्रतिशतमा खुम्चिने छाँटकाँट छ । यसले देशको अर्थतन्त्रमा निकै ठूलो नकारात्मक असर पार्ने निश्चित छ । एकजना तल्लो जात र वर्गकी महिलालाई स्कूलकी प्रधानाध्यापिकाले मलमूत्र कोच्याउने घटना यस वर्ष राजधानीको मुटुमा नै भएको छ । महिलामाथिको हिंसा यो वर्ष चर्को गतिमा बढेको छ र समाजमा अपराध यत्रतत्र ग्रस्त पारिरहेछ, तर राज्यको उपस्थिति कतै देखिँदैन, कोही अपराधी दण्डित हुँदैनन् । विदेशीहरुको चलखेल यो वर्ष चौपट्टै बढ्यो । परन्तु देश र जनताको ढाड भाँच्ने यी सवालमा बोल्ने र सशक्त संघर्ष गर्ने प्रतिपक्ष यो वर्ष कतै देखिएन । हाम्रो प्रतिपक्षको आवाज तब मात्र सशक्त भएको देखियो, जब उमेर पुगेका आठजना जर्नेलले कानुन र नियमबमोजिम अवकाश पाए ।
हामीले देशको राजतन्त्र त ढाल्यौँ, तर राजनीतिक दलका टाउका टाउकामा एकएक थान राजतन्त्र ढलिमली गरिरहेको यसै वर्ष पनि देखिँदैछ । मिलीजुली प्रकारको संयुक्त मन्त्रीमण्डल हुने, तर त्यसमा अधिकांश मन्त्रीको राय के छ त्यसको वास्ता र पर्वाह नहुने, एकजना सरकारप्रमुखले आफूखुशी राय राखेपछि त्यही हाबी र लागू हुने भनेको असलमा राजतन्त्र नै त हो । एकजना नेता काम गर्न बिल्कुलै अक्षम भइसके तापनि नमरुञ्जेल नेता भइरहने, अर्को कुनै सक्षम व्यक्तिले उ नमरुञ्जेल उसलाई प्रतिस्थापित नै गर्नु नहुने , गरिहाले पनि उसका छोरा वा छोरीले मात्र उत्तराधिकारीको कार्य गर्नुपर्ने भनेको सारमा राजतन्त्र नै त हो । सिंगो दलभरिका अधिकांश नेता कार्यकर्ताको राय वा विचार एउटा हुने, तर त्यसलाई एकाधजना निरंकुश नेताको राय, विचार वा हुकुमले किच्ने भनेको यथार्थमा राजतन्त्र नै त हो । दलको बैठक बसेर संसदीय दलको नेता चुन्नुनपर्ने, मै हुँ नेता भनेर एकजना अगुवाले आफैंले आफैंलाई नेता घोषित गरेपछि उही नेता ठहरिने भनेको सारमा राजतन्त्र नै त हो । यो वर्ष राजनीतिक रुपमा मात्र राजतन्त्र सिद्धियो, तर चरित्र र संस्कृतिमा त राजतन्त्र यत्रतत्र देखापरिरहेको छ । हामीलाई देशको राजतन्त्र ढाल्न त्यति गाह्रो भएन, तर पार्टीको राजतन्त्र ढाल्न महामुश्किल परिरहेछ ।
यसरी हेर्दा यो वर्ष केवल उज्याला उपलब्धिको वर्ष मात्र रहेको छैन, यो अन्धकारका संवाहकहरुको वर्ष पनि रहेको छ । हामी यतिबेला प्रबल सम्भावना र चरम सङ्कटहरुको दोबाटोमा खडा छौँ । देश अर्को वर्ष कता जाने हो त्यो नागरिकहरुको सचेत हस्तक्षेप कस्तो रहनेछ भन्ने कुराले निर्धारण गर्नेवाला छ ।
Leave a Reply